Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माओवादीले अझै छोडेन गविस भवन र सर्वसाधारणको घरजग्गा

Published on 3:08:00 PM //

घनश्याम गौतम

पार्टीको प्रतिबद्धताविपरीत माओवादीले गाविस भवनसहित गुल्मीका तीन सर्वसाधारणको घरजग्गा अझै कब्जामा राखेका छन् । माओवादीले ह्वाङ्दी गाविस कार्यालय रहेका दुईवटा भवन कब्जामा लिएर कार्यालय सञ्चालन गर्दै आएका हुन् । त्यस्तै नयाँगाउँ गाविसमा दुईजनाको र विकट नेटा गाविसमा एकजनाको कब्जामा लिएको घरजग्गा छाडेका छैनन् । गाविसका दुवै भवनका एक/एक तला भाडामा दिएर आएको रकमसमेत बर्षौदेखी पार्टीले प्रयोग गर्दै आएको छ ।
माओवादीले भवनको मासिक १ हजार १ सय भाडा पार्टीको काममा प्रयोग गर्ने गरेका हुन् । स्थानीय बासिन्दाहरूका अनुसार माओवादीले दुईमध्ये एक भवन २०५७ सालदेखि र अर्को २०६३ सालदेखि कब्जामा लिएका हुन् । दुई भवनमध्ये एकको तल्लो तलामा हरिप्रसाद अर्याल र भानसिंह बुढाले पसल सञ्चालन गर्दै आएका छन् । उनीहरू दुवैले गाविसको नामबाट मासिक ५ सय तिर्ने गरे पनि रकम माओवादी गाविस इन्चार्ज कृष्णबहादुर घर्तीले उठाउने गरेका छन् । त्यस्तै अर्को भवनमा गोविन्द खड्काले पसल सञ्चालन गर्दै आएका छन् । उनले पनि मासिक ६ सय गाविसको नामबाट माओवादीलाई नै रकम बुझाउने गरेका छन् ।
त्यस्तै माओवादीले नेटा गाविसमा पनि स्थानीय बाँझीराम पुनको घर २०५७ सालदेखि कब्जामा राखेका छन् । छोराहरू सेनामा भर्ती गराएको आरोपमा कब्जामा लिएको उनको घर र १० रोपनी जग्गा अहिलेसम्म कब्जामै छ । पुनको घरमा स्थानीय माओवादी नेता दुजमान पुन बस्दै आएका छन् । सदरमुकाम नजिकै रहेको नयाँगाउँ गाविसमा पनि जयप्रताप मल्ल र धमेन्द्र मल्लको घरजग्गा माओवादीले अझै फिर्ता गरेका छैनन् ।

Related Posts

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग