Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागीमा कापी किताब जलेपछि विद्यार्थीको बिचल्ली

Published on 5:11:00 PM //

घनश्याम गौतम
आगलागीले घर, खाध्यान्न, कपडासंगै कापी किताब समेत जलेर नष्ट भएपछि ठुलोलुम्पेक–८ गुलम्दी गाउँका झण्डै दुई दर्जन विद्यार्थी बिचल्लीमा परेका छन् ।

ठुलोलुम्पेक–८ को गुलम्दी गाउँमा शनिबार भएको आगलागीमा ९ घर र ८ घर जलेर नष्ट भएका थिए । विद्यालयमा परिक्षा चलिरहेका बेला घरमा आगलागी भएर कापी किताब जलेपछि विद्यार्थीहरु पढ्नबाट समेत बञ्चित भएका हुन् । आगलागीले गाउँ नै प्रभावित भएको छ । स्थानीय घनबहादुर तरामुको घरबाट शुरु भएको आगोले गाउँका ९ घरका खाध्यान्न, लत्ता कपडा, नगद पैसा, लगायत सम्पूर्ण कागजात समेत जलेर नष्ट भएका छन् । आगलागीमा पेन्सन पट्टा समेत जलेपछि भुपु सैनिक र कर्मचारी पनि समस्यामा परेका छन् ।
कापी किताब जलेपछि गाउँका १९ बालबालिका विद्यालय जानबाट बञ्चित भएको स्थानीय ओम तरामुले बताए । ‘परिक्षा चलेका बेला केटाकेटीले कापी किताब नहुँदा पढ्न पाएका छैनन्’, ओमले भने, ‘पढ्न नपाएपछि कतिपय केटाकेटीले परिक्षा नै दिएका छैनन् ।’ स्थानीय लक्ष्मीपुर माविमा कक्षा ९ मा अध्ययनरत नविन तरामुले कापी किताब सबै जलेपछि विद्यालय जान मन नै नलाएको बताए । ‘कापी किताब केही छैन’ उनले भने, ‘किन्ने पैसा समेत सबै जलेपछि केले किन्ने र के पढेर स्कुल जाने ?’ उनीको जस्तै सबै जलेर विद्यालय जान नपाएकाहरु सबैले गुनासो कापी किताब किन्न नसकेपछि विद्यालय नै जान नपाएको गुनासो गरे ।
घरमा अलिअलि भएको पैसा बसै जलेपछि छोराको ड्रेस र कापी किताब किन्न नसकेको पीडित जमुना तरामुले बताईन । गाउँका नौ घर जलेपछि
विद्यालय जाने उमेरका १९ बालबालिका सहित ५५ जना घरबार विहिन बनेका छन् । झण्डै एक दर्जन साना साना बालबालिका प्रभावित भएको पीडित मित्रलाल तरामु बताए ।
मगर बस्ती रहेको गुलम्दी गाउँका अधिकांश घर खरको छानो भएका र नजिक नजिक घर भएकै कारण बढी क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय घनबहादुरको घरबाट एक्कासी आगोको लप्का शुरु भएको भएपनि आगलागीको कारण अहिलेसम्म खुलेको छैन् । अधिकांश गाउँलेहरुले साँझको समय भएकाले विद्युत सर्ट भएर आगो लागेको अनुमान मात्र गरेका छन् । आगलागीबाट १४ लाख भन्दा बढीको क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगलागीमा परेका ९ घर मध्ये तिन जना भारतीय भुपु सैनिक भएकाले उनीहरुको पेन्सन पट्टा समेत जलेर नष्ट भएको पुर्व भारतीय सैनिक सहबिर तरामुले बताए । साँझको समयमा आगलागी शुरु भएको र हावाहुरी बढी चलेकाले आगो एकै साथ गाउँका अन्य घरमा पुगेको थियो । सानो गाउँ भएको र नजिक सुरक्षा निकाय समेत नभएकाले गाउँलेलाई आगलागी नियन्त्रणमा कठिनाई भएको सहबिरले बताए । गाउँले, छिमेकी गाविसहरु अस्लेवा, हर्मिचौर, र स्याङ्जाको कारीकोट गाउँबाट गएका सर्वसाधरणहरुले शनिवार राती ११ बजे मात्र आगो नियन्त्रणमा लिएका थिए । आगलागीमा १ चौपाया मरेपनि अन्य मानविय र पशुको क्षति नभएको प्रहरीले जनाएको छ । 
आगलागी पीडितहरुलाई जिल्ला प्रशासनले प्रति परिवार चार हजार रुपैंया, जिविसले एक हजार रुपैंयाका दरले नगद उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले बताए । त्यस्तै रेडक्रसले त्रिपाल, लत्ता कपडा, चिउरा, दालमोठ लगायतका सामाग्री उपलब्ध गराएको छ । छिमेकी गाउँका सर्वसाधरणहरुले तरकारी, खाध्यान्न लगायतका सामाग्री जुटाएर सहयोग गरिरहेको भएपनि राजनीतिक दलहरुले आफुहरुलाई सहयोग नर्याएको पीडित गब्बरसिंह तरामुले बताए । आगलागीमा उनले बिदेश जानका लागि ठिक्क पारेको पैसा र कागजपत्र समेत जलेका छन् । त्यस्तै छोरीकोमा पाहुना बस्न आएकी ठुलोलुम्पेक–७ की तिलकुमारी सिंजालीको पनि आगलागीमा ७ हजार पाँच सय रुपैंया नगद जलेर नष्ट भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग