Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामाजिक काममा ९० वर्षीया वृद्धा

Published on 2:11:00 PM //


विमल खतिवडा
बुढ्यौलीका दिन जोकोहीका लागि कठिन हुन्छ तर बागलुङ जैदिढावा २ की ९० वर्षीया धनकुमारी शाही ९० वर्षमा पनि उदाहरणीय बनेकी छन् । उनले इच्छाशक्ति भए समाजसेवा गर्न उमेरले छेक्दैन भन्ने नमुना गाउँमा देखाइरहेकी छन् । विवाहको तीन दिनमै भारतीय सेनामा कार्यरत श्रीमान् नरबहादुर बेपत्ता भएपछि एक्ली बनेकी उनी जीवनभर समाजसेवामै सक्रिय रहिन् ।
उनले ७ लाखभन्दा बढी रकम बाटो, सडक, विद्यालय, पाटीपौवा निर्माणमा खर्चिसकेकी छन् । बागलुङ जैदिढावाकै सतढुंगा मावि र जनता प्राविलाई २० हजार रुपैयाँ सहयोग गरेकी छन् । एक्लै बस्दै आएकी उनी वृद्धावस्थामा पनि आफैं पकाएर खाने गर्छिन् । १३ वर्षको उमेरमा विवाह गरेकी उनले श्रीमान् बेपत्ता भएपछि काजकिरियासमेत गरिन् । श्रीमान्को नामबाट मासिक ३५ हजार पेन्सन पाएपछि त्यसलाई उनले समाजसेवामा लगाउँदै आएकी हुन् ।
त्यसो त उनलाई बिहेका लागि प्रस्ताव नआएका हैनन् । 'मसँग होइन, मेरो गरगहना देखेर विवाहका लागि धेरै आए,' उनले भनिन्, 'त्यही भएर विवाहका लागि भनेर आएका सबैलाई लौरोले लखेटें ।'
गाउँलेलाई हिँडडुलमा समस्या भएपछि आफ्नै सक्रियतामा बागलुङको ठाँटीदेखि चौतारीसम्म १ लाख रुपैयाँ खर्च गरी ३ सय मिटर घोडेटो बाटो निर्माण गरेकी छन् । त्यस्तै गाउँमा बटुवालाई उचित बासस्थान अभाव भएपछि उनले ९० हजार खर्च गरी प्रतीक्षालय निर्माण गरिन् ।
'४० वर्ष भयो सेवाका काम गर्न थालेको, यस्ता काम कति गरे सम्झनामै छैन,' उनले भनिन्, 'त्यही भएर सय वर्षसम्म बाँची अझ धेरै राम्रा काम गर्ने धोको छ ।' गाउँमै गाईबस्तुलाई पानी खुवाउन समस्या भएपछि ६५ हजार रुपैयाँ खर्च गरी पोखरी निर्माण गरिदिएकी हुन् । उनले आफूले गरेका सबै कामका बारेमा पर्वतको कुश्मा बजारमा पत्रकार सम्मेलन गरी हालै जानकारी गराएकी हुन् ।
उनले गाउँमा दुई दर्जनको संख्यामा यस्ता काम गरिसकेको उनकी भतिजी लीला मल्ल्ाले बताइन् । 'घरमा एक्लै भएकाले सानीआमालाई पोखरा लग्ने अनेक प्रयास गरें तर सकिन,' उनले भनिन्, 'जहिले पनि मैले गाउँका लागि केही गर्नु छ मात्र भन्नुहुन्छ, त्यही भएर जानै मान्न्ाु हुन्न ।' उनका अनुसार गाउँमा जेठाजुका छोराबुहारी र देउरानी भए पनि धनकुमारी एक्लै बस्छिन् । कपाल सेतै फुलेकी उनी कान राम्रो सुन्छिन् भने हिँडडुल गर्न सहारा चाहिन्न । 'मेरा माइती पनि छन् तर जान मन लाग्दैन,' उनले भनिन्, 'मैले गाउँमा धेरै काम गर्नु छ,' उनी भन्छिन्, 'राम्रा काम गरेर पछिसम्म जीवित रहने गरी यो संसारबाट बिदा हुने इच्छा छ ।'

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग