Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मेरो बारेमा

Published on 6:07:00 AM //


म को हुँ?
म सन्जु काउछा मगर हुँ । खास मेरो नागरिकता, पासपोर्ट र शैक्षिक प्रमाणपत्रहरुमा अर्कै नाम भए पनि घर परिवार, साथीभाइ र इष्टमित्रहरुले मायाले बोलाउने नाम भने सन्जु नै हो । गुल्मीन्युजका पाठक मित्रहरुले पनि मलाई सन्जु नै भनेर चिन्नुहुन्छ । 

मेरो घर कहाँ हो? म कहाँ बस्छु ?
मेरो बुवा भारतीय सेनाको जागिरको क्रममा मेरो जन्म भारतको कुनै स्थानमा भएपनी म खेले-हुर्केको ठाउँ गुल्मीको हरेवा अनी तुराङ, मजुवा हो । अहिले पनि मेरो घर मजुवामै छ । तर म भने हाल देश बाहिर छु ।

म के गर्दै छु?
म अहिले बिजनेस एड्मिनिस्ट्रेसन पढ्दै छु । बिदेशी भुमिमा यसै खान बस्न त कस्लाई पुग्छ र ? त्यही भएर हात मुख जोर्न सानो तिनो काम पनि गर्दै छु । पढेर र काम गरेर बचेको समय गुल्मीन्युज डट कममै बित्छ ।

म कती बर्षको भए?
मेरो जन्म अगस्त १४ मा भएको हो । तर साल चाँही गोप्य नै राखौँ है त ! पुरा उमेर पत्ता लगाउने जिम्मा तपाईँको । 

मैले कती पढेको छु ?
म अझै पनि पढ्दै छु । नेपालमा पाँच बर्षे आमसन्चार तथा पत्रकारिताको पढाई पस्चात, फिन्ल्यान्डबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातक गरेको छु । अहिले भने स्नातकोत्तरको तैयारी गर्दै ।

कसरी सुरु भयो गुल्मीन्युज डट कम?
शुरु-शुरुमा त रहरै रहरमा ब्लगरको नि:शुल्क ब्लगस्पट डट कममा ठेगाना दर्ता गराइयो । काठमाडौंमा फुर्सदको समय कटाउने गरी ब्लग खोलेको थिए । हप्तामा मुश्किलले २-३ पटक अप्डेट हुन्थ्यो । पछी बिदेश तिरबाट धेरै जनाले हेर्न थालिसक्नुभएको रहेछ अनी त बन्द गर्नै मिलेन । मगरभाई डट ब्लगस्पट डट कम, गुल्मी दर्शन डट टिके हुँदै अहिले डट कम र डट नेटमा सन्चालित छ गुल्मीन्युज । 

कहिले देखी शुरु भएको हो त गुल्मीन्युजको यात्रा?
२००७ को जुलाई देखी

म किन चलाऊछु गुल्मीन्युज ? दाम, नाम या कामका लागि ?
के का लागि भन्नु खोइ ? गुल्मीन्युज त नशा बनिसकेको छ । दामका लागि भनुँ भने यत्रो चार बर्षमा मैले यो ब्लगबाट अझसम्म १ सुको हात पारेको छैन । बरु उल्टै खल्ती बाट झिकेर खर्च गर्नु परेको छ । मासिक ४०-५० युरो त ईन्टरनेट बिल मै खर्च हुन्छ त्यस बाहेक पनि डोमेन रजिस्ट्रेसन, नविकरण लगायतका खर्च त छँदै छ ।

अप्डेट: अहिले भने गुल्मीन्युज डट कममा राखिएका गुगल एडहरुबाट गुल्मीन्युज सन्चालनमा केही सहयोग प्राप्त हुन थालेको छ । तपाईंहरुको १-२ क्लिकले गुल्मीन्युज डट कमको सन्चालनमा ठुलो सहयोग पुर्याउन सक्दछ जसबाट तपाईंहरु पनि नियमित रुपमा आफ्ना गाउँठाउँका समाचारहरु निरन्तर पढिरहन पाउनुहुनेछ ।

अर्को कुरा, मैले नामै कमाउछु, ठुलो मान्छे बन्छु भनेर यो गुल्मीन्युज चलाएको पनि हैन । तर पनि भिजिटरहरुले सम्झिनुहुन्छ बेला बेलामा फोन गरेर, एसएमएस गरेर, ईमेल गरेर । उहाँहरु प्रती आभारी छु ।

अब कुरा आयो कामका लागि, कुनै उद्देश्यका साथ घर-परिवार र देशै छोडिसकेपछी काम कामका लागि मात्र नभएर केही अर्थमा मामका लागि पनि हुनुपर्‍यो नि होइन र ?

गुल्मीन्युज लागी सहयोग ?
सबै भन्दा ठुलो सहयोगी त तपाईं पाठकहरु नै हुनुहुन्छ । नियमित रुपमा गुल्मीन्युज भिजिट गरिदिएर अनी सल्लाह सुझाबहरु दिएर सहयोग पुर्याइराख्नु भएको छ । त्यसपछी गुल्मीमै रहने संचारकर्मी र संचारमाध्यमहरुले पनि ठुलै गुण लगाउनुभएको छ, गुल्मीन्युजलाई । अरु सहयोग अनियमित रुपमा फाट्टफुट्ट साइटमा रहेका गुगल विज्ञापनमा हुने क्लिक ।

गुल्मीन्युजका लागी आवश्यक सामाग्री कसरी उपलब्ध हुन्छ ?
गुल्मीन्युजका शुभचिन्तकहरुको स्वंसेवीय रिपोर्टिङ प्रमुख माध्यम हो । कान्तिपुर गुल्मीका घनश्याम गौतम, जनार्दन घिमिरे, प्रेम सुनार, गगनशिला खड्का, पिएम मगर, तारा भुषाल, बिष्णु पौडेल लगायतका मित्रहरुले gulmidarshan@gmail.comमा सहयोग स्वरुप पठाइदिनुभएका सामाग्री नै गुल्मीन्युजमा प्रकाशित हुने गर्दछन । त्यसबाहेक नेपाली राष्ट्रिय दैनिकहरु र अन्लाईन पोर्टलमा प्रकाशित सामाग्रीहरु पनि स्रोत खुलाएर गुल्मीन्युजमा राखिन्छ ।

कस्ता सामाग्रीहरु हुन्छन गुल्मीन्युजमा ?
गुल्मी र गुल्मेलीहरु प्रती पूर्ण रुपमा समर्पित यस ब्लगमा गुल्मीका ग्रामीण गतिबिधिहरु, बिकास निर्माण र जनचासोका बिषयहरु, जिल्ला जानकारी, सुचना, सामाजिक घटनाक्रमहरु लगायतका थुप्रै जानकारीमुलक तथा मनोरन्जनात्मक सामाग्रीहरु समेटिन्छन ।
यसै गरी गुल्मीन्युजमा नेपाली टि.भी शोहरु, भिडियो समाचारहरु, अन्तर्वाताहरु, टक शो, राशिफल, रेडियोहरु, रोचक प्रसंग लगायत थुप्रै मनोरन्जनका खुराकहरु पनि समेटिनेछन । 

तपाईं के गर्न सक्नुहुन्छ, गुल्मीन्युजको लागी ?
ब्लग, समाचार, फोटो, भिडियो, जानकारी, साहित्यीक रचना आदी पठाउन सक्नुहुन्छ । त्यसैगरी कमी कमजोरी औँल्याइदिएर सल्लाह, सुझाब, गाली या ताली पनि पठाउन सक्नुहुनेछ । यसका अलावा गुल्मीन्युज डट कममा देखिने बिज्ञापनहरुको फाट्टफुट्ट क्लिक गरिदिएर पनि सहयोग गर्न सक्नुउनेछ । साथै अन्य जुनसुकै किसिमको सहयोगको लागि पनि बाटो खुल्ला छ ।

मलाई कसरी संपर्क गर्ने त ?
फोन वा एसएमएस गर्न: +३५८४४२०२१३८५
Skype: gulminews.com
ईमेल गर्न: gulmidarshan@gmail.com
                 info@gulminews.com
चिठी पठाउन:  त्यसको लागि पहिला मलाई ईमेल पठाउनुहोला अनी तपाईंकै ईमेलमा दिन्छु नि मेरो ठेगाना ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग