Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छोरा नकुट्न आग्रह गर्दा, श्रीमान्ले काट्यो श्रीमतीको खुट्टा

Published on 3:55:00 PM //

गगनशिला खड्का
बालबालिकालाई कसैले यातना दिए सम्झाउनुपर्नेमा गुल्मीमा एक बाबुले छोराछोरीलाई मात्र कुटेका छैनन्, श्रीमतीको खुट्टासमेत काटिदिएका छन् । छोरालाई नकुट्न आग्रह गर्दा श्रीमतीको खुट्टा काट्ने श्रीमान् हुन्- गुल्मी सदरमुकामनजिकैको हस्तीचौर गाविस- १ मल्दीका कृष्णबहादुर महत । छोराछोरीलाई नकुट्न आग्रह निहुमा उनले आफ्नै श्रीमती तिलकुमारीको खुट्टामा खुर्पाले छप्काएका हुन् । हाड देखिनेगरी श्रीमतीको खुट्टा काटेपछि उनी फरार छन् ।

यसअघि श्रीमान्को पटक-पटकको कुटाइ सहन नसकी ६ महिना माइतीमै बसेर बुधबार मात्र तिलकुमारी घरमा आएकी थिइन् । बिहीबार बिहानै विनाकारण छोराहरूलाई श्रीमान्ले पिटेको उनले बताइन् । छोराहरूलाई नकुटन् आग्रह गर्दा श्रीमान्ले आफैंलाई आक्रमण गरेको बताउँदै तीन छोराकी आमा उनले भनिन्, 'बढ्ता बोल्ने होइन भनेर खुर्पाले खुट्टामा हिर्काउनुभयो ।' जिल्ला अस्पताल तम्घासको शय्यामा रहेकी उनले थपिन्, 'लगातार खुर्पाले हानेको हान्यै गरेपछि म बेहोस भएछु, छिमेकीले अस्पताल ल्याएछन् ।'

कुरुवा बसेकी तिलकुमारीकी जेठानी सीताले घरमा सधैं झगडा भइरहने भएकाले छिमेकीले पनि घटना भएको दिन चासो नदिएको बताइन् । 'देवर-देउरानीको झगडा हुँदै थियो, सधैंको झगडा त हो नि भन्दै म मल बोकेर बारीतिर गएँ, बारीमा नपुग्दै खबर आयो देउरानी त मर्नु न बाँच्नु छन् रे,' घटनाका बारेमा सीताले जानकारी दिइन् । आमा अस्पतालको शय्यामा पुगेपछि घरमा भएका छोराहरूको बिचल्ली भएको छ । अस्पतालको शय्यामा कान्छो छोरालाई सुमसुम्याउँदै तिलकुमारीले भनिन्, 'घरमा कोही छैन, सात र चार वर्षका दुई छोरा मात्रै छन्, तिनलाई कसले हेरचाह गरेको होला ?'

जिल्ला असपतालले घाइते तिलकुमारीलाई बुटवल रिफर गरेको छ । तर, खर्चको अभावले जिल्लाबाहिर लैजान नसकेको उनका ससुराले बताए । 'गाउँलेसँग चन्दा उठाएर ल्याएको तीन हजार गाडी रिजर्भ गरेर यहाँसम्म ल्याउँदा र औषधी किन्दा सकियो,' बुहारीको हेरचाहका लागि आएका उनले दुःखेसो पोखे, 'डाक्टरले बुटवल लैजान भनेका छन्, कसरी लैजाने हो, समस्या भएको छ ।' जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक राजेन्द्रकुमार पालिखेले फरार कृष्णको खोजी भइरहेको पनि जानकारी दिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग