Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वास्थ्यकर्मी काजमा नराख्न समुदायको दवाव

Published on 10:08:00 PM //

पी.एम.मगर
जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले लामो समयदेखि स्वास्थ्य कार्यकर्ताहरु एकदेखि अर्को काजमा राखेको समाचार रेडियो रेसुङ्गावाट प्रशारण भए लगत्तै ग्रामिण भेगका स्वास्थ्य चौकिहरुबाट काजमा स्वास्थ्यकर्मीहरु नराख्न दवाव वढेको छ ।
सोही क्रममा आँपचौर उप–स्वास्थ्यचौकीमा दरवन्दीमा रहेका स्वास्थ्यकर्मीहरुलाई आँपचौरमै फर्काउन सर्वदलीय एक टोली जिल्ला स्वास्थ्य कार्यालयमा डेलिगेशन आएको छ । आँपचौर उप-स्वास्थ्यचौकीको दरवन्दीमा रहेका वालवहादुर घर्तिलाई लामो समयदेखि हाडहाडे उप–स्वास्थ्यचौकीमा काजमा राखिएको र श्रावण महिनादेखि हाडहाडेमै सरुवा गरिएको विरुद्ध आँपचौरको सर्वदलीय टोलीले जिल्ला स्वास्थ्य प्रमुख डा. भेषराज पोख्रेलसँग आक्रोस व्यक्त गरेका छन् । स्थानीयवासीलाई जानकारी नै नदिई आँपचौर उप–स्वास्थ्यचौकीको दरवन्दीमा रहेका सहायक कर्मचारी घर्तिलाई कसरी हाड्हाडेमा सरुवा गरियो भन्दै नेपाली काँग्रेस आँपचौरका सभापति रुद्रराज खरेलले प्रति प्रश्न गर्नुभएको थियो । त्यस्तै एकीकृत नेकपा माओवादी, आँपचौरका इन्चार्ज युवराज खरेल, नेकपा एमाले आँपचौरका अध्यक्ष तुलसीराम खरेल लगायतका डेलिगेशनमा आएका टोलीले आँपचौरलाई पाखा र हाडहाडेलाई काखा लगाएको आरोप लगाउँदै तत्काल आँपचौरमा उपस्वास्थ्यचौकीको सहायक कर्मचारीको दरवन्दी कायम गरिनुपर्ने माग गरेका छन् ।
त्यस्तै गत ४ वर्षदेखि आँपचौर उप–स्वास्थ्यचौकीको दरवन्दीमा रहेका ग्रामीण स्वास्थ्य कार्यकर्ता झविन्द्र खरेल समेत तुराङ उपस्वास्थ्य चौकीमा काजमा राखिदा एक जना अहेव मात्रैले ठुलो जनसंख्या रहेको आँपचौर एवं छिमेकी गाविस, कुर्घा, तुराङ्ग, वलिथुम, पराल्मी लगायतका जनतालाई स्वास्थ्य उपचार गर्न कठिन भएको र त्यसतर्फ जिल्ला स्वास्थ्य कार्यालयले वेवास्ता गरेको आँपचौर उप–स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष भुपति खरेलले गुनासो गर्नुभएको छ । उहाँले स्वास्थ्यकर्मीको अभावमा समुदायले यतिवेला चन्दा उठाएर एक महिलालाई न्यूनतम तलवमा राख्नुपरेको समेत वताउनुभएको छ ।
आँपचौर गाविस सहित छिमेकी तीन चारवटा गाविसका जनताहरु उपचार गर्न आउने भएकाले आँपचौर उप–स्वास्थ्यचौकीको स्तर वृद्धि गरिनुका साथै वर्थिङ्ग सेन्टरको माग समेत टोलीले गरेको छ । त्यस्तै भवन निर्माणका लागि आवश्यक प्रकृया अगाडी वढाउन, दक्ष जनशक्तिको व्यवस्था तथा सरुवा गरिएका कर्मचारीको काज फिर्ता, प्रभावकारी स्वास्थ्य उपचारका लागि आवश्यक वजेट व्यवस्था मिलाई दिन समेत जिल्ला स्वास्थ्य प्रमुख डा. पोख्रेल समक्ष आग्रह गरेका छन् । केही दिन अघि रेडियो रेसुङ्गावाट समाचार सुनेपछि ग्रामिण भेगका विभिन्न तहका स्वास्थ्यकर्मीहरु लाई लामो समयदेखि काजमा राखेको र ग्रामिण भेगलाई वेवास्ता गरेको समाचार सुनेपछि जिल्ला स्वास्थ्य कार्यालयको यस्तो कार्यप्रति गुनासो गर्न आएको र अन्य गाविसका जनप्रतिनिधीहरु पनि यसरी नै सचेत हुन जरुरी रहेको डेलीगेशन टोलीका एक सदस्य रुद्रराज खरेलले वताउनुभएको छ । 
यस संवन्धमा जिल्ला स्वास्थ्य प्रमुख डा. पोखरेलले भने टोलीको गुनासोलाई ध्यानमा राखी माग पुरा गर्ने तर्फ आवश्यक कदम चाल्ने वताउनुभएको छ । जिल्लाका हरेक स्वास्थ्य, उपस्वास्थ्य चौकीका कर्मचारीहरु कोही घर पायक पारेर त कोही सुगम स्थल तमघास वरीपरी नै काजमा रहेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग