Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घरदैलोबाट विद्यालयलाई १ करोड १० लाख संकलन

Published on 3:39:00 PM //

घनश्याम गौतम
विद्यालयको स्वर्णमहोत्सव मनाउने उद्देश्यले आँपचौरको एक विद्यालयले सुरु गरेको घरदैलो चन्दा अभियानमा १ करोड १० लाख संकलन भएको छ ।
आँपचौर-६ इन्द्रेगौंडामा रहेको नेपाल राष्ट्रिय उच्च माविको स्वर्णमहोत्सवका लागि लाग्ने अनुमानित २०/२२ लाख खर्च जुटाउने उद्देश्यले सुरु गरिएको घर दैलो अभियानमा यति धेरै रकम संकलन भएको हो । विद्यालयको क्षेत्र रहेको आँपचौर ६ र ७ वार्डका अभिभावकहरूले स्वस्फूर्तरूपमा खुलेर सहयोग गरेपछि चन्दा १ करोड १० लाख पुगेको विद्यालयले जनाएको छ । 

'हामीले कल्पना नै गरेका थिएनौं', विद्यालयका प्रधानाध्यापक डिलबहादुर अधिकारीले भने, 'तर अभिभावकहरूले विद्यालयका लागि निकै ठूलो सहयोग गर्नुभयो ।' सहयोग धेरै भएपछि अभिभावक, शिक्षक र विद्यार्थी उत्साहित भएको उनले बताए । स्वर्णमहोत्सवको खर्च कटाएर बचेको रकम गत वर्षदेखि सुरु गरिएको उच्च मावि र विद्यालयको स्तर वृद्धिमा प्रयोग गरिनेछ । अभिभावकको सहयोग निरन्तर रहेमा गाउँमै क्याम्पस सञ्चलनका लागि पहल गर्नेसमेत अधिकारीले बताए । 

आँपचौरमा नेरा उच्च माविसहित २ उच्च मावि र १ मावि सञ्चालनमा छन् । धेरै रकम संकलन भएपछि नेरा मावि आर्थिक रूपले सम्पन्न मावि बनेको छ । विद्यालयका लागि आँपचौर ७ का जीवन अर्यालले सबैभन्दा बढी रकम ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेका छन् । उनी बाहेक १ लाखभन्दा बढी सहयोग गर्ने चन्दादाताहरूको संख्या झण्डै ५० रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामजी भण्डारीले बताए ।

गाविसका नौं वार्डमध्ये विद्यालयमा ६ र ७ वार्डका मात्र विद्यार्थी अध्ययनका लागि आउने गर्दछन् । विद्यालयका शिक्षक कृष्ण घिमिरेका अनुसार विद्यालयमा २ सय ७५ विद्यार्थी अध्ययनरत छन् । गत वर्षदेखि सञ्चालन गरिएको उच्च माविको कक्षा ११ मा २२ विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयाईे स्वस्फूर्तरूपमा चन्दा सहयोग उपलब्ध गराउने झण्डै १ सय ५० भन्दा बढीलाई प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले दोसल्ला र कदरपत्रले सम्मान गरेका थिए । सम्मान गर्दै प्रजिअ अर्यालले अभिभावकले चाहेमा विद्यालयको आर्थिक, भौतिक अवस्थामा सुधार एवं गुणस्तरमा छिटो प्रगति हुने बताए । 'तपाइर्ंहरू जिल्लामै उदाहरणीय बन्नुभएको छ', प्रजिअ अर्यालले भने, 'विद्यालयको सबै क्षेत्र सुधारका लागि यस्तो सिको सबैले गर्नु जरुरी छ ।'

विद्यालयका अनुसार स्वर्णमहोत्सवका लागि गाउँका २ सय घरपरिवारमध्ये ५० हजार रुपैयाँ माथि सहयोग गर्ने ६० र १ लाख रुपैयाँ सहयोग गर्ने ५० भन्दा बढी छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग