Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गोलभेंडा खेती गर्न काठमाडौं

Published on 5:51:00 PM //

गाउँबाट राजधानी आउनेको लक्ष्य के हुन्छ? सामान्यतया पढाइ र राम्रो रोजगार। कतिपयले पढाइसँगै रोजगार पनि खोजेका हुन्छन्। जागिर छान्दा पहिलो प्राथमिकता हुन्छ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)। त्यसपछि पालो आउँछ, सरकारी र निजी संघ/संस्थाको।

गुल्मी हर्दिनेटाका शोभाकान्त अर्याल भने जागिर खान होइन, खेती गर्न गाउँबाट सहर पसे। 'म जागिरका लागि होइन, गोलभेडा खेती गरेरै धेरै कमाउन सक्छु भनेर सहर आको,' उनले भने, 'जागिरको भरमा बसेको भए, अहिले पनि ऋणमा चुर्लुम्म डुबेको हुने थिएँ। जागिर खाएर यति ठूलो परिवार पाल्न कहाँ सकिन्छ!'
अर्यालले राजधानीको मुख्य सहरदेखि अलिकति भित्र धर्मस्थलीमा १७ रोपनी खेत भाडामा लिएका छन्। उनी अचेल त्यसैमा गोलभेंडा खेती गर्छन्। उनका अनुसार सबै खर्च कटाएर एक रोपनीबाट वर्षको एक लाख रुपैयाँ बचत हुन्छ।
गाउँमा कुखुरापालन गर्दा घाटा खानुपरेपछि उनी झोंकमा परिवारसहित काठमाडौं पसेका हुन्। 'सुरुमा यहाँ पनि कुखुरा पाल्ने योजना लिएर आएका थियौं, तर गोलभेंडाले तान्यो,' उनका भाइ खुमा अर्यालले भने। खुमाले पनि १९ रोपनीमा गोलभेंडा रोपेका छन्।
गोलभेंडा विज्ञ केदार बुढाथोकीसँगको सम्पर्कले यी दाजुभाइलाई यो खेतीतिर तानेको हो। सुरुका वर्ष उनीहरूले तीनथानामा १० रोपनी जग्गा भाडामा लिएर काउली र गोलभेंडा लगाए। चार वर्ष खेती गरेपछि अझै बढाउने रहर जाग्यो। उनीहरू धर्मस्थली आए। 'गोलभेंडा मैले कमाएको शुद्ध मिहिनेतको फल हो, जागिरबाट यस्तो सन्तुष्टि मिल्ने थिएन,' शोभाकान्तले भने। कसैको दबाब, धम्की र हप्कीसमेत खानु नपर्ने हुँदा उनको चार दाजुभाइ गुल्मीबाट धर्मस्थली आएर गोलभेंडा खेती गरिरहेका छन्।
उनीहरू प्रतिरोपनी जग्गाको भाडा वर्षको ६ हजार रुपैयाँ तिर्छन्। एक रोपनी जग्गामा प्लास्टिकको टनेलभित्र रोपेको गोलभेडाबाट सबै खर्च कटाएर एक लाख रुपैयाँ नाफा हुन्छ। यही खेतीबाट अर्याल दाजुभाइले दुईवटा गाडी पनि किनेका छन्। 'आफ्नो गोलभेंडा बजारमा लैजान चाहिएका बेला गाडी प्रयोग गर्छु,' खुमाले भने, 'अरू बेला भाडामा लगाउँछु।'

हिउँदमा भन्दा वर्षामा गोलभेंडाको राम्रो भाउ पाइने भएकाले जेठदेखि कात्तिकसम्म जति धेरै उत्पादन गर्न सक्यो, उति राम्रो कमाइ हुने उनीहरूको अनुभव छ।
अर्याल दाजुभाइले गुल्मीदेखि काठमाडौं आएर गोलभेंडा खेती गरेको देखेर धर्मस्थलीका स्थानीय बासिन्दा पनि यसबाट प्रेरित छन्। 'गत वर्ष गोलभेंडा खेती थाल्दा नजानेर ठूलो घाटा सहनुपर्‍यो, तर यसपटक राम्रो नाफा हुने आशा राखेको छु,' धर्मस्थलीका स्थानीय राजेन्द्र श्रेष्ठले भने। उनी आउँदो दसैं तिहारको समयमा गोलभेंडा महंगो हुने भएकाले त्यतिखेर उत्पादन हुनेगरी अहिले बिरुवा रोप्दैछन्।
लामो समय चिनियाँ सामानको व्यापार गरे पनि सोचेअनुसार फाइदा नभएपछि उनले गोलभेंडा खेती सुरु गरेका हुन्। श्रेष्ठले १५ जनालाई रोजगार दिइरहेका छन्। उनीसँगै सतीश वैद्यले पनि व्यावसायिक रूपमा गोलभेंडा खेती थालेका छन्।
अर्याल दाजुभाइको सिको गरेर धर्मस्थलीमा झन्डै दुई सय रोपनीमा गोलभेडा खेती भइरहेको छ। स्थानीय र अरू केही उन्नत जातको गोलभेंडामा वर्षा लागेपछि रोगकीराले खान्छ। बोट खुइलिन्छ। 'सिर्जना' जातको गोलभेंडा भने वर्षैभरि लगाउन सकिने भएकाले व्यावसायिक खेतीका लागि सजिलो भएको उनीहरू बताउँछन्।

काठमाडौंको भौगोलिक वातावरणले पनि यहाँ वर्षैभरि गोलभेंडा खेती गर्न सकिन्छ। रातको समय १३ देखि २० डिग्री सेन्ट्रिग्रेड तापक्रम गोलभेंडाको निम्ति उपयुक्त हुने प्राविधिकहरू बताउँछन्। काठमाडौंको तापक्रम यही बीचमा हुन्छ।
गोलभेंडा खेती गर्न चाहनेलाई अर्याल दाजुभाइले सहयोगसमेत गरिरहेका छन्। यसका लागि सबभन्दा पहिला त खेतीको इच्छा हुनुपर्‍यो। त्यसपछि टनेल बनाउन मिल्ने जग्गा हुनुपर्छ। पानी नजम्ने, सिँचाइ हुने र सडक पुगेको जग्गा भए
गोलभेंडा खेती व्यावसायिक रूपमा गर्न सकिने उनीहरूको सुझाव छ।
शुक्रबार कालिमाटी तरकारी बजारमा गोलभेंडाको थोक मूल्य किलोको कम्तिमा ४५ देखि ५० रुपैयाँ थियो। 'राम्रो गोलभेंडा भए किसानले कम्तिमा ७० देखि सय रुपैयाँसम्म पाइरहेका छन्,' धर्मस्थली, तीनथाना, मूलपानी र नालामा गोलभेंडा खेती गर्न आवश्यक प्राविधिक सहयोग गर्दै आएका गोर्खा सिडका विष्णु मरहठ्ठाले भने।
मलेसिया छोडेर गोलभेंडागोलभेंडा खेतीबाट अर्याल दाजुभाइले गरेको प्रगति देखेर वैदेशिक रोजगारका निम्ति मलेसिया जान आएका तिनका गाउँले कमल पौडेलसमेत यही खेतीमा लागेका छन्। मलेसियाको भिसा रद्द गरेर ८ रोपनी जग्गामा गोलभेंडा खेती सुरु गरेको उनले बताए।
नागरिक दैनिकबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग