Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

औषधि बाटैमा हरायो

Published on 11:01:00 AM //

घनश्याम गौतम
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका लागि विभागबाट पठाइएको दुई लाख रुपैयाँ मूल्यको औषधि बाटोबाटै हराएको छ । औषधि व्यवस्था विभागले ठेकेदारमार्फत गत साता १२ कार्टुन औषधि पठाएको थियो । सदरमुकाममा औषधि आएको थाहा पाए पनि फेला पार्न नसकेको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।

'तम्घास बसपार्कमा औषधि आएको थाहा पाएका हौँ, अझै फेला परेको छैन,' केन्द्रका वैद्य रुद्रनारायण महतोले भने । विभागले एक वर्षका लागि आवश्यक औषधि एकैपटक पठाउने गर्छ । औषधि व्यवसायीले भने साताअघि बसपार्कमा आयुर्वेदिक औषधि अलपत्र परेको जानकारी पाएको बताएका छन् । 'औषधि अलपत्र परेको जानकारी पाएर मैले कार्यालयमा समेत खबर गरेँ,' औषधि व्यवसायी गणेश श्रेष्ठले भने । बसपार्कमा औषधि आएपछि भरियाले श्रेष्ठलाई औषधि आएको बारेमा जानकारी गराएका थिए । श्रेष्ठका अनुसार पाल्पादेखि तम्घाससम्म औषधि ढुवानी गरेका बसका चालकले ठेकेदारले पाल्पामा बसमा औषधि चढाउँदा भाडाबापतको रकमसमेत दिएका थिएनन् । बसचालकले बसपार्कमै औषधि झारिदिएको श्रेष्ठलाई जानकारी गराएका थिए ।

केन्द्रका कर्मचारीका अनुसार विभागले कार्यालयसम्म औषधि ढुवानी खर्चसमेत नदिँदा समस्या परेको बताएका छन् । कार्यालय बसपार्कबाट २ किलोमिटर टाढा पर्छ । विभागबाट आएको औषधि हराएपछि कार्यालयमा औषधि अभाव भएको छ । केन्द्रमा दैनिक २५ जना बिरामी स्वास्थ्य परीक्षणका लागि आउने गर्छन् । औषधि नआएपछि पूर्तिघाट, रिडी र पिपलधारा उपकेन्द्रमा पनि औषधि अभाव भएको छ । 


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग