गिट्टी कुटेर तीज: दुनियाँलाई तिजको रन्को, गरीबलाई छाक टार्ने
Published on
6:32:00 AM //
प्रेम सुनार
गुल्मी, असौज ३ । साउनदेखि नै एकथरी महिलाहरु तीजको गीतमा झुम्दै आएका थिए । गत केही दिनदेखि त साँझ पर्नु नै परेन । दिउँसै पनि झुमिरहेका हुन्थे महिलाहरु तिज गीतमा । सबैजना हर्षोल्लासका साथ नयाँ नयाँ लुगा र मिठो मिठो दरका साथ तिजमा रम्दै गर्दा तम्घासमा मजदुरी गर्ने एक गरीब महिलालाई भने न दर खाने दिनमा तिज लाग्यो न त तिजको दिनमै । उनी साँझसम्म तम्घास बजारको एक कुनामा बसेर गिट्टी कुट्दै थिईन् । उनलाई तिजले त रोक्दै रोकेन, मुसलधारे पानी पर्दा सबैजना ओतको खोजीमा थिए उनी एउटा कुनामा ओत लागेर गिट्टी कुटीरहेकी थिईन, ६० रुपैयाँ कमाउनका लागी ।

रिडी बजारकी जुना राई बालुवा चाल्दै छन् । श्रीमान पुर्व धरानका, छाडेर गएको १२ वर्ष भयो । फर्केर आएनन् । २ छोराहरु घाँडोको रुपमा जन्माएर गए । उनी पल्लिकोटस्थित जिसी परीवारकी छोरी हुन् । मिस्त्री काम गर्दा गर्दै विबाह भयो । ५ वर्ष बस्यो त्यसपछि गएको मान्छे फर्केर आएन । जुनाले भनिन् – मलाई त त्यो तिजको गीतहरु सुन्दा पनि आँशु आउँछ र एकान्त कुनामा आएर बालुवा चाल्दै छु ।
एकातिर मातेको साँढे जस्तो बाजी ठोकम् आउ जस्ता गितहरुमा कम्मर भाँचेका छन् महिलाहरु, अर्कोतर्फ धुलै र फुर्सै गिट्टी बालुवासंग लड्दै छन् । यो गत तिन दिनकै दृष्य हो । जुनाले त भरे खाने खर्चको समेत यसै बालुवा ठेकेदारले दिए खाने हो नत्र भोकै पनि बसिन्छ भनिन् । बाग्लुङ्गको बुर्तिबाङ्गबाट तम्घासमा घरेलु कामदार बस्न आएका एक दर्जन बढी १२ देखि बीसबाईसे उमेरसम्मका महिलाहरुलाई पनि यसपली तीज आएन । उनीहरु तम्घासकै विभिन्न घर र होटलहरुमा छन् । तपाईँहरुलाई तीज आएन भन्ने प्रश्नमा उनीहरु नाम दिन लजाउँछन् । फोटो खिच्न खोज्दा भागेर दौडिए । यो समाजको वर्गिय भिन्नता यस्तो छ जुन तिजका यि भिन्न भिन्न दृष्यले छर्लङ्ग पारेको छ । परिवर्तनशिल पक्षधर भन्छन्–“लाखौको गहना खोज्ने घरानिया महिलाहरुले ती बालुवा चाल्ने र गिट्टी फोर्ने महिलाहरुलाई फर्केर हेरुन् र आफ्नो हैसियत भन्दा पनि देश र समाजको हैसियत हेरेर तिज लगाएतका चाड पर्व मनाउन् ।”