Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

डोजर प्रयोगले दर्जनौ गाउँ बस्ति जोखिममा

Published on 1:31:00 AM //

घनश्याम गौतम
प्राविधिकहरुको सल्लाह बिना नै अव्यवस्थित ढंगले डोजर प्रयोग गरी सडक खन्ने गरेकाले बर्षासंगै गुल्मीका दर्जनौं गाउँका बस्तीहरु खतरामा परेका छन् ।

जिल्लाका ७९ वटै गाविसमा सडक पुर्याउने लक्ष्यसंगै टोलटोलमा सडक सुविधाका लागि डोजर प्रयोग गर्ने होडबाजीले गाउँ र बस्ती खतरामा पर्न थालेका हुन् । जिल्लामा निर्माण भएका सडकहरु मध्ये ४० प्रतिशत भन्दा बढी सडक प्राविधिकको सल्लाह बिना नै डोजर प्रयोग गरी निर्माण भएका छन् । अब्यवस्थित रुपमा झण्डै एक दर्जन सडक निर्माण गरिएका कारण हस्तिचौर गाविसमा मात्र ४ गाउँ जोखिममा छन् । हस्तिचौर गाविसका गुर्बा, उर्जुङ्ग, तोरीखर्का र जुकेपानी गाउँका झण्डै २ सय घर मोटरबाटोकै कारण जोखिममा छन् । मुसिकोट गाविसको बुढाथोक गाउँ बम्घा गाविस-१ मा १० घर रहेको माझगाउँ नेटा गाविस-५ को बसेनी गाउँका ११ परिवार विस्थापित भएका छन् । त्यस्तै अर्लाङ्कोट गाविसको जौखेतको फाँट र खर्ज्याङ गाविसमा पनि सयौं मुरी धान फल्ने फाँट खोलाले पुरेको छ । "माँझ गाउँ, खत्रीटोला, गेवादी मोटरबाटो खन्न डोजर प्रयोग गरेकै कारण बाटोको तल परेको १० घर सहितको बस्ति खतरामा छ ।", बम्घाका स्थानीय पत्रकार हेम त्यागीले भने "माझी परिवार रहेको विपन्न बस्ती पानी पर्नासाथ घर छोड्न बाध्य छन् ।" बस्ती तल पारेर नजिकैबाट डोजर प्रयोग गरेर सडक निर्माण गरेका कारण पानी पर्नासाथ पहिरो जान थालेको उनले बताए । सडककै कारण बम्घा-२ मा रहेको लक्ष्मी प्राथमिक विद्यालय समेत खतरामा परेको छ । नेटा गाविसमा पनि बस्ति माथीबाट डोजरको प्रयोग गरेर सडक खनेका कारण तल परेको बस्ति खतरामा परेको पीडितहरुको गुनासो छ । नेटा गाविसको बसेनी गाउँमा बिस्थापित हुन लागेको ११ घर मध्ये धेरै दलित छन् । उपभोक्ता समितिहरुले जिल्लाका अधिकांस गाविसमा सडक खन्दा प्राविधिकहरुको सल्लाह लिएर खन्न शुरु गर्नु भन्दा डोजर लगाएर सडक निर्माण गरीसकेपिछ मात्र प्राविधिक बोलाएर मुल्याङ्कन र सर्भे गराउने प्रबृत्ति बढ्दै गएको छ ।

जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर मेघराज ज्ञवालीले भने गत वर्षहरुको तुलनामा यस वर्ष सडक निर्माणका लागि प्राविधिक खोज्न शुरुवात भएको बताए । "गत वर्षहरुको तुलनामा प्राविधिकहरुको खोजी शुरु भएको छ ।", ज्ञवालीले भने, "अबको वर्षबाट प्राविधिकले सर्भे नगर्दासम्म सडक निर्माण प्रकृया अगाडी नबढ्ने गरी नीति बनाएर लागु गर्दैछौं ।" नयाँ आर्थिक वर्षबाट उपभोक्ता समिति निर्माण देखि योजना सम्पन्न नहुँदासम्मका सबै प्रकृया नयाँ ढंगले अगाडी बढाउन लागिएको कार्यालयले जनाएको छ । स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेलका अनुसार जिल्लाका सबै गाविसमा डोजर प्रयोग गरी सडक निर्माण गर्ने प्रबृत्ति बढ्दै गएपनि बन जंगल, बस्ति, खानेपानीको मुहान, बर्षौं पुराना रुखहरुको संरक्षण गर्ने गरी मात्र डोजर प्रयोग गर्न निर्देशन दिइएको छ । जिल्ला परिषदले समेत बर्षाको समय असार देखि असोजसम्म जिल्लाभर डोजर संचालनमा रोक लगाउने निर्णय पारित गरेपनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । "हामी कडाईका साथ कार्यान्वयन गर्दै छौं ।" स्थानीय विकास अधिकारी पौडेलले भने "बस्ति मात्र होइन सडक क्षेत्रमा पर्ने बर पिपलका रुख समेत नष्ट नहुने गरी सडक निर्माण गर्न निर्देशन दिएका छौं ।"
जिल्ला भुं-संरक्षण कार्यालयका प्रमुख ज्ञानप्रसाद शर्माले भने जिल्लाका अधिकांश गाविसमा डोजर प्रयोगका कारण भू-क्षयको खतरा बढेको बताए । बन जंगल सबै डोजरले बिनास गरिसकेकाले जिल्लामा ठुला पहिराहरुको संख्या समेत बढ्दै जान थालेको छ । उपभोक्ता समितिले डोजर मार्पुत डाँडाकाँडासम्म सडक पुर्याउदा यहाँका अधिकांश ठाडा खोलाहरुको सतह समेत बढेको छ । अर्लाङ्कोट गाविसमा सडक निर्माणका बेला डोजरले निकालेको माटोका कारण न्यूरेखोलाले बाटो परिवर्तन गरेपछि ५ घर विस्थापित भएका छन भने १ सय ८० मुरी धान उत्पादन हुने खेत पुरिएको स्थानीय यज्ञमुर्ति कँडेलले बताए । त्यस्तै बिरबास, दरबार देविस्थान गाविसमा खनिएका सडकका कारण खर्ज्याङ खोलाको सतह बढेपछि खर्ज्याङ फाँट र खर्ज्याङ बजार पनि खतरामा परेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग