मूर्तिमा समयको डोब
घनश्याम खड्का
केही मानिस तर्सिएका छन् । डरले भुइँमा लडेका छन् र भयभित अनुहारले माथितिर हेरिरहेका छन् । हुनलाई यो माटाको मूर्ति हो । तर डर ? यो चाहिँ जीवितको अनुहारमा झैं छ ।
'अहिले समय यस्तै छैन र ?' मूर्तिलाई हेर्नेतिर हेर्दै त्यसका सर्जक नरेन्द्रप्रसाद भण्डारीले प्रश्न गरे, 'हामी यसै गरी डराइरहनुपरेको छैन र ?'
डराइरहेका मानिसहरूको मूर्तिवरिपरि अरु पनि थुप्रै मूर्ति छन् । एउटा बूढो किसान सकी-नसकी ठूलो ढुंगो पन्छाइरहेको छ । एउटी युवती भोकभोकै सडकमा अर्धनग्न सुतिरहेकी छे । एउटा युवक भर्खरै हंस छुटेको बाबुको पार्थिव शरीरमाथि निन्याउरो मुख लगाएर बसिरहेको छ ।
बबरमहलस्थित आर्ट काउन्सिलको ग्यालरीमा गए देख्नुहुनेछ, माटामा पनि समयको डोब निकाल्न सकिने रहेछ । त्यही माटाको डल्लाबाट डराइरहेका ती मानिसको ठाउँमा हाँसिरहेको बालक पनि त बनाउन सकिन्थ्यो । किन नरेन्द्रलाई मान्छेको आँसु नै देखाउनुपरेको ?
'मानिसको आँसु नै छ जता पनि,' उनले भने, 'नभएको कुरो म कताबाट देखाऊँ ?'
डराएका, दुखेका र थाकेका मानिसहरू दुरुस्त उतारिएका यी मूर्तिले चित्तलाई व्याकुल होइन, आँखालाई आश्चर्यमा पारिदिन्छन् । दुःख पनि कलामा राम्रो देखिने रहेछ । चार दिनदेखि प्रदर्शनीमा राखिएका यी मूर्ति अझै चार दिन ग्यालरीमा रहनेछन् । सँधैजसो चित्र मात्रै टाँगिने ग्यालरीमा यसरी मूर्तिचाहिँ आक्कल- झुक्कल भेटिन्छन् । नरेन्द्रका अनुसार यसो हुनुमा केही कारण छन् ।
'मूर्ति बनाउन गाह्रो छ र धेरै समय लाग्छ,' उनले भने, 'फेरि यो बोकेर ल्याउन र राख्न पनि झन्झटिलो हुन्छ, पैसा पनि धेरै लाग्छ ।'
त्यसैले वर्षमा एकपटक पनि प्रदर्शनीमा मूर्ति पाइन मुस्किल पर्छ । नरेन्द्रले भने यसअघि पनि एकपटक मूर्ति प्रदर्शनी गरिसकेका छन् । गत वर्षको वसन्त याममा उनले काउन्सिलमै काठ र ढुंगाका अमूर्त मूर्ति पारखीका लागि सुलभ बनाइदिएका थिए । त्यति बेला पाएको स्याबासी र प्रशंसाले उनलाई अहिलेको प्रदर्शनीका लागि ऊर्जा मिलेको रहेछ ।
'यी मूर्तिहरूचाहिँ रेजिन -माटोमा रसायन हालेर बनाइएका प्रतिमा) बाट बनाइएका हुन्,' नरेन्द्रले सुनाए । यस पालाको प्रदर्शनीमा सबै मूर्ति मूर्त नै छन् ।
प्रदर्शनीमा वरिष्ठ चित्रकार शशी साहको प्रतिमा पनि छ । 'यो देखेर उहाँ निकै खुसी हुनुभो,' नरेन्द्र मुस्कुराए, 'म झनै खुसी भएँ ।'
१ लाख २० हजारदेखि पौने ५ लाख रुपैयाँसम्म यी मूर्तिका मूल्य तोकिएका छन् । महँगो देखिए पनि लागत र मेहनत जोड्दा यो केही पनि होइन भन्ने नरेन्द्रले ठानेका छन् ।
'विदेशमा भए यी मूर्ति लाखौंमा बिक्थे,' प्रदर्शनीमा आएका एक दर्शकले मूल्य हेर्दै भने, 'यहाँचाहिँ यति पनि महँगो भन्छन् ।'
गुल्मी हंसराका ३६ वर्षे नरेन्द्रले आम्दानीका सारा रुपैयाँ मूर्ति बनाउनै खर्चिएका रहेछन् । एउटा मूर्ति बनाउन लाग्ने 'कम्तीमा १ लाख रुपैयाँ' जुटाउन उनले आफ्ना धेरै आवश्यकता कटौती गरे । प्रदर्शनीमा ५ लाख खर्च भयो । त्यो चाल देखेर उनकी पत्नी रिसले माइत गएकी रहिछन् ।
'यी मूर्ति मेरा सन्तान हुन्,' नरेन्द्र भने भनिरहेका थिए, 'दुनियाँ एकातिर लाग्यो भने पनि म यिनलाई छाडेर बस्न सक्दिनँ ।'
राख्ने ठाउँ नहुँदा उनका धेरै मूर्तिको संरक्षण हुन सकेको छैन । 'कसैले किन्यो भने किनिहाल्यो,' उनले भने, 'नत्र ग्राहक खोज्दै हिँड्न पनि मन लाग्दैन ।'
मूर्ति विद्याका क्याम्पस टपर नरेन्द्रले थुप्रै सुन्दर मूर्ति बनाइसकेका छन् । जनकपुर चुरोट ारखानाअघिल्तिरका रामनारायण मिश्र, सानेपाको मनमोहन पार्कमा ठडिएको मनमोहन अधिकारी र पर्यटन बोर्डमा भेटिने हेर्दै बोल्लान् जस्ता तेन्जिङ नोर्गे र एडमन्ड हिलारी तिनैमध्येका हुन् । पञ्चायतकालीन मन्त्री ध्यानबहादुर राई, त्रैलोक्यनाथ श्रेष्ठदेखि कृष्णसेन इच्छुकसम्मको अनुहार पनि उनले मूर्तिमा उतारिसकेका छन् ।
'निकै राम्रो बनाउनु हुँदो रहेछ,' सोमबार काउन्सिलमा १८ वर्षे युवती रमिला सिंहले नरेन्द्रलाई भन्दै थिइन्, 'म त हेर्या हेर्यै भएँ ।'
0 प्रतिकृयाहरु