Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘प्लस टु’मा छात्रा बढी

Published on 9:02:00 PM //


शिबलाल सुबेदी 
कुनै समयमा छात्राहरूको संख्या एकदम न्यून रहने जिल्लाका उच्च माध्यमिक विद्यालयहरूमा आजभोलि भने छात्रा विद्यार्थीहरूको संख्या बढी देखिएको छ । कुनै समय उच्च माध्यमिक विद्यालयहरूमा छात्र विद्यार्थीहरूको संख्या छात्राको भन्दा दोब्बर देखिने जिल्लाका उच्च माध्यमिक विद्यालयहरूमा अहिले आएर भने छात्रको संख्याभन्दा छात्राको संख्या दोब्बर देखिन थालेको छ । पहिले पहिले हाम्रो समाजमा छोरीहरूलाई उच्च शिक्षा दिन हुन्न भन्दै सानैमा बिहे गरेर अर्कैको घरमा पठाउने रितिरीवाजले गर्दा उच्च माध्यमिक विद्यालयहरूमा छात्रहरूको संख्या एकदम कम देखिने गरेको भएपनि अहिले आएर भने छोरीलाई पनि छोरा समान शिक्षा दिनुपर्छ भन्ने चेतनाका कारण उच्च माध्यमिक विद्यालयहरूमा छात्रा विद्यार्थीहरूको संख्या बढी हुन थालेको हो । जिल्लामा पछिल्लो ६÷७ वर्षमा छात्रा विद्यार्थीहरूको संख्या ह्वात्तै बढेको जिल्लामा रहेका उच्च माध्यमिक विद्यालयहरूले जनाएका छन् । अहिले उच्च माध्यमिक विद्यालयहरूमा बिहे नभएका मात्र छात्रा नभएर बिहे भएका छात्राहरू पनि उच्च शिक्षा पढ्न आउने गरेको सदरमुकाम तम्घासमा रहेको महेन्द्र उच्च माध्यमिक विद्यालयले जनाएको छ ।
महेन्द्र उच्च माध्यमिक विद्यालयका प्राचार्य केशरबहादुर थापाले भने अहिले पछिल्लो समयमा उच्च माध्यमिक तहमा छात्रा विद्यार्थीहरूको संख्यामा प्रत्येक वर्ष वृद्धि भएको बताए । पहिले–पहिले छात्रा विद्यार्थीहरूको संख्या छात्रको भन्दा एकदम न्यून हुने गदथ्र्यो तर अहिले भने उच्च माध्यमिकमा छात्रको भन्दा छात्राको संख्या बढी रहेको बताए । यस्तै जौसीथोक गाविसमा रहेको पाञ्चायन उच्च माध्यमिक विद्यालयका प्राचार्य टेकबहादुर श्रेष्ठका अनुसार यसवर्ष कक्षा ११ मा १० विद्यार्थी मध्ये ९ जना छात्रा र १ छात्र रहेको बताए ।
अहिले ग्रामीण क्षेत्रका अधिकांश युवाहरू कक्षा १० पास गरी आर्थिक समस्या तथा बेरोजगारका कारण विदेश पलायन हुने गरेकाले पनि जिल्लाका उच्च माध्यमिक विद्यालयहरूमा छात्राको संख्या बढी हुने गरेका हुन् । अहिले जिल्लामा कुनै एक परिवारको एक सदस्य रोजगारका लागि विदेश जाने हुनाले त्यस परिवारमा रहेकी छोरीले मात्र उच्च शिक्षा अध्ययन गर्ने अवसर नपाएर बुहारी बनेर आएकी युवतीले समेत उच्च शिक्षा अध्ययन गर्ने अवसर प्राप्त हुने गरेको छ ।
अहिले जिल्लाको सदरमुकाम तम्घासमा मात्र नभएर जिल्लाका विकट ग्रामीण क्षेत्रमा पनि उच्च शिक्षा अध्ययन गर्नका लागि उच्च माध्यमिक विद्यालयहरू खुलेकाले एसएलसी पास गरेर उच्च माध्यमिक विद्यालयको अभावमा पढ्न नपाएर बसेका छोराछोरीका बुबा आमाहरू उच्च माध्यमिक विद्यालयमा भर्ना भएका छन् । यस्तै बिभिन्न सरकारी कार्यलयहरूमा जागिर खाएका तथा बिभिन्न बिद्यालयहरूमा शिक्षण पेसामा लागेका महिलाहरू समेत आफ्नो पदोन्नतीका लागि उच्च माध्यमिक विद्यालयहरू भर्ना भएका छन् । जिल्लामा अहिले १० क्याम्पससहित ४८ वटा उच्च माध्यमिक विद्यालयहरू रहेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग