Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विवाह जीवनको शुरुवात नभई अन्त्य बन्यो, ४८ घण्टामै सकियो इहलीला

Published on 4:26:00 AM //


केपी ढुंगाना
भनिन्छ, विवाह नयाँ जीवनको शुरुवात हो, तर ३० वर्षिय राजेश पन्थी र २८ वर्षिया निर्मला पौडेलका लागी विवाह जीवनको शुरुवात नभई अन्त्य बन्यो । आइतबार बेलुका भएको त्रासद सडक दुर्घटनामा नवविवाहित जोडीको जीवननै अन्त्य भयो।

संगै जीउने कमस खाएर बैबाहिक सम्बन्धमा बाँधिएकाले यि दुबैले श्रीमान/श्रीमतीको रुपमा केवल ४८ घन्टा मात्र जीवनयापन गर्न पाए। आईतवार बैबाहिक जीवनको प्रारम्भ भएको खुसीयाली बाड्न आयोजना गरिएको भोज सकाएर घर फर्कनेक्रममा बशुन्धारामा दुलाहा राजेशले चलाएको कार दुर्घटना हुँदा घटनास्थलमै दुबैको जीवन समाप्त भयो। छोरा/बुहारीसँगै घर फर्कदै गरेका ६० वर्षिय कृष्ण पन्थी र ५७ वर्षिय पार्वती पन्थी शिक्षण अस्पताल महाराजगञ्जमा छन्। 
महानगरिय प्रहरी बृत्तका प्रमुख दिपक थापाले घटनास्थलको प्रकृती र प्रत्यक्षदर्शीको भनाईको आधारमा तिब्र गतीका कारण कार अनियन्त्रीत भएर दुर्घटना भएको थियो। ' दुर्घटनाको प्रकृती हेर्दा तिब्र गतीका कारण अनियन्त्रीत भएर कार विजुलीको पोलमा ठोक्किदां बढी क्षती भएको देखिन्छ' उनले भने'कारको अघिल्लो भाग कुच्चिदा कारको अघिल्लो भागमा रहेकालाई तत्काल उद्धार गर्न सम्भव नहुँदा मानविय क्षती भयो।'
पेशाले कम्प्युटर इन्जीनियर रहेका गुल्मी थानापतीका राजेश र बेलायमा नर्सिङ अध्ययन गरिरहेकी निर्मलाविच परिवारीक सहमतीले शनिवार पोखरामा विवाह भएको थियो। 
राजेश बैंकहरुका लागी प्रोग्रामिक निर्माणमा सक्रिय थिए भने निर्मला हालसालै बेलायतवाट फर्केकी थिईन। बैबाहिक सम्बन्धमा गाँसिएको उपलक्ष्यमा आफन्तसँग खुसीयाली बाड्न बाँसबारीमा रहेको चुल्हो निम्तो पार्टी प्यालेसमा भोजको आयोजना गरेका थिए।
भोजमा सहभागी आफन्तहरु आफ्ना वासस्थानतिर फर्किए। खुसीका साथ समारोह सम्पन्न भएकोमा खुसीहुँदै मनमैजुमा रहेको घर फर्कदै थिए। बा ७ च ७१४६ नम्बरको स्यान्ट्रोकार राजेशले चलाएका थिए। उनीसंगैको सिटमा दुलही निर्मला बसेकी थिईन। पछाडिको सिटमा थिए बाबु कृष्ण र आमा पावर्ती। 
चारैजना कारमा चढेर बाँसवारीवाट मनमैजु जाँदा बशुन्धाराको ओरालोमा पुगेपछि कार अनियन्त्रीत भएर दुर्घटना भएको थियो। डिएसपी थापाका अनुसार बाँया साईटवाट गुडिरहेको कार अनियन्त्रीतहुँदै दाया साईटतिर हुत्तियर सडक किनारमा रहेको विजुलीको पोलमा ठोक्किएरसडकमा उत्तानो परेको थियो। 
घटनाको प्रत्यक्षदर्शी बनेको बशुन्धारा चोकमा गस्तीमा खटिएको महाराजगञ्ज बृत्तको सिआरभी प्रहरी टोलि तत्काल उद्धारमा लागेपनि दुलाहा र दुलहीलाई बचाउन भने सकेन। 
प्रहरी निरिक्षक ओमप्रकाश खनालको कमान्डमा रहेका पाँच जना प्रहरीले कारको पछिल्लो भागमा रहेका बाबुआमालाई बाहिर निकालेर अस्पताल पुर्‍याएको थियो। 
बृत्तवाट घटनास्थल पुगेकोे १० जनाको थप टोली र आफन्तले करिव एक घन्टापछि मात्र कारको अघिल्लो भागमा रहेका दुलाहा दुलहीलाई बाहिर निकालेका थिए। अस्पताल पुर्‍याउंदा बाबु/आमाको होस खुलीसकेको थियो। चिकित्सकले दुलाहा दुलहीलाई भने अस्पताल पुगेलगत्तै मृत घोषणा गरे। 
त्रासदीपूर्ण दुर्घटनाको प्रत्यक्षदर्शी असई विष्णु ढुंगानाका अनुसार बांसबारीवाटै कार अनियन्त्रित हुंदै बत्तिदै आएको थियो। ' हुत्तिएर आएको कार देख्दा कता लगेर ठोक्ने भयो भन्ने लागेको थियो, हेर्दा हेर्दै आँखा अगाडि नै कार उडेर सडकमा उत्तानो पर्‍यो।'
ढुंगानाका अनुसार कारको अघिल्लो भाग कुच्चिदा दुलाहा र दुलहीको टाउको एकै ठाउंमा जोडिएको थियो। उचालिएको पछिल्लो भागमा बुबा कृष्ण बेहोस अवस्थामा थिए भने आमा पार्वती अर्धमुर्छित अवस्थामा 'मरे मरे' भन्दै थिईन। 
उनले भने'पछिल्लो भाग उचालिएकाले सहजै आमाबुबालाइ बाहिर निकालेर उपचारका लागी प्रहरी भ्यानमा राखेर अस्पताल पुर्‍यायौं, अगाडिको भाग कुच्चिएकाले वर्कसपवाट जग उठाउने उपकरण ल्याएर करिव ४५ मिनेटपछि बल्ल बल्ल दुलाहा दुलहीलाई बाहिर निकाल्न सक्यौं।' कृष्ण र पार्वती शिक्षण अस्पतालमा उपचाररत छन्। नवविवाहित जोडीको पोष्टमार्टमपछि शब बुझेर आफन्तहरुले सोमवारनै अन्तिम संस्कार गरे।

उच्च गति जीवन क्षति 
प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार गत साता मुलुकभर भएका सडक दुर्घटनावाट २५ जनाको मृत्यु भएको छ। उपत्यकामा दुर्घटनावाट चार जनाले ज्यान गुमाएका छन्। 
महानगरिय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार चालकको लापरवाही र उच्च गतीका कारण हुने सवारी दुर्घटनाको संख्या बढ्दो छ। महाशाखाको तथ्यांक अनुसार पुसमा उपत्यकामा तीन सय ९८ दुर्घटनाहुंदा चालकको लापरवाही र तिब्र गतीका कारण दुई सय ८ वटा दुर्घटना भएका थिए।
महाशाखा प्रमुख विज्ञानराज शर्माले दुर्घटनामा परेको कारको अवस्था हेर्दा उच्च गतीका कारण देखिएको बताउंछन्। उनले भने'कारको अगाडिको भाग पुरै कुच्चिएको छ, दुर्घटनास्थलको रेखाचित्र हेर्दापनि उच्चगती दुर्घटनाको कारण रहेको देखिन्छ।'

(नागरिक दैनिकबाट)

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग