Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लोपोन्मुख बालीको संरक्षणमा जुटे गुल्मेली कृषक

Published on 7:25:00 PM //

सरकारी संरक्षण अभावमा लोपोन्मुख हुँदै गएको बहुउपयोगी कोसेबाली मस्याङको संरक्षण गर्न यहाँका कृषक जुटेका छन् । पोषण युक्त दानादार बालीका रूपमा चिनेने मस्याङ खेती लोपोन्मुख बाली बन्दै गएको छ । जिल्लाका अधिकांश गाविसमा लगाइने यो बाली पछिल्ला वर्ष हराउँदै गएपछि सिमीचौर र दरबार देवीस्थानका किसान संरक्षणमा जुटेका हुन् । उनीहरूलाई गैरसरकारी संस्था लि-वर्डले प्राविधिक सहयोग गरेको छ । प्रोटिनको महत्त्वपूर्ण स्रोत मानिने यो बालीको झ्याङ र कुसाउरो -कुनाउरो) गाईवस्तुका लागि समेत पोषिलो अहारा हो । यसमा प्रोटिन र कार्वोहाइड्रेडका अतिरिक्त मिथायोनिन तथा भिटामिन पनि प्रशस्त मात्रामा पाइन्छ । कुपोषणको समस्या भएको ठाउँमा मस्याङलाई पोषक तत्त्व आपूर्तिका रूपमा समेत प्रयोग गरिन्छ । कम बर्षा हुने, रुखो तथा पाखाबारीमा पनि राम्रो उत्पादन हुने भए पनि यो बाली यहाँका पूर्वी क्षेत्रका शान्तिपुर, हर्राचौर, हरेवा, वामिटक्सार, आँपचौर पश्चिम क्षेत्रका अमरपुर, पुर्कोटदह लगायतका गाविसमा समेत लगाइन्छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यो खेती व्यावसायिक रूपमा भन्दा पनि खेतका डिलहरूमा धानखेतीसँगै लगाउने गरिन्छ । कति उत्पादन हुन्छ भन्ने बारेमा भने कुनै तथ्यांक कार्यालयसँग छैन । पौष्टिक आहारदेखि बहुउपयोगी हुने यो खेतीको महत्त्व बुझेपछि आफूहरू यसको संरक्षण गर्दै अहिले बीउ उत्पादनमा जुटेको मालिका बहुउद्देश्यीय कृषक समूह सिमीचौरका अध्यक्ष एवं मस्याङ कृषक कृष्णप्रसाद अर्यालले बताए । सिमीचौर गाविसमा मात्रै २५ घरका किसानले परीक्षणका रूपमा मस्याङ खेती गरेका छन् । दरबार देवीस्थानमा पनि ७० घर परिवारले परीक्षणकै रूपमा खेती गरेका छन् । लि-वर्डका सामुदायिक संगठक बलभद्र पौडेलका अनुसार पछिल्लो समयमा सरकारले यस खेतीप्रति प्राविधिक सहयोगबाहेक सबै कुरा कटौती गरेको छ । दानादार कोसे बाली भएको र बर्षा कम हुने तथा रुखो पाखाबारीमा समेत हुने भएकाले धेरै कृषक यस खेतीतर्फ आकषिर्त भएको लि-वर्डले जनाएको छ । यो बाली अन्तरप्रणाली अन्तर्गत पनि उत्पादन हुने बाली हो । 'मकैभित्र लगाए पनि हुने रहेछ,' सिमीचौरकै अर्की कृषक सरिता विकले भनिन, 'राम्रो हुन्छ भनेर निःशुल्क बीउ दिएपछि लगाएकी हुँ ।' मालिका बुहउद्देश्यीय संस्थाका अनुसार सिमीचौर गाविसमा मात्र यस वर्ष झन्डै ३५ किलो बीउ उत्पादन भएको छ । परीक्षणका रूपमा २ सय ६० जातका बीउ लगाएकामा त्यसबाट छनोट भएका १२ जातका बीउलाई मात्र अहिले 'मातृ परीक्षण' का रूपमा लगाएको उनीहरूले बताए । पोषणयुक्त मस्याङबाट गाउँ घरमा बटुक, बिरौला, मस्यौरा, दाल, क्वाँटी, रोट, खिचडी, फुरौलालगायत परिकार बनाउन सकिन्छ । स्रोत: कान्तिपुर दैनिक

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग