Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफ्नो भवन पाटी बनाएर गाविस कार्यालय भाडामा

Published on 2:22:00 AM //

गगनशिला खड्का

आफ्नै पक्की भवन बेवारिसे छाडेर हस्तीचौर गाविसले घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ । जनयुद्धकालमा माओवादीले भत्काएका झ्यालढोका सामान्य मर्मतसमेत नगरी गाविसले चर्को भाडा तिरेर कार्यालय सञ्चालन गरेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

सामान्य मर्मत गरेर उतिवेलैदेखि सञ्चालन गर्न सकिने सो भवन अहिले पाटीमा परिणत भएको छ । नौ कोठा र एउटा ठूलो हल रहेको पक्की र जिल्लाकै अन्य गाविसमध्येको ठूलो लागतमा निर्माण गरिएको सो नमुना भवन सामान्य झ्यालढोका नफेरिँदा अहिले बेवारिसे भएको हो ।

करिब १३-१४ लाख लागतमा निर्मित सो भवन माओवादीले जलाएको भनिए पनि झ्यालढोकाबाहेक अन्य भौतिक संरचना खासै क्षति भएको छैन । छत, गारो, प्लास्टर र रंगरोगनसमेत बिग्रेको छैन ।

सो भवन अहिले कुकुर-बिरालाको वासस्थान र कतिपय बटुवाको शौचालयका रूपमा समेत प्रयोग हुँदै आएको छ । मर्मतसम्भार र प्रयोग नहुँदा अहिले भवनपरिसरमा दुर्गन्ध फैलिएको छ । तत्कालीन समयमा १३-१४ लाखमा बनेको भए पनि अहिले यो भवन निर्माण गर्न ५० लाख लाग्ने पूर्वगाविस अध्यक्ष द्रोणबहादुर कुँवरले बताए ।

'माओवादीले जलाएका सबै गाविस भवन पुनर्निर्माण गर्ने सरकारको नीति आउला र बनाउँला भनेर पर्खेका हौँ, खासै ठूलो खर्च पनि लाग्दैनथ्यो, यस्तो भवन थोत्र्याउन त नहुने हो, खै किन ढिला गरेको हो सरकारले ?' उनले भने ।

हस्तीचौर गाविस सचिव कृष्णबहादुर रायमाझीले पनि भवन मर्मतका लागि केन्द्रकै नीति र बजेट पर्खेर बसेको बताए । 'गाविसको अनुदान रकमबाट मर्मतसम्भार गर्ने कुरा भएन । जहिले केन्द्रको नीति आउँछ, त्यहिले बनाउँला भनेर बसेका छौँ,' उनको भनाइ छ ।

हालसम्म कार्यालय सञ्चालनका लागि तिरेको भाडाको रकमले नै अहिलेसम्म भवन मर्मत भइसक्ने भए पनि सरकारको मुख ताकेर जनतालाई दुःख दिएको स्थानीयवासी बताउँछन् । गाविस भवन झ्यालढोका फेरेर प्रयोगमा ल्याउन सकिने बताउँदै स्थानीय हिमालय उच्च माध्यमिक विद्यालयका शिक्षक पदम पाण्डेले भने, 'कमसेकम टिनकै पाता वा काठको सेप्टीले झ्यालढोका बारबन्देज मात्र गरेको भए पनि जीर्ण र दुर्गन्धित हुनबाट त जोगिन्थ्यो ।'

Tags:

1 comment

  1. Hastichaur ka neta,buddijivi bhanauda sadhai aruko mukh takne ta ho ni. baru aru jirna bandai gayema bacheka kehi kath,rud,jasta pata ghar ko lagi kam lagthyo bhani sochi raheka holan. Ashok Kunwar gurba hal:Doha

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग