Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राजेश हमालले धम्काउदै एक करोड मागे ज्ञानेन्द्रकी छोरीसँग

Published on 2:13:00 PM //

नयाँपत्रीकाबाट

पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणालाई धम्की दिने जोडीले तीनपटक एसएमएस गरेको तथ्य खुलेको छ । प्रेरणालाई सम्मानजनक रूपमा एसएमएस गर्नेले बिहे-खर्च जुटाउन धम्की दिएको पनि सकारेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणालाई धम्क्याउने रुकुमका राजेश हमाल र दाङकी प्रतीक्षारत्न शाहलाई प्रहरीले पक्राउ गरेको छ । हमाल र शाहले आफ्नो बिहे-खर्चको जोहो गर्न प्रेरणालाई धम्क्याएको पुष्टि भएको छ । शाह प्रेरणाकै निजी सचिवका रूपमा कार्यरत थिइन् ।

हमालले प्रेमिका शाहसँग विवाह गर्ने भनेर २४ माघमा पक्का भएपछि प्रेरणालाई मोबाइलमार्फत एक करोड माग गर्दै रकम नदिए ज्यान मार्ने धम्की दिएका थिए । 'पार्टी’का लागि चन्दा भन्दै एक करोड माग गर्ने हमाल र उनलाई साथ दिने शाह दुवै महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । तर, कुनै पनि एसएमएसमा हमालले आफ्नो पार्टी खुलाएका छैनन् ।

पक्राउ परेका हमाल रुकुम नुवाकोट गाविसनिवासी हुन् । पक्राउ परेपछि उनले आफ्नो परिचय यार्चागुम्बा व्यापारीका रूपमा दिएका छन् । उनी लामो समयदेखि गोंगबुको दाङ-सल्यान गेस्ट हाउसको कोठानम्बर ३०३ मा बस्दै आएका थिए । प्रहरीले उनको साथबाट राष्ट्रिय सन्देश पत्रिकाको उप-सम्पादकको परिचय-पत्रसमेत फेला पारेको छ ।

प्रतीक्षा शाह प्रेरणाकी स्वकीय सचिव हुन् । नातामा उनी राजबहादुर सिंहकी भतिजी हुन् । प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण दाङ तारीगाउँनिवासी शाहलाई राजबहादुरले नै प्रेरणाकी सहयोगीका रूपमा नियुक्त गरेका थिए । उनी डेढ वर्षदेखि प्रेरणाकी स्वकीय सचिवका रूपमा कार्यरत थिइन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले दुवैलाई १ मंसिरमा पक्राउ गरी कारबाहीका लागि काठमाडौं परिसर पठाएको छ । हमाल र शाहविरुद्ध मंगलबार नै प्रेरणाका तर्फबाट उनका श्रीमान् राजबहादुर सिंहले 'मेरी श्रीमती प्रेरणा सिंहलाई एसएमएस गरी ज्यान मार्ने धम्की दिएकाले कारबाही गरिपाऊँ' भन्दै परिसरमा जाहेरी दिइसकेका छन् । उनको जाहेरीका आधारमा प्रहरीले हमाल र शाहविरुद्ध कारबाही-प्रक्रिया सुरु गरेको छ ।

काठमाडौं परिसरको हिरासतमा रहेका हमालले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरिसकेका छन् । बयानका क्रममा उनले प्रहरीसँग भनेका छन्, 'माघमा विवाहको कुरा छिनियो । व्यापारमा १६/१७ लाख घाटा भयो । पैसा कमाउने बाटो केही थिएन । विवाह-खर्च जुटाउन एसएमएस गरेको, फसियो ।'

महानगरीय प्रहरी अपराध अनुसन्धान विभागका एसएसपी जयबहादुर चन्दका अनुसार हमालले ९८०८३१८०३१ नम्बरबाट २४ कात्तिक बिहान ११ बजे प्रेरणा सिंहको मोबाइलमा एसएमएस गरेका थिए । उनले आफ्नो पहिलो एसएमएसमा पार्टीका लागि चन्दा भन्दै एक करोड माग गरेका थिए ।

उनले निक्कै शिष्ट भाषामा एसएमएस पठाउँदै भनेका छन्, 'प्रेरणा सरकार ! नमस्कार, तपाईंले हाम्रो पार्टीलाई सहयोग गर्नुपर्‍यो । तपाईंको सचिवलाई मेरो मोबाइल नम्बर दिएर एक करोडका साथ गोदावरीमा पठाउनुहोला । नत्र तपाईंका श्रीमान् राजबहादुर सिंह र छोराको मौत हुनसक्छ ।'

धम्कीपूर्ण एसएमएस आएपछि सिंह परिवार तत्काल प्रहरीको सम्पर्कमा पुगेको थियो । एसएसपी चन्दले भने, 'प्रेरणाजीलाई एसएमएसबाट धम्की आयो भन्ने खबर महाशाखामा आएलगत्तै अनुसन्धान सुरु गरेका थियौँ ।'

प्रहरीले अनुसन्धानको प्रारम्भ प्रेरणाको मोबाइलमा एसएमएस आएको मोबाइल नम्बरबाट सुरु गरेको थियो । अनुसन्धानका क्रममा धम्की दिन प्रयोग भएको सिम एक महिनाअगाडि मात्र दीपक हमालका नाममा झिकिएको फेला परेको थियो ।

हमालले सिम पहिलोपटक प्रेरणालाई धम्क्याउन प्रयोग गरेका थिए । प्रहरी सिमधनीको खोजीमा जुट्दाजुट्दै दुई दिनपछि २६ कात्तिकमा पुनः प्रेरणाको मोबाइलमा दोस्रो एसएमएस आयो । दोस्रो एसएमएसमा एक करोड चन्दा रकमका बारेमा स्मरण गराउँदै लेखिएको थियो— सरकार ! हाम्रो एसएमएस पाउनुभयो कि भएन ? एसएमएस पाएर पनि नटेरेको ? श्रीमान् र छोराको माया छैन कि क्या हो ?

अनुसन्धानमा जुटेको प्रहरीले प्रेरणालाई धम्क्याउन प्रयोग भइरहेको मोबाइल नम्बरबाट २७ गते नेपालगन्जमा फोन गरेको विवरण पत्ता लगायो । यहीबीचमा नेपालगन्जबाट हमालको मोबाइलमा 'कल मी' भन्ने सन्देशसमेत आएको थियो ।

अनुसन्धान क्षेत्र काठमाडौंबाट नेपालगन्जतिर तेर्सिएपछि अपराध महाशाखाबाट प्रहरी निरीक्षकको टोली नेपालगन्ज हान्निएको थियो । २९ गते प्रेरणाको मोबाइलमा पुनः तेस्रो एसएमएस आयो । जसमा माग गरिएको चन्दा रकम नदिए परिणाम राम्रो नहुने चेतावनी दिइएको थियो । एसएमएसमा लेखिएको थियो, 'तपाईंले एसएमएसको वास्ता गर्नुभएन । तपाईंलाई श्रीमान् र छोराको माया रहेनछ । त्यसको परिणाम राम्रो हुन्न ।'

प्रहरी हमालले कल गरेको नम्बरका आधारमा अनुसन्धानका लागि नेपालगन्ज पुग्यो । नेपालगन्जको कोहलपुरमा दस जोड २ पढ्दै गरेका दीपक हमाल फेला परे । तर, उनले मोबाइल नम्बर आफ्ना नाममा भए पनि काठमाडौंमा बस्ने काकाले प्रयोग गर्ने गरेको बताए ।

अनुसन्धान-प्रक्रियामा प्रहरी व्यापारी बनेको थियो । एसएमएस गर्ने मूल व्यक्तिसम्म पुग्न प्रहरीले अभियुक्त हमालको भतिजालाई नै काकालाई फोन गरेर 'व्यापारीहरू भेट्न खोजिरहेका छन्' भन्ने सन्देश दिएका थिए ।

योजनाअनुसार नै अनुसन्धानमा जुटेका प्रहरीले हमाललाई फोन गरे । उनले आफू दाङमै भएको बताएका थिए । तर, पुनः भतिजालाई फोन गराउँदा उनी काठमाडौंमै रहेको रहस्य खुलेपछि नेपालगन्ज पुगेको प्रहरी-टोलीले काठमाडौंको प्रहरी-टोलीलाई हमालका बारेमा जानकारी गराएको थियो ।

काठमाडौंको टोलीले १ मंसिरमा व्यापारिक कामका सिलसिलामा भेट्न हमालसँग आग्रह गर्‍यो । उनले व्यापारी बनेका प्रहरीलाई गोपीकृष्णछेउमा बोलाए । तत्काल महाशाखाको टोली हान्निएर गोपीकृष्ण पुग्यो । 'हाम्रा केटाहरू गोपीकृष्ण पुग्दा सँगै केटी (प्रतीक्षारत्न) पनि थिइन् । दुवैलाई पक्राउ गरी केरकार गर्दा उनी प्रेरणाकी स्वकीय सचिव रहेको रहस्य खुल्यो,' एसएसपी चन्दले भने ।

पक्राउ परेलगत्तै हमालले धम्क्याउन प्रयोग भएको सिम आफ्नो भएको स्वीकार गरे पनि सो सिम हराएको दाबी गरेका थिए । उता, हमालसँगै पक्राउ परेकी प्रतीक्षा आफूलाई केही थाहा नभएको बताइरहेकी थिइन् । केरकारका क्रममा हमालले २ मंसिरमा आफ्नो अपराध स्वीकार गर्दै एसएमएस आफैँले पठाएको बयान दिएका थिए ।

प्रहरीले अन्य सहयोगीको खोजी गरे पनि हमालले प्रेरणा शाहलाई आफू एक्लैले धम्क्याएको बताएका छन् । उनले यार्चागुम्बाको व्यापारमा घाटा लागेको र विवाहको मितिसमेत तोकिएकाले रकमको जोहो गर्न प्रेरणालाई धम्क्याएर रकम असुल्ने प्रयास गरेको बताएका छन् ।

प्रेरणाकी स्वकीय सचिव प्रतीक्षाले भने घटनाका बारेमा आफूलाई कुनै जानकारी नभएको दाबी गरिरहेकी छिन् । तर, पहिलो एसएमएसमै हमालले एक करोड रकम स्वकीय सचिवमार्फत गोदावरीमा पठाउन भनेकाले एसएमएसकाण्डमा उनीसमेत सहभागी भएको निष्कर्ष निकालेर प्रहरीले दुवैविरुद्ध मानव-अपहरणमा कारबाही-प्रक्रिया अगाडि बढाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग