Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी जिल्लामा भारतीय सुबिधा रोक्ने सुदको चेतावनी

Published on 11:39:00 PM //


घनश्याम गौतम 
भारतीय राजदुत राकेश सुदले आगामी दिनमा दुतावास मार्फत गुल्मी जिल्लामा आएको विकास सहयोग रोकिन सक्ने चेतावनी दिएका छन् ।

गुल्मी जिल्लामा भारतीय राजदुतावासको सहयोगमा निर्माण सम्पन्न भएका श्रृङ्गेश्वर क्याम्पस बलेटक्सार र तम्घासको रेसुङ्गा माविको भवन उद्घाटन गर्न आएका राजदुत सुदलाई माओवादी कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध गरेपछि त्यसको प्रतिकारमा सुदले विकास रकम रोक्ने चेतावनी दिएका हुन् । यसअघि सोलुखम्बुलगायतका जिल्लामा पनि सूदलाई माओवादी कार्यकर्ताहरुले कालो झण्डा देखाएका थिए ।
राजदुत सुदलाई माओवादी कार्यकर्ताले सदरमुकाम तम्घास र दुविचौर गाविसमा कालो झण्डा प्रदर्शन गर्दै विरोधमा नाराबाजी गरेका थिए । सुदले गुल्मीको बलेटक्सारमा १ करोड ९० लाखको लागतमा निर्माण सम्पन्न भएको श्रृङ्गेश्वर क्याम्पस भवन, ८१ लाख २९ हजारमा निर्माण सम्पन्न भएको तम्घासको रेसुङ्गा भवनको आज उद्घाटन र झण्डै २ करोडको लागतमा निर्माणाधिन रेसुङ्गा क्याम्पसको पुस्तकालय भवनको निरिक्षण गरेका थिए ।
स्थानीय जनताले माग गरेकै कारण सहयोग गरेको र त्यसको निरक्षण गर्न आउँदा कालो झण्डा देखाएर अपमानित भएको भन्दै आगामी दिनमा विकास सहयोग आवश्यक पर्ने भएमा गुल्मीमा क्रियाशिल माओवादी सहितका राजनीतिक दलहरुले सर्वदलीय बैठक गरेर 'विरोध पार्टीको नीति अनुरुप नभएको' ब्यहोराको पत्र हस्ताक्षर गरेर पठाएमा थप माग भएका योजनाहरुको विषयमा बिचार गर्न सकिने जानकारी समेत उनले दिए ।  
गुल्मी जिल्लाबाट भारतीय राजदुतावासमा थप १२ विद्यालयका भवन निर्माणका योजना माग भएको समेत कार्यक्रममा सुदले जानकारी दिए । राजदुत सुदले रिडीको श्रृषिकेशव मन्दिरमा पुजाआजा गरी दर्शन र तम्घासको भारतीय पूर्व सैनिक बोर्ड (पेन्सन क्याम्प) को समेत अनुगमन गरेका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग