टेकनारायण भट्टरार्ई
शनिबार बेलुका पस्केको खानामा मेरो पहिलो गास पर्दैथियो। फोन बज्यो। देब्रे हातले फोन उठाएँ। मेरा मित्र शंकर भडारीले फोनमा भयानक अशुभ खबर सुनाए। मेरो पुरै जिउ काँप्यो। झ्वाट्ट थाल हुत्याएर म उठेँ। पैतलादेखि सिरसम्म सिरिङ्... झन्का उठ्यो।
सहृदयी सहकर्मी पत्रकार अनिता श्रीनेत अब यो दुनियाँमा रहिनन् भन्ने खबरले मेरो मन मस्तिस्कमा कम्पन चल्यो। म काँप्दै अविश्वाँसको भावले मित्र शंकरलाई होइन होला भन्दै हपारेँ पनि। तर मित्रले कैलाशनगरको घरमै डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा अनिता भेटिएकी बताए पछि म पुरै लत्रिएँ। म यति कम्जोर, गलित र निरुपाय यसअघि कहिल्यै महसुस गरेको थिईन। असिनापसिना हुँदै अनितालाई अन्तिम पटक देख्न हुत्तिएँ। उनको मृत शरिर पनि देखेँ। तै किन हो किन अनिता बितिन् भन्ने पत्याउन म राजि छैन। यो लेख्दै गर्दा मसंग अनितासंगका सहकार्यका थुप्रै क्षण याद आएका छन्। मेरो यादमा अनिता कहिल्यै मेटिने छैनन्। उनी कुरा कम गर्थिन हाँस्थिन ज्यादा। हाँस्थिन, हँसाउँथिन र उत्तिकै सघाउ स्वभावकी थिइन उनी। हँसमुख अनिता सायद मेरो मनमा जस्तै धेरैको मनमा नमेटिने गरि बसेकी छिन्। उनी कार्यरत रेडियो मुक्तिनाथका असंख्य श्रोता उनका फ्यान थिए। अब फ्यानहरुकी प्यारी अनिता अलविदा भएकी छिन्। एफएम अध्यक्ष डुलबहादुर कुँवर र एफएम परिवार गहिरो शोकमा डुबेका छन्। एफएम बेलुका देखी अनिता जस्तै निःशब्द छ।
कैलाशनगरमा अनिता आईजाई गरेको देख्न नपाउँदा खिन्न हुने र यादमा तडि्पने फुच्चाफुच्ची, उनका मित्र र पाकाहरु प्रसस्त छन्। पाल्पामा एउटी पत्रकारका पदचाप अब देखिने छैनन्। हातबुना झोला काँधमा भिरेर तानसेन चाहार्ने र खबर बट्याउने सहकर्मी अनिता देख्न पाल्पाली पत्रकारका आँखा प्यासी र उत्कठ अभिलाषि हुनेछन्। मगरी उत्सव, जात्रा र महोत्सवमा अगुवा हुने अनिता सबैलाई याद आईरहने छिन्। मगरी पहिरनमा सजिएर स्टेजमा धक फुकाएर माईकमा बोल्ने महिला प्रस्तोताको कमि हुनेछ। मसंगै जेसिजमा खट्ने लेडी जेसी अनिताले जेसिज आस्था पाठमा 'शासन व्यक्तिको होइन बिधिको हुनु पर्दछ' भन्दै छातिमा हात राखेको देख्ने मौका अब जुर्ने छैन। मेरो छोरा अतिभलाई 'सानो पत्रकार' भनेर बोलाउने र चक्लेट दिने 'अनु अन्टी'लाई उस्ले 'मिस' गर्नेछ।
अनिताले किन 'आत्महत्या' गरिन ? अनुसन्धान चल्दै छ। अनिता पाल्पाली पत्रकारीताकी भुल्न नसक्ने महिला पत्रकार हुन्। उनलाई म कहिल्यै भुल्ने छैन। अलबिदा प्रिय अनिता !
oh god very bad news ....
ReplyDelete