मन्त्री बनेको केही घण्टाभित्रै बिष्ट खुकुरी आक्रमणमा
Published on
2:30:00 PM //
एमालेबाट ऊर्जामन्त्री बनाइएका केन्द्रीय सदस्य गोकर्ण बिष्टमाथि गोंगबु टाउनप्लानिङस्थित घरनजिकै सोमबार साँझ अज्ञात समूहले खुकुरी प्रहार गरेको छ ।
खुकुरी प्रहारबाट उनको टाउको र हातमा चोट लागेको छ । सोह्रखुट्टेस्थित मनमोहन अस्पतालमा उपचाररत बिष्ट खतरामुक्त रहेको अस्पतालले जनाएको छ । मोटरसाइकलमा आएका दुई जनाले लोडसेडिङको समयमा साँझ साढे ८ बजे बिष्टमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । मोबाइलमा कुरा गर्दै घर परिसरमा हिँडिरहेको अवस्थामा उनीमाथि आक्रमण भएको हो ।
घाइते भएका गोकर्ण विष्टको ठमेलस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार हुँदै । तस्बिरः दीपेश श्रेष्ठ |
काठमाडौं प्रहरी प्रमुख पुष्कर कार्कीका अनुसार प्रहरीले घटनास्थल नजिकैबाट बेवारिसे अवस्थामा छाडिएको एउटा मोटरसाइकल र पाँच शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । 'घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेर शंकास्पद पाँच जनालाई नियन्त्रणमा लिएको छ । आसपासका अन्य क्षेत्रबाट पनि करिब ३० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,' एसपी कार्कीले भने ।
बिष्टको स्वास्थ्य स्थितिबारे जानकारी लिन रक्षामन्त्री विष्णु पौडेल, एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीलगायत नेता साँझ अस्पताल पुगेका थिए । प्रहरी स्रोतका अनुसार घटनापछि विस्तारमा परेका मन्त्रीहरूको सुरक्षा बढाइएको छ ।