Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विदामा बसेका सेनाद्वारा गाउँमा आतंक

Published on 11:07:00 PM //

शिवलाल सुवेदी
विदामा बसेका नेपाली सेनाका जवान सहितका एक समूहले गुल्मीको हस्तीचौर गाविसको एक गाउँमा आतंक मच्चाउँदै आएका छन् ।


नेपाली सेना रोल्पामा कार्यरत हस्तीचौर गाविस–४ का भरत बहादुर कुँवर, नेपाली सेनाको जागिरबाट भागेर घरमै बस्दै आएका विष्णु बहादुर कुँवर  र सोही गाविस वडा नं. २ घर भई नेपाली सेना काठमाडौंमा कार्यरत सैनिक जवान विष्णु बहादुर बोहोराले यसरी छिमेकमा आतङ्क मच्चाएका हुन् ।  विदामा घर आएका उनीहरूले गत कार्तिक २४ गतेदेखि राती सार्वजनिक मूल बाटोमा बसेर स्थानीय वडा नं. २ निवासी प्रेम बहादुर खत्री र यम बहादुर खत्रीको घर परिवारलाई धम्क्याउँदै घरमा ढुङ्गामुढा गर्नुका साथै ज्यान मार्ने धम्की समेत दिएको भन्दै पीडित खत्री परिवारले जीउ ज्यानको सुरक्षा गरी पाऊँ भनी जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिएका छन् ।

उनीहरूले कार्तिक २६ गते दिउसो विद्यालय अगाडि बसिरहेको हिमालय उच्च माध्यमिक विद्यालय हस्तीचौरमा कार्यरत एक शिक्षकलाई समेट निर्घात कुटपिट गरेका थिए । त्यस्तै सैनिक जवान भरत र उनका दाजु विष्णु कुँवरले सोही विद्यालयको भवन निर्माणमा कार्यरत मजदुर तथा ठेकेदारहरूलाई समेत धम्क्याउने तथा कुटपिट गर्ने समेत गरेको स्थानीयबासीहरूले बताएका छन् । तीमध्ये विष्णु बहादुर बोहोरा कार्तिक ३० गते आफ्नो पल्टनमा हाजिर हुन गइसकेको र भरत र विष्णु कुँवरले गत २६ गते र बुधबार राती समेत खत्री परिवारको घरमा ढुङ्गामुढा गरेकाले आफुहरू असुरक्षित भई न्याय माग्न आएको खत्री परिवारले बताएका छन् । जिल्ला प्रहरी कार्यालयमा उनीहरूले दिएको उजुरीमा सार्वजनिक मूल बाटोमा आई आफूहरूको इज्जत, मान प्रतिष्ठामा आघात पुग्ने गरी जथाभावी गालीगलौज गर्ने गरेको र त्यस्तो नबोल्न आग्रह गर्दा घरमा ढुङ्गामुढा र लाठी प्रयोग गरी आफूहरूलाई घाइते पारेको भन्दै आफ्नै घरभित्र लुकेर बस्नु परेको बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक  पदम प्रसाद सुवेदीले दिनमा उनीहरू लुकेर बस्ने र रात परेपछि सोही क्रियाकलापलाई निरन्तरता दिने गरेका कारण उनीहरूलाई तत्काल नियन्त्रणमा लिन नसकिएको बताएका छन् ।

उता, नेपाली सेना कालिदत्त गुल्म धागिथुम व्यारेकका गुल्मपति खुन्नामुन्ना राईले त्यसरी गाउ“मा आतङ्क मच्चाएको भए सम्बन्धित गाउ“बासीले उजुरी दिए आफूले ती सैनिक जवानलाई विभागीय कारबाहीका लागि सम्बन्धित पल्टनमा जानकारी दिने बताएका छन् । उनले भगौडा सैनिकलाई प्रहरीले नै कारबाही गर्नुपर्छ, यदि सैनिक जवानले त्यसरी आतङ्क मच्चाएका हुन् भने उनीहरू कार्यरत युनिट खुल्ने गरी व्यारेकमा उजुरी दिन सक्ने समेत जानकारी गराए ।



Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग