Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उजाड डाँडा हराभरा बनाए गाउँलेले

Published on 2:53:00 PM //

घनश्यम गौतम
उजाड डाँडामा विभिन्न जातका बोटबिरुवा रोपेर बाँझकटेरी १ होलबाङका बासिन्दाले हराभरा बनाएका छन् ।

 खाली रहेको ७१ हेक्टर सरकारी जग्गा ४० वर्षका लागि सित्तैमा पाएपछि ७१ घर-परिवारले ७१ हजार निगालोसहित विभिन्न थरिका २ लाख बिरुवा रोपेर डाँडालाई हरियाली बनाएका हुन् ।

वन कार्यालयले विपन्न समुदायको जीवनस्तर सुधार र वातावरणीय संरक्षण गर्ने नीति अनुसार जग्गा उपलब्ध गराएको थियो । स्थानीयले टिमुर, व्यावसायिक आम्दानी गर्न सकिने र घाँसको रूपमा विकास गर्न सकिने विरुपा रोपेका हुन् ।

जिल्ला वन कार्यालयका प्रमुख शिवप्रसाद शर्माले राष्ट्रिय जंगलको जग्गा विपन्न समुदायलाई दिएर गरिबी न्यूनीकरण र बातावरण संरक्षण गर्ने नीतिलाई व्यवहारमा लागू गरिएको बताए ।

गाउँलेहरूलाई बिरुवा खोज्न, रोप्न र आर्थिक एव प्राविधिक सहयोग पाल्पामा क्षेत्रीय कार्यालय रहेको कबुलियती बन तथा पशु विकास कार्यक्रम र एफएओ कार्यक्रमले गर्दै आएको छ । कार्यक्रम संयोजक नारायण भट्टराईले खाली जग्गामा ३५ हजार १ सय टिमुर, ७१ हजार निगालो, ८ हजार दुधिलो, ७ हजार गाजिङ, ५ हजार नेपियर,  ७ हजार किम्बु, १० हजार पैंयु, २५ हजार राई घाँस, ५ हजार नेपियर लगायतका १ लाख ९२ हजार बिरुवा रोपेका छन् । गाउँलेहरूले रोल्पा पुगेर टिमुरका बिरुवा ल्याएका थिए ।

गाउँलेहरूले टिमुरबाट रोपेको २ वर्षमा, गाजिङ, निगालो लगायतका प्रजातिबाट ३ वर्षमा आम्दानी सुरु गर्ने भट्टराईले बताए । नेपालमा व्यावसायिक टिमुर खेती अत्यन्त कम स्थानमा भएकाले राम्रो आम्दानी गर्न सकिने कबुलियती बन मूल समूहका अध्यक्ष बृजबहादुर खत्रीले बताए ।

बिरुवा रोप्न र जग्गा संरक्षणका लागि समुदायले २ लाख रुपैयाँभन्दा बढीको श्रमदान गरेका छन् । बिरुवा खरिद र संरक्षणमा ६ लाख २५ हजार रुपैयाँ खर्च भएको हब कार्यालय पाल्पाले जनाएको छ ।

जिल्लाकै सबैभन्दा दुर्गम मानिएको बाँझकटेरीमा सुरु गरिएको व्यवसायिक टिमुर खेती र घाँस उत्पादन जिल्लाकै नमुना हुँदै गएको वन अधिकृत शर्माले बताए । 'बाँझकटेरी जिल्लाकै नमुना बन्दै छ,' शर्माले भने, 'विपन्न समुदायले सुरु गरेको काम र संरक्षण अभियान उदाहरणीय नै छ ।'

गाउँलेहरूले भने आफूहरूलाई अझै जग्गा कम भएको बताएका छन् । बाँकी रहेको मालिका वन क्षेत्रको जग्गा सबै पाएमा आफूहरू अझै उत्पादनमुखी घाँस र अन्य व्यवसायिक खेती गर्न अग्रसर हुने होलबाङकै सरस्वती घर्तीले बताइन् ।

'हामी खाली रहेको सबै जग्गा दिएमा संरक्षण र उपयोग गर्न सक्छौं,' उनले भनिन्, 'गाउँमै जग्गा पाएमा कामका लागि विदेश पुगेका युवाहरू समेत गाउँमै फर्केर यस्तै काम गर्न सक्छन् ।' गाउँलेहरूले बिरुवा रोप्न र रेखेदेख गर्ने गरी संरक्षणका लागि प्रति दस जनाको एउटा समूह बनाएका छन् । सबै समूह सदस्यहरूले समान काम गर्ने र आम्दानी पनि समान लिने अध्यक्ष खत्रीले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग