Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पशुपछि तरकारी र फलफुलको पनि बिमा गर्दै किसानहरू

Published on 2:36:00 AM //

 आफ्नो र जनावरको विमा गरेर जोखिम कम गर्दै आएका गुल्मीका किसानहरूले कृषि क्षेत्रमा पनि बाली बिमा अभियान शुरू गरेका छन् ।
किसानहरूले परीक्षणको रूपमा नेपालमै पहिलो पटक तरकारी, फुलफुल, मसलाजन्य उत्पादन र बिज उत्पादनमा बिमा शुरू गरेका छन् । व्यवसायिक रूपमा तरकारी र फलफुल उत्पादनमा लागेका अर्खले, जैसीथोक र सिमिचौरका किसानहरूले कृषि विकास बैंकको सहयोगमा बाली सुरक्षण (बिमा) अभियान शुरू गरेका हुन् । 
जिल्लामा यस वर्ष बैशाख महिना देखि परेको असिना र मुसलधारे पानीले १ करोड भन्दा बढीको बेमौसमी तरकारी खेती र फलफुल नष्ट गरेको छ । क्षतिबाट मर्कामा परेका किसानहरूले बिमाबाट राहत हुने आशामा अभियान शुरू गरेका हुन् । त्यसका लागि साना तथा लघु उद्यम विकास विभाग अर्न्तगतको कृषि विकास बैंकले किसानहरूलाई विधान तयार गर्न र आर्थिक सहयोग गरिरहेको छ । 
पहिलो चरणमा तिन गाविसका ९० जना व्यवसायिक किसानमा बाली सुरक्षण अभियान संचालन गरिएको कृषि विकास बैंक मुख्य कार्यालय काठमाण्डौका अधिकृत नन्दबहादुर बुढाले बताए । विदेशमा यस्तो व्यवस्था भएपनि नेपालको तरकारी खेतीमा यस्तो व्यवस्था पहिलो भएको उनको दावी छ । 
बाली सुरक्षण अभियान शुरू भएपछि व्यवसायीक किसानहरू पनि उत्साहित भएका छन् । ‘अघिल्लो महिना मात्र ६० हजार भन्दा बढीको तरकारी असिनाले नष्ट गर्‍यो’, सिमिचौरका कृषक गुणाखर कुँवरले भने, ‘फेरी पनि त्यस्तै बिपत्ती हुने हो कि भन्ने डरले बिमा अभियान शुरू गर्दै छौं ।’ तरकारीको बिमाले आफु जस्तै व्यवसायीक किसानलाई ठुलो राहत पुग्ने उनले बताए । उनी जिल्लाकै उत्कृष्ट तरकारी कृषक हुन् ।
जिल्ला कृषि विकास बैंकका प्रबन्धक गोपालप्रसाद गैरेका अनुसार तरकारी बिमा गर्नको लागि किसानहरू शुरूमा जिल्ला कृषि विकास कार्यालयमा समुह दर्ता गर्नुपर्ने हुन्छ । कृषि कार्यालयमा दर्ता भएका व्यवसायीक संस्थाहरूबाट एउटा बाली सुरक्षण उप समिति गठन गरिन्छ । त्यही समूहले विधान तयार गरेर व्यवसायिक कृषकहरूबाट लगानीको आधारमा प्रिमियम शुल्क उठाइन्छ । ‘बिमा गर्न चाहने हरेक कृषकले प्रति रोपनी १५ हजारको दरले १५ प्रतिशत प्रिमियम समुहमा बुझाउनु पर्ने हुन्छ’, गैरेले भने, ‘किसानले कोषमा जम्मा गरेको रकमबाटै क्षतिको मुल्याङ्कनका आधारमा क्षतिपूर्ति रकम भुक्तानी गरिन्छ ।’
काठमाण्डौका शाखा अधिकृत बुढाका अनुसार किसानले तिर्ने १५ प्रतिशत प्रिमियम मध्ये पनि कृषि विकास बैंकले ७५ प्रतिशत रकम अनुदान उपलब्ध गराउँछ । त्यसले गर्दा कृषकले १५ प्रतिशत प्रिमियमको २५ प्रतिशत मात्र भुक्तानी गरे पुग्छ । १ रोपनी जग्गामा खेती गर्ने कृषकले प्रति रोपनी १५ हजार लागतको प्रिमियम बापत एक सिजनको ५ सय ६३ रूपैंया मात्र तिरे पुग्ने अधिकृत बुढाले बताए ।
क्षतिपूर्ति मूल्याङ्कनका लागि बाली सुरक्षण मुल समिति, अगुवा कृषक, कृषि प्राविधिक र कृषि विकास बैंकका प्रतिनिधिहरूले अनुगमन गरेपछि मात्र भुक्तानीको सिफारिस गर्ने पनि बुढाले बताए । समितिले पहिलो पटकमा बढीमा दुर्इ लाखसम्म क्षतिपूर्ति दिन सक्नेछ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्ला ३ दर्जन बढी गाविसमा झण्डै ३ सय व्यवसायीक तरकारी कृषक छन् । बिमा अभियानले तिनीहरू सबैलाई बैमौषमी तरकारी, फलफुल लगायत उत्पादनमा सहयोग पुग्ने कार्यालयले जनाएको छ ।
बाली सरक्षण (बिमा) अभियान शुरूमा ९० किसान माझ मात्र गरिएको भएपनि यसको प्रगती हेरेर जिल्ला भरी नै बिस्तार गरिने कृषि विकास बैंकका प्रबन्धक गैरेले बताए । 


नयाभावना दैनिकबाट  

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग