Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

द्वन्द्वमा ध्वस्त भएका प्रहरी कार्यालयहरु पुर्ननिर्माण शुरु

Published on 3:53:00 PM //

भाडामा बार्षिक ४ लाख रुपैंया भन्दा बढी खर्च
घनश्याम गौतम
वार्षिक ४ लाख रुपैंया भन्दा बढी घरभाडा तिर्दै आएको प्रहरीले द्वन्द्वमा ध्वस्त भएका संरचनाहरुको झण्डै दशकपछि धमाधम पुर्ननिर्माण शुरु गरेको छ । जिल्लाका ग्रामिण क्षेत्रमा रहेका १६ प्रहरी चौकीहरु मध्ये अधिकांश प्रहरी कार्यालयहरु २०५८ असार, साउन र मंसिरमा माओवादीले ध्वस्त बनाएका थिए । 
प्रहरीले शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको पुर्ननिर्माण परियोजनाअन्तर्गत भवन निर्माण शुरु गरेको हो । २०५८ साउन ९ गते माओवादीबाट आगलागी भएको इलाका प्रहरी कार्यालय रिडीको पुर्ननिर्माण र नयाँगाउँ  प्रहरी चौकीको निर्माण सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत श्याम अर्यालका अनुसार इलाका प्रहरी कार्यालय रिडीका लागि ७६ लाख ७५ हजार रुपैंया खर्चमा अत्याधुनिक भवन निर्माण भएको छ । ठेक्कामा निर्माण गरिएको भवन अत्याधुनिक र सुविधासम्पन्न छ । यसैसाता देखि प्रहरी बस्न शुरु गरेको रिडी भवनमा थुनुवाहरुका लागि शौचालय सहितका सुविधायुक्त कोठा छन् ।
प्रहरी प्रधान कार्यालयको सहयोगमा जिल्ला प्रहरी कार्यालय पनि निर्माणधिन छ । त्यस्तै यस वर्ष वामीटक्सार र पुर्कोटदह इलाका प्रहरीकार्यालय निर्माणका लागि रकम बिनियोजन भै निर्माणको प्रकृयामा रहेको प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले बताए । ‘ध्वस्त भवनहरु मध्ये क्रमशः सबै निर्माण गर्ने गरी प्रकृया अगाडी बढेको छ ।’, बैदवारले भने, ‘वामी र पुर्कोट इलाका कार्यालय निर्माणका लागि यस वर्ष १ करोड ६३ लाख रुपैंया रकम छुट्टिएको छ ।’
जनयुद्धको समयमा अधिकांश प्रहरी कार्यालयहरु ध्वस्त भएकाले अहिले प्रहरीले वार्षिक ४ लाख भन्दा बढी रकम भाडामा खर्च गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ट्राफिक प्रहरी कार्यालय सहित, ३ इलाका प्रहरी कार्यालय र ६ प्रहरी चौकी व्यक्तिको घरमा भाडामा बस्दै आएका छन् । त्यस्तै २ अस्थायी सहित ४ प्रहरी चौकीले सरकारी भवन र व्यक्तिको घर निःशुल्क प्रयोग गर्दै आएका छन् । प्रहरी निरिक्षक अर्यालका अनुसार ट्राफिक कार्यलयले मासिक ४ हजार रुपैंया, इलाका प्रहरी कार्यलय पुर्कोटदह, चन्द्रकोट शान्तिपुर र जोहाङ्ग खैरेनीले मासिक ३ हजार ५ सय रुपैंयाका दरले भाडा तिर्दै आएका छन् । सबै भन्दा बढी मासिक ५ हजार ९ सय रुपैंया भाडा तिर्दै आएको इलका प्रहरी रिडी भने यसै साता देखि आप्mनै भवनमा सरेको छ ।
त्यस्तै प्रहरी चौकी चारपाला, वामीटक्सार र पौदीअमराईले मासिक ३ हजार रुपैंया, प्रहरी चौकी मरभुङ्ग सिमलटारीले १ हजार ७ सय रुपैंया, धुर्कोट बस्तुले १ हजार ७ सय ५० रुपैंया र पुर्तिघाटले २ हजार २ सय रुपैया मासिक भाडा तिरेर व्यक्तिको घरमा बस्दै आएको प्रहरीले जनाएको छ । प्रहरी चौकी श्रृगा, अस्थायी प्रहरी चौकी मजुवा र हस्तीचौरले सरकारी भवन प्रयोग गर्दै आएका छन् भने अस्थायी प्रहरी पोष्ट धनार्जी व्यक्तिको घरमा निःशुल्क बस्दै आएको छ । अधिकांश प्रहरीका कार्यालयहरु व्यक्तिको घरमा भाडामा बसेकाले कार्यसम्पादन, थुनुवा राख्न, शौचालय, खानेपानी, लगायतका समस्या झेल्दै आएका छन् । ‘सबैभन्दा बढी थुनुवा राख्न समस्या भएको छ’, प्रनाउ बैदवारले भने, ‘अति समस्या भएका इकाईहरुका लागि तत्काल निर्माणमा जोड दिन गरेका छौं ।’

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग