Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जथाभावी डोजर प्रयोगले पिपल हराउँदै

Published on 11:26:00 AM //


घनश्याम गौतम
धार्मिक आस्थासंगै अक्सिजन र औषधीको लागि महत्वपूर्ण मानिने पिपलका रुखहरु जथाभावी डोजरको प्रयोग र संरक्षण अभावमा लोप हुँदै जान थालेका छन् । 
ग्रामिण क्षेत्र एवं शहरहरुमा समेत सार्वजनिक स्थलहरुमा केही वर्ष अघिसम्म प्रसस्तै देख्न पाईने पिपलका रुखहरु पछिल्लो समयमा शहरमा बढ्दो मानव बस्ती र ग्रामिण क्षेत्रमा जथाभावी डोजर प्रयोगले लोपहुँदै जान थालेका हुन् । ग्रामिण क्षेत्रमा जथाभावी डोजर प्रयोग, सार्वजनिक जग्गा अतिक्रमण र वातावरणीय पक्षमा ख्याल नगरी सडक निर्माण अभियान चलाउँदा सयौं वर्षपुराना पिपलका रुखहरु नष्ट हुँदै गएका हुन् ।  
अन्य ५० रुखबाट प्राप्त हुने अक्सिजनको मात्रा पिपलको एउटै रुखले दिने र त्यसको जरा देखि पातसम्म ४२ प्रकारका औषधीमा पिपलको प्रयोग हुने आर्युवेद चिकित्सकहरु बताउँछन् । त्यस्तै जरा धेरै टाढासम्म फैलने भएकाले बाढी पहिरो नियन्त्रणमा समेत पिपलका रुखहरुले सहयोग पुर्‍याएका हुन्छन् ।  
सयौं पिपलका रुख रहेको अर्जै गाविसमा अहिले बिरलै पिपलका बोट देख्न पाईने अर्जै-८ का ढालप्रसाद पोखरेलले बताए । अमरपुर हुँदै अर्जै पोखराबारी जोड्ने मोटरबाटोमा मात्र १२ भन्दा बढी पिपल नष्ट भएको उनले बताए । ‘जताजता पिपलका बोट छन् उतैबाट बाटो लगियो’, पोखरेलले भने, ‘अब नयाँ रोप्ने कोही छैन, पुराना सबै सकिंदै गए ।’ बुढापुरानाहरुले पुण्य प्राप्त हुने भन्दै सार्वजनिक स्थानमा बर पिपल रोपेर चौपारी समेत निर्माण गर्ने गरेका थिए । 
पुराना रुखहरु नष्ट हुँदै जाने र नयाँ बोट रोप्न कोही पनि अग्रसर नभएपछि गाउँमा पिपलका रुख देखिन छोडेको अर्जैकै गोपाल गौतमले बताए । पिपलको रुखलाई भगवान विष्णुको अवतार मानेर पुजा गर्ने चलन छ । शनिवार पिपलको पुजा गरेमा शनि संकटा ग्रह नष्ट हुने विश्वास महिलाहरुमा छ । अधिकांग गाउँमा सडक निर्माणका बेला सार्वजनिक स्थानमा रोपिएका पिपलका बोट नष्ट हुँदै गएपछि जिविसले गत वर्षदेखि बातावरणीय पक्षको ध्यान दिएर मात्र डोजर संचालनका लागि अनुमति दिएको थियो ।
तर ग्रामिण क्षेत्रका सर्वसाधरण एवं उपभोक्ता समितिहरुले भने व्यक्तिको जग्गाबाट मोटरबाटो निर्माण गर्दा बिवाद बढ्न थालेपछि सार्वजनिक स्थलहरुबाटै सडक निर्माण गर्ने गरेका छन् । त्यसले पनि पिपल संरक्षण गर्न नसकिएको बुढापाकाहरुको गुनासो छ । जिल्लाका अर्जै, दर्लामचौर, सिमिचौर, लिम्घा, अमरपुर, हुँगा लगायतका दर्जनौं गाविसमा सयौं पिपलका बोट नष्ट गर्दै सडक निर्माण गरिएको छ ।
यसले सार्वजनिक स्थानमा सयौं वर्ष पुराना बर पिपलका बोटसंगै निर्माण गरिएका चौपारीहरु समेत नष्ट हुँदै गएका छन् । स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेलले भने डोजर संचालन गर्ने क्रममा अनिवार्य रुपमा वातावरणीय संरक्षणको क्षेत्रमा ध्यान पुर्‍याउन निर्देशन गरिएको बताए । ‘वातावरण, खानेपानीका मुहान, एवं जैविक विविधताको संरक्षणमा समेत ध्यान दिन निर्देशन दिएका छौं ।’, पौडेलले भने ।
जिल्ला वन कार्यालयका सहायक वन अधिकृत कर्ण पाण्डेले पिपल हिन्दु धर्म र वातावरणीय दृष्ट्रिले महत्वपूर्ण हुँदाहुँदै पनि लोप हुँदै जान थालेको बताए । रातीमा अन्य रुखले कार्वनडाईअक्साइड फाल्ने भएपनि पिपलले २४ सै घण्टा अक्सिजन प्रदान गर्ने भएकाले यसको संरक्षण गर्नु जरुरी रहेको पाण्डेले बताए । ‘बन कार्यालयमा पनि पिपल काट्ने इजाजत माग्न आउने गरेका छन्’, उनले भने, ‘बन क्षेत्र भित्र नपर्ने भएपनि हामीले इजाजत दिने गरेका छैनौं ।’ 

1 comment

  1. भगवान देखि लियर मानिस को छाला को रोग सम्म नीको पार्न सफल एक मात्र बोट पिपल लाई जोगाउनु पर्छ ! हो एस्तो पिपल का बोट काट्ने क्रम गुल्मी वाग्ला गा।बी स्। मा पनि बड्दो क्रम मा रहेको छ !!!!!!

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग