Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पानी लिन छिमेकी जिल्लामा

Published on 2:11:00 AM //

Gulmi Darshan
खानेपानी अभाव टार्न गुल्मीका बासिन्दा छिमेकी अर्घाखाँची जिल्लामा पुग्ने गरेका छन् । खानेपानीमा पनि राजनीति घुसेपछि अर्खले गाविस-२ अत्तरकाँडाका बासिन्दा दैनिक साँझ पानी लिन अर्घाखाँचीको मरेङ जान बाध्य भएका हुन् । गुजाराका लागि दिउँसो काममा र साँझ परेपछि मरेङमा पानी भर्न पुग्नु अत्तरकाँडाका बासिन्दाको दैनिकी हो । खानेपानीमा राजनीति घुसेपछि काकाकुलको अवस्था आएको स्थानीय गोपाल मरासिनीले बताए । 

रेसुंगाबाट तम्घास गाविसको नेटा हुँदै अर्खले-२ र ३ का लागि ०४५ सालमा खानेपानी योजनाको सर्भे भएको थियो । तर, तम्घास-९ नेटासम्म मात्र खानेपानी आपूर्ति गरिएको छ । राजनीतिक आस्थाका कारण पानी नपाएको बताउँदै मरासिनीले गुनासो गरे, 'एमाले समर्थक भएकै कारण हामीले अहिलेसम्म खानेपानीका लागि दुःख पाएका छौँ ।' उनले कांग्रेस कार्यकर्ताले गाउँमा योजना ल्याउन नदिएको आरोप पनि लगाए । स्थानीय बासिन्दाले यसअघि गाउँनजिकैको कुवाबाट खानेपानीको जोहो गरेका थिए । केही समयदेखि कुवा सुकेपछि उनीहरू छिमेकी जिल्लामा जान थालेका हुन् । अर्घाखाँचीको मरेङ्ग-८ स्थित कुवामा अत्तरकाँडाका बासिन्दा पानी लिन जान्छन् । आसपासका बासिन्दाको खानेपानीको स्रोत भएकाले कुवामा पनि पालो कुर्नपर्ने गृहिणी भागीरथा मरासिनीले बताइन् । उनले भनिन्, 'एक गाग्री पानी भर्न छिमेकी जिल्ला पुग्दा पनि लामो समय पालो कुर्नुपर्छ ।' उनका अनुसार सो कुवामा दिनरात पानी भर्नेको भीड लाग्छ । 

सम्बन्धित निकायमा समस्याका बारेमा जानकारी गराउँदा पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ । मौखिक तथा लिखित जानकारी गराए पनि कुनै निकायले चासो नदिएको स्थानीय बाबुराम पौडेलले बताए ।
Source: NayaPatrika

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग