Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गयल शुल्क साथीको पढाइमा

Published on 1:43:00 PM //

घनश्याम गौतम

आर्थिक अभावमा आफ्नै सहपाठीले पढ्न नसके के गर्ने ? गुल्मीको एक विद्यालयका विद्यार्थीहरूले भने गयल शुल्क उठाएर उपाय निकालेका छन् ।

सदरमुकाम नजिकै उपल्लो तम्घास माविको कक्षा ६ का विद्यार्थीले आफ्नै साथी तेजबहादुर विश्वकर्माको पढाइखर्च जुटाएका हुन् । ५ कक्षा उत्तीर्ण गरेपछि तेजबहादुर विश्वकर्मा विद्यालय आउन छोडेका थिए तर कापी, कलम, किताब, टाइ, बेल्ट सबै साथीले नै किनिदिएपछि उनी नियमित विद्यालय आउने गरेका छन् । यसका लागि २ सय ४० रुपैंयाँ खर्च भएको थियो । यो रकम विद्यार्थीले कक्षा ५ मा संकलन भएको गयल शुल्कबाट उठाएका थिए ।

विद्यार्थीहरूले कक्षामा अनुपस्थितबाट प्रतिदिन २ रुपैंयाँ गयल शुल्क उठाउने गर्छन् । कक्षा ६ मा अहिले ४७ विद्यार्थी छन् । ड्रेस फेरिएपछि तेजबहादुरलाई संकट थपिएको छ । सबैले नयाँ ड्रेस लगाइसक्दा उनले किन्न सकेका छैनन् । 'अब उठेको पैसाले उसको डे्रस किन्ने सल्लाह भएको छ', सँगै बेन्चमा बसेका रुद्रमणि पन्थीले भने । कक्षा ५ मा उठेको मध्ये अझै १ सय ६३ रुपैंयाँ बाँकी छ । यसले उनलाई अंग्रेजी व्याकरण किनिदिने भएका छन् ।

'आमाले कापी, किताब दिन नसकेपछि विद्यालय आउन छोडेको थिएँ', तेजबहादुरले भने, 'साथीहरूले सहयोग गर्ने भनेपछि फेरि आएँ ।' उनी कक्षाका दोस्रो विद्यार्थी हुन् । 'पढाइमा राम्रो र इमानदार भएकाले पनि सहयोग गरेका हुन्,' शिक्षिका मिना श्रीपालीले भनिन् । ६ वर्षअघि पहिरोले दुविचौर गाविसमा रहेको घर र जग्गा बगाइदिएपछि तेजबहादुरको परिवार सुकुम्बासी भएको थियो । तम्घास भुजेलखर्कको सार्वजनिक जग्गामा बस्दै आएका उनको परिवारको खर्च आमाको मजदुरीबाट चलेको छ ।

अर्की विद्यार्थी सन्ध्या नेपालीले उसले पढ्न चाहेसम्म सबै साथीहरू मिलेर पढाउन तयार रहेको बताइन् । 'हामी सबै मिलेर सघाउन तयार छौं,' उनले भनिन् । सकेमा कक्षा १२ सम्म भए पनि पढ्ने धोको तेजबहादुरको छ । गयल शुल्क अरू कक्षाले पनि उठाउने गरे पनि त्यो रकम कुचो, पानी पिउने जग, बाल्टी किन्नमा खर्च गर्ने गरेको शिक्षकहरूले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग