Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा सम्बन्धबिच्छेद: कतै २५० मा त कतै १० लाखमा

Published on 1:57:00 AM //


प्रेम सुनार
साउन ९ , गुल्मी
यसै गुल्मीमा केही महिना अघि एउटी महिलाले रु. १० हजार क्षतिपूर्ती लिएर सम्बन्ध बिच्छेद गरेकी थिईन भने हालै अर्की एउटी महिलाले जम्मा २५० रुपैयाँमा सम्बन्ध बिच्छेद गरेकी छन । अर्घाखाँचीको बलकोट ५ माईतीघर भएकी १७ वर्षिया बसन्ती खत्रीले गुल्मी, सिमिचौर ७ का मोहनसिंह खत्रीसंग बिहे भएको १० महिना पछि जम्मा रु. २५० लिएर सम्बन्ध बिच्छेद गरेकी हुन भने उता गौंडाकोट माईतीघर भएकी ३४ वर्षिया तुलसा बस्नेतले रुपन्देही सिम्लाहा ३ का ४४ वर्षिय अर्जुन के.सीसंग रु. १० लाख लिएर सम्बन्ध बिच्छेद गरेकी छन, त्यो पनि बिवाह गरेको २ वर्ष नपुग्दै ।
१० लाख लिने तुलसाले पूर्व पति सिमिचौर २ का कृष्णबहादुर बस्नेत र तिन नावालक सन्तान छाडेर के.सीसंग सौता माथी दोस्रो बिवाह गरेकी थिईन । त्यसैगरी २५० रुपैंया लिने बसन्तीको भने मागी बिवाह भएको थियो । बसन्तीका बाबु पक्षघातले थला पर्दै आएका छन । एउटी आमाले निमेक गरेर एक छोरा र छ वटी छोरीहरु हुर्काएकी थिईन । चरम गरिबीका कारण जेठी छोरीको बिवाह भएपछी माईली छोरी बैदेशिक रोजगारीका लागि लेवनन गएकी थिईन । साईली छोरी बसन्तीको बिवाहमा दाईजो नदिएको भन्दै पटक–पटक परिवारजनले घोचा सुनाउन थालेपछि उनी बिहे गरेको केही दिन पछि माईतीकोमा बस्दै आएकी थिईन । श्रीमानले समेत मन दुखाउने कुरा बोलेको र कहिल्लै मनपेट नखोल्ने भन्दै बस्नेतले एक पैसा नलिई सम्बन्ध बिच्छेद गर्न चाहेको बताईन । उनले गहना मात्रै बुझाएको तर एक पैसा नलिएको बताए पनि पूर्व पतिका छिमेकीले भने रु. २५० मा सम्बन्ध बिच्छेद गरेको बताएका छन ।
बसन्तीको पुर्व पतिले भारतमा आफू कार्यरत ठाउँमा संगै लैजान्छु अब देखि गालीगलोज गर्दिन भनेर फकाए पनि बसन्तीले नमानेर सम्बन्ध बिच्छेद गरेको अधिबक्ता गोपाल खनालले बताए । माईती गरिब र बोली दिने कोही नभएका कारण त्यत्तिकै सम्बन्ध बिच्छेद गर्न परेको बसन्तीले बताईन । उनले सम्बन्ध बिच्छेद गर्ने बेलामा कुनै महिला अधिकारकर्मीको उपस्थिती थिएन तर १० लाख क्षतिपूर्ती लिने तुलसाको अघिपछि थुप्रै महिला अधिकारकर्मीहरुको लाम थियो । पुर्व श्रीमान के.सीले उनका नाममा रुपन्देहीको घडेरी पास गरिदिएका रहेछन । घडेरी दिने की रु. १० लाख ? महिला अधिकारकर्मीको यस्तो अक्कराईमा परेपछि के.सी रु. १० लाख दिन राजी भए । सम्बन्ध बिच्छेदकका लागी अदालती प्रकृयामा जाने कागज बनाईसकेपछि रु. १० लाखका अलावा तुलसाले फेरी त्यो घडेरी पनि दिनुस भनेर फकाउँदै थिईन ।
तुलसाको पहिलो बिवाहित पति रोगी बिरामी र कुलतमा लागेको भन्दै ६ वर्षदेखी कुनै सम्बन्ध नभएका कारण मानसिक तनाव सहन नसकेर के.सीसंग गएको तर उता पनि मानसिक तनावका अलावा शारिरिक याताना समेत भोग्नु परेकोले सम्बन्ध बिच्छेद गर्नु परेको तुलसाको भनाई छ । यता रोगी भनिएका उनका पूर्व पति कृष्णबहादुर बस्नेतलाई दोस्रो पत्नीको रुपमा आएकी अर्की एउटी नारीले जिवनदान नै दिएकी छन । मृगौला फेल भएपछि बाँच्ने आशा नगरिएका कृष्णलाई कान्छी पत्नी गंगाले आफ्नो मृगौला दिएर नवजीवन दिएकी हुन । जेठी पत्नीको घृणा र तिरस्कार सहन नसकेर मादक पदार्थ सेवन गर्दा-गर्दै पत्थरीको बिमार सुरु भएको र त्यो छिप्पीदै गएपछि मृगौला फेल भएको कृष्णले बताए ।
एउटी महिलाबाट तिरस्कार सहे पनि अर्की महिलाबाट जीवनदान पाएको प्रति उनले कान्छी पत्नीलाई धन्यवाद दिए । "जेठीले कोठामा संगै सुत्न समेत दिदैनथिन । साँझ चुकुल लगाएर सुत्थीन त्यो चोटले जंड्याहा बनेको थिएँ अहिले जाँड रसक्सी, चुरोट सुर्ती केही खान्न । अहिले यि कान्छी पत्नीको मायाँले असक्षम पुरुष हुँ भन्ने हिनताबोध र तिरस्कारको त्यो चोट मबाट हराएको छ", कृष्णले भने । "७ कक्षा पढ्दापढदै बिहे गरेकी जेठी पत्नी तुलसालाई एस.एल.सीसम्म पढाईयो, अनमी पास गराएर जिल्ला स्वास्थ्य कार्यालयमा जागिरे भईन ।" उनले थपे, "कान्छी छोरी जन्मेपछि अर्कैसँग लागेर मलाई घृणा गरेकी थिईन, आज उनि आफै रोजेर गएर पो के पाईन ?"
कृष्णको मृगौला फेर्न बाबु देबबहादुर बस्नेतले चन्दा समेत उठाएका थिए । जव अर्खले ८ भाडगाँउकी गंगालाई बिवाह गराई दिए पछि उनैले मृगौला दिएर त्यो परिवारमा खुसी ल्याएकी थिईन । तर सानै देखि छोरीलाई जस्तो माया गरेर पढाएकी र जागिर समेत खान सहयोग गरिएकी जेठी बुहारी तुलसाले घात गरेको प्रति कृष्णका बाबु देबबहादुर बस्नेतको मन दुखेको छ । दाम्पत्य जिवनमा यस्तो घात प्रतिघात सामान्य मानिए पनि रु. १० लाख रुपैंया क्षतिपूर्ति गुल्मीका लागि ठुलै विषय हो । यसरी कतै रु. १० लाख त कतै बिना पैसा सम्बन्ध बिच्छेदका घटना घटिरहँदा महिला अधिकारकर्मीहरु बिच समिक्षाको बिषय बनेको छ । महिला अधिकारकर्मीहरुको पहुँचमा रहने महिलाले प्रयाप्त क्षतिपूर्ति पाउने र उनिहरुको पहुँच भन्दा टाढा रहेका महिलाहरु रित्तो हात सम्बन्ध बिच्छेद गर्न बाध्य हुनुपर्ने यो अवस्थाले एकातिर महिला पिडित त अर्को तिर ठुलो रकम असुलेर पुरुषहरुको ढाड मस्काउने प्रबृति रोक्नु पर्ने बुद्धिजिविहरु बताउँछन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग