Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१६ वर्षपछि विद्यालय निरीक्षण

Published on 7:07:00 AM //


चिसो भुइँमा बसेर पढ्दै विद्यार्थी, जंगलमा शौचालय
प्रेम सुनार
गुल्मीको विकट गाविस नेटाको एक विद्यालयमा १६ वर्षपछि जिल्ला शिक्षा कार्यालयले निरीक्षण गरेको छ । सदरमुकाम तम्घासबाट करिब ३६ किमी दूरीमा रहेको नेटा–१, लिलिङ गाउँस्थित मनकामना प्राथमिक विद्यालयको १६ वर्षपछि निरीक्षण भएको हो ।
निरीक्षणका क्रममा फर्निचर अभावमा विद्यार्थी चिसो भुइँमा बसेर पढ्दै गरेको र शौचालयका लागि जंगल जाने गरेको पाइएको निरीक्षक झविलाल विकले बताएका छन् । ‘‘२०५२ सालयता स्रोत व्यक्तिसमेत त्यस विद्यालयको निरीक्षणमा पुगेको पाइएन,” उनले भने ।
करिब १ सय ५० विद्यार्थी रहेको सो विद्यालयको भवन एकदमै सानो र जीर्ण छ । जसको मर्मतका लागि जिल्ला शिक्षा कार्यालयले ५० हजार छुट्ट्याए पनि मर्मत गरेर नहुने र नयाँ भवनको आवश्यकता रहेको निरीक्षक विकले बताए ।
सुगम गाविसका विद्यालयमा जिल्ला शिक्षा कार्यालयका साथै विभिन्न संघ–संस्थाले समेत शौचालय निर्माण गरिदिएको पाइन्छ । तर, त्यो विद्यालयमा आजसम्म कसैको ध्यान नपुग्नुमा दुःख लागेको उनले बताए ।
अधिकांश गरिब जनजाति र दलित बसोबास गर्ने सो स्थान गाविसकै विकट गाउँ हो । स्थानीय तहमा राजनीतिक नेतृत्व नहुनुले पनि विद्यालय ओझेलमा परेको हुनसक्ने विकको अनुमान छ ।
त्यसो त गत त्यति नै लामो समयदेखि आलमदेवी प्रावि दर्लामचौर, सूर्योदय प्रावि छापहिले र कालिका निमावि दोहोलीमा पनि विद्यालय निरीक्षण नभएको पाएको उनले बताए । “ती विद्यालयको भौतिक अवस्था लिलिङको मनकामना प्राविको भन्दा कम पाइयो,” निरीक्षक विकले भने ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग