रूरूमा हाउडा पुलको सम्झना
Published on
3:54:00 PM //
बालकृष्ण ज्ञवाली
´बम्बई देखो, हाउडाका पुल देखो´
माघे संक्रान्ति मेला भर्न गाउँगाउँबाट रूरूमा झुत्तिएका तीर्थालुलाई मनोरञ्जन दिन सानो प्रोजेक्टर बोकेर आएका घुमन्ते ´देशी´हरूलाई देखेर हामी खुशीले दुई बित्ता उफ्रन्थ्यौं।
´कसलाई के धन्दा, जोगीलाई खानकै धन्दा,´ आमा हजारौंको भींडमा छोरा हराउला भनेर बलियोगरी हात समात्दै गाली गर्नुहुन्थ्यो– ´नुहाउन आ´का बेलाँ काँ फिलिम हेर्दै हिंड्नु।´
बालहठको अगाडि कसको जोर चल्छ? पिल्पिल आँशु चुहाउँदै हामी आफ्नो ढिपी पूरा गराई छाड्थ्यौं। आमा साडीको फेरोमा मुठो पारेर कसेको ´डबल´ झकेर दिनुहुन्थ्यो, धेरैजसो बाले थाहा नपाउनेगरी। हामी दुगुर्दै देशीका अगाडि डल्लो पर्थ्यौं। बम्बईको गेट, कलकत्ताको हाउडा पुल, दिल्लीको लाल किल्ला र हिरो–हिरोइनका फोटाहरू खुब हेर्यौं त्यसरी।
त्यो समय काली गण्डकी र रिडीको दोभानमा नुहाएर धर्म गर्नुभन्दा देशीलाई डबल तिरेर तस्बिर हेर्नु नै माघे संक्रान्ति थियो हाम्रा लागि। त्यतिखेरका बालसखा कति त कलकत्ताको हाउडा पुलै पुगिसके, कति बम्बईमै बसिरहेका छन्, मचाहिँ काठमाडौं आइपुगेको छु। २०४१ सालमा एसएलसी सकेर राजधानी छिरेदेखि यो शहरले यस्तरी समात्यो, फेरि माघे संक्रान्तिका लागि रूरू फर्किन भ्याएको छैन। तर रूरूमा माघे संक्रान्ति मनाउँदाको झझल्को अझै आँखाभरि ताजा छ।
बाँकी.......
0 प्रतिकृयाहरु