Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सत्यवती र सालीमे-दिब्रुङ दहलाई संरक्षण क्षेत्र घोषणाको तयारी

Published on 3:13:00 AM //


वन मन्त्रालयले गुल्मीका थप दुई वन क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ ।
वन कार्यालयले नै रेखदेख गर्ने गरी गत ३ गते मदानेको जंगललाई संरक्षण क्षेत्र घोषणा गरिसकेको छ । निर्वाचन क्षेत्र नं. १ मा पर्ने थाप्ले सत्यवती र सालिमेदह दिब्रुङ क्षेत्रका जंगलहरूलाई सरकारले संरक्षण क्षेत्र घोषणा गर्न लागेको हो । 


दुवै क्षेत्रका जंगलहरूको सम्भाव्यता अध्ययनका लागि वन विभागले नेपाल टिम्बर अफ कर्पोरेसनका अध्यक्ष भरतबहादुर चन्दको संयोजकत्वमा वनस्पति विभागका वैज्ञानिक अधिकृत सञ्जीव राई र राष्ट्रिय निकुञ्ज विभागका उपसचिव शेरसिंह ठगुन्ना सदस्य रहेको टोली अध्ययनका लागि पठाएको छ ।



टोलीले सदरमुकाम तम्घासमा राजनीतिक दल, सञ्चारकर्मी, सामुदायक वन उपभोक्ता महासंघलगायतका सरोकारवालासँग अन्तरक्रिया गरी सम्बन्धित जंगलका उपभोक्ताहरूसँग समेत छलफल र अन्तरक्रिया गरेको संयोजक भरतबहादुर चन्दले बताए । 



चन्दका अनुसार सरकारले संरक्षण क्षेत्र घोषणा गर्न लागेका सबै जंगल वन ऐन २०४९ को दफा २३ उपदफा १ बमोजिम गर्न लागेकाले यसको रेखदेख, संरक्षण र प्राकृतिक स्रोतको उपभोग स्थानीय उभोक्ताले नै गर्न पाउने छन् । 



सभासद सुदर्शन बलालका अनुसार संरक्षण क्षेत्र घोषणा भएपछि धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि राज्यले लगानी गर्ने, स्थानीय समुदायले खेर गएको जडिबुटीको सदुपयोग गरी आयआर्जन वृद्धि गर्न सक्ने र वनको संरक्षणका लागि राज्यबाटै रोयल्टी आउने भएकाले स्थानीय समुदायलाई बढी फाइदा पुग्ने छ । 



'वन ऐन २०४९ को दफा २३ को उपदफा १ बमोजिम संरक्षित क्षेत्र घोषणा गर्न लागिएकाले स्थानीय समुदायलाई नै बढी फाइदा पुग्नेछ,' उनले भने, 'त्यसको रेखदेखसमेत स्थानीयले नै गर्न पाउने छन् ।' 



सरकारले संरक्षण क्षेत्र घोषणा र कार्यक्रम सञ्चालनका लागि यस वर्ष ३ करोड रकम विनियोजन गरेको छ । विनियोजित रकममध्ये आधाभन्दा बढी यस वर्ष जिल्लामा आउने संयोजक चन्दले बताए । 



सम्भाव्यता अध्ययन भइरहेको थाप्ले सत्यवती क्षेत्रमा ५ हजार ६ सय ७३ र सालिमेदह दिब्रुङ क्षेत्रमा १ हजार ४ सय ४९ हेक्टर जमिन जंगलले ढाकेको छ । 



सरकारले यसअघि बाग्लुङ र प्यूठानसमेत समेटेको मदाने क्षेत्रको १३ हजार ७ सय हेक्टर जंगललाई संरक्षण क्षेत्र घोषणा गरिसकेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग