Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कर्मचारी संगठनको हस्तक्षेपले प्राधिकरण समस्यामा

Published on 4:50:00 PM //

घनश्याम गौतम
कर्मचारीहरूकै राजनीतिक संगठनको हस्तक्षेपले यहाँको विद्युत् प्राधिकरण कार्यालय काम गर्नै नसक्ने अवस्थामा पुगेको छ ।
विभागबाट सरुवा भएर जिल्लामा आएका कर्मचारीहरूलाई विभिन्न संगठनका नेताहरूले नै पुनः राम्रो र आकर्षक स्थानमा सरुवा गराउने पवृत्तिका कारण प्राधिकरण कर्मचारीविहीन जस्तै बनेको छ । ४६ जनाको दरबन्दी रहेको प्राधिकरण झण्डै १० वर्षदेखि ११ जना कर्मचारीले मात्र चलाउँदै आएका 

छन् । यस बीचमा धेरै कर्मचारी सरुवा भएर आए पनि छ महिनाभन्दा बढी बसेका छैनन् ।

कर्मचारी अभावले जिल्लाको विद्युत् मर्मतमा बढी समस्या छ । त्यस्तै लेखा, प्रशासन लगायतका क्षेत्रमा समेत समस्या छ । जिल्लामा विद्युत् प्रसारण लाइन निकै लामो छ तर मर्मतका लागि खटिने प्राविधिकहरू नहुँदा बिग्रेमा बन्न समेत कम्तीमा दुई दिन लाग्छ ।

कार्यालय प्रमुख विनोदप्रसाद चौधरीका अनुसार कार्यालयको ४६ जनाको दरबन्दीसमेत १६ वर्षअगाडिको हो । जतिबेला प्राधिकरणका ग्राहक झण्डै ४ हजार मात्र थिए । अहिले ग्राहक संख्या बढेर १५ हजार पुगेका छन् । दरबन्दी बढ्नुपर्नेमा भएको समेत कहिल्यै पूरा नहुँदा विद्युत् मर्मत लगायत सबै क्षेत्रमा समस्या परेको उनले बताए ।  

'आएको १ वर्षमा मैले मात्र १५ जनालाई रमना दिइसकें', प्रमुख चौधरीले भने, 'अनि कसरी चलाउन सकिन्छ यति धेरै ग्राहक र प्रसारण लाइन रहेको कार्यालय ।' 

विभागमा पटकपटक कर्मचारी माग गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ । प्राधिकरणका अनुसार विभागबाट सरुवा भएर आएको छ महिनासमेत नपुग्दै संगठनका नेताहरूले सरुवा गरेर सुविधासम्पन्न स्थानमा पठाइदिने गरेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग