Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दर्लामचौरमा २ दिने कृषि तालिम

शिबलाल सुबेदी
गुल्मी, २३ माघ, व्यावसायीक तरकारी खेती गर्न ईच्छुक २ दिने तरकारी खेती तालिम गुल्मीको दर्लामचौरमा सम्पन्न भएको छ ।
हरीयाली कृषक समूह दर्लामचौरको आयोजनामा गाउँ विकास समितिको सहयोगमा सम्पन्न तालिममा जिल्ला कृषि विकाश कार्यालयबाट तालिम दिईएको हो । हिजोदेखि शुरु भएको तालिममा टनेलभित्र र खुला आकासमा खोलभेडा खेती, च्याउखेती, मौरीपालन, भकारोसुधार, कम्पोष्टमल, नर्सरी व्याबस्थापान, झोल मल, किरामल र रोगकिरा व्यावस्थापन लगायतका विषयमा तालिम दिईएको कृषि सेवा केन्द चौरासिका प्रमुख विरबल चौधरीले बताउनुभयो ।
तालिमको सहजिकरण जिल्ला कृषि विकास कार्यालयका बरीष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारी, बाली संरक्षण अधिकृतहरु परशुराम अधिकारी, चेत बहादुर विष्ट र प्राविधीक विरबल चौधरीले गर्नुभएको थियो । तालिममा सो गाविसका ९२ जना किसानको सहभागीता रहेको थियो । तालिम पछि किसानहरुले अव व्यावसायीक तरकारी खेतीमा लाग्ने बताएका छन् । उनीहरुले जिल्ला कृषि विकास कार्यालयमा टनेल भकारो, मकै विउ, ट्याक्टर समेत माग गरेका छन् । समूह अध्यक्ष नरेन्द्र कुँवरको अध्यक्षता र  प्रेम भुसालको सञ्चालनमा भएको तलिमको समापन कार्यक्रममा समाजसेवीहरु तोयानाथ सापकोटा, रामेश्वर खत्री, जिल्ला कृषि विकास कार्यालयका परशुराम अधिकारी, विरबल चौधरी, गाविस सचिव सुरेन्द्र पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो ।

स्याङ्जामा यस बर्ष २९ करोडको सुन्तला

स्याङ्जा जिल्लामा यस बर्ष २९ करोडको सुन्तला उत्पादन भएको छ । गतबर्षको तुलनामा यस बर्ष सुन्तलाको उत्पादन २ दशमलव ९१ प्रतिशतले बृद्धि भएको जिल्ला कृषि विकास कार्यलय स्याङ्जालेबताएको छ । गतबर्ष २५ करोडको सुन्तला उत्पादन भएको थियो भने अहिलेको समयमा २९ करोडको सुन्तला उत्पादन भएको हो । गत बर्ष भन्दा ४ करोडको उत्पादन बढी भएको छ ।
कार्यलयका  अनुसार  अनुकुल  बातावरण  र  रोगको  आक्रमण  नहुनुका  साथै  असिनाको  प्रभाव  नपरेपछि गत बर्षमा  भन्दा  यस  बर्षमा सुन्तलाको उत्पादन बढको हो । जिल्लाको १६ सय ४१ ह्ेक्टर क्षेत्रफल जमिनमा सुन्तला रोपिएको भएता पनि त्यस मध्ये ११ सय ६० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुने जिल्ला कृषि विकास कार्यलय स्याङ्जाका वरिष्ठ कृषि विकास अधिकारी श्रीधर अधिकारीले बताए । अधिकारीका अनुसार सुन्तलाका लागि मौसम अनुकूल हुनुका साथै बगैचा व्यवस्थापन गरिएका कारण जिल्लामा सुन्तला उत्पादन बढेको हो ।
नेपालको तुलनामा अन्य जिल्लामा भन्दा स्याङ्जा जिल्लामा सुन्तलाको उत्पादन बढी हुन्छ । जिल्लाका पकड मानिने क्षेत्रमा सुन्तलाको राम्रो उत्पादन भएको थियो  ।  ‘जिल्लामा १०–१२ गाविस र नगरपालिकाका केहि २–४ वडाहरुमा सुन्तलाको पकड मानिने गरिन्छ  । उक्त पकडमा सुन्तलाको राम्रो उत्पादन हुने गर्छ  ।’ अधिकारी अधिकारीले बताए  ।  ‘सुन्तला खेतीमा भविष्य मानिने भएपछि किसानहरु बढि उत्साहित भएका छन् । बाँझो भनेर केहि नगरी छाडिने जमिनमा पनि सुन्तलाको बेर्ना लगाएर सुन्तला खेत गर्न थालेपछि कृषक सुन्तला खेतीमा आकर्षित भएका हुन ।’ कृषि विकास कार्यलयका प्राविधिक सहायक बद्धिप्रसाद लामिछाने बताउछन् । उनले भने  ‘सुन्तलाबाट राम्रो आम्दानी हुने प्रतिकेजी सुन्तला न्यूनतम ६०,७० रुपैयाँमा विक्री हुने भएपछि किसानहरु सुन्तलामा आकर्षित भएका हुन ।’ सुन्तलाको उत्पादन राम्रो भएतापनि सुन्तलाको मूल्य अन्य जिल्लाको तुलनामा पनी महँगो भएको स्याङ्जाबासीहरुको गुनासो रहेको छ ।
‘सुन्तला उत्पादमा कार्यलयले लगाएको अनुमान भन्दा ९ प्रतिशतले सुन्तलाको उत्पादन बढेको छ ।’ जिल्ला सुन्तला उत्पादक संघका अध्ययक्ष बोधराज अर्याल भने  ‘गत बर्षको भन्दा सुन्तला उत्पादन ४ करोडले बढी उत्पादन भएकोले कृषि विकास कार्यलयले समेत अनुमान लगाउन सकेको थिएन’ जिल्लामा सुन्तलाबाट कृषकहरु पनि लाभान्वित रहेका छन् । स्वदेशमा मात्र नभई विदेशमा पनि सुन्तला निर्यात हुने भएपछि किसानहरुले सुन्तला खेतीमा उत्साह देखाएका छन् । सुन्तलामा दुख गरे अनुसारको मूलय पाएपछि बाझाँ खेतमा समेत सुन्तला खेती गर्न थालेका छौ कृषक मीनप्रसाद कोइराला बताउछन् । कोइरालाले भने ‘बर्षेनी तीन चार लाखको सुन्तला विक्री गर्छु जसमा दु:ख गरे अनुसारको मूल्य पाएको हुदाँ सुन्तलाबाट फाइदा हुने मानेपछि सम्पूर्ण बाँझो खेतमा समेत सुन्तला खेती गर्न थालेको छु ।’

सामुदायिक जंगलभित्र कफीका बोट हुर्कंदै

घनश्याम गौतम
गुल्मी, माघ १८ । कफी खेतीका लागि उर्वर मानिएको गुल्मीका सामुदायिक बनभित्र कफीका बोट हुर्कन थालेका छन् ।
छहारी नभई नहुने कफी खेतीका लागि किसानले परीक्षणको रूपमा कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा जंगलभित्रै खेती सुरु गरेका हुन् । तीन वर्षअगाडि सुरु गरिएको परीक्षण सफल भएपछि  आँपचौर, दिगाम र ग्वादीका तीन सामुदायिक वनहरूले झन्डै २५ हजार कफीका बोट जंगलभित्रै हुर्काइरहेका छन् । किसानले सुरु वर्ष परीक्षणका लागि ५ सय बोट रोपेका थिए ।
दिगामको रुप्से सामुदायिक वन, आँपचौरको उपल्लो फाँट सामुदायिक वन र ग्वादीको कोलौंदी सामुदायिक वनले २ वर्षदेखि कफीका बिरुवा रोप्न थालेका हुन् ।
दिगाममा दुर्गा भवानी कृषक समूह गठन गरेर जंगलमा कफी खेती सुरु गरिएको छ । 'सुरुमा परीक्षणका लागि ५ सय बिरुवा मात्र रोपेका थियौं,' समूहका सदस्य तुल्सी कँडेलले भने, 'निकै राम्रो हुर्किएपछि अहिले थप २० रोपनी जग्गामा २ हजार बिरुवा रोप्ने तयारी गरेका छौं ।' कफी खेतीका लागि पात पतिङ्गरसहितको खुकुलो माटो र छहारी आवश्यक पर्छ । कफी खेतीका लागि मिल्दो वातावरण र ठूला रूखहरू भएको जंगलमा त्यस्तो सम्भाव्यता अध्ययन गरी दुई वर्षदेखि परीक्षण सुरु गरिएको हो ।
पहिलो चरणमा लगाइएका कफीका बोटहरू राम्रो देखिएकाले थप विस्तार गरिएको कृषि विकास कार्यालयका वरिष्ठ अधिकृत चेतनाथ अधिकारीले बताए । 

गाउँमै तरकारी फलाएर लाखौं कमाउँदै एकल महिला (अडियो रिपोर्ट)


आज भन्दा ६ वर्ष अघि जंगली जनावरको शिकार गर्छु भन्दा त्यसै बन्दुकको आफै शिकार भएका गुल्मी हर्दिनेटा ९ का कुमार बुढाथोकीकी श्रीमति विष्णु बुढाथोकी अहिले त्यस गाउँमा ब्यवसायिक तरकारी खेती गर्ने कृषकका रुपमा उदाहरणीय कृषक हुनुहुन्छ । टमाटर, बन्दा, काउली लगायतको तरकारी खेतीबाट उहाँले यस वर्ष मात्रै डेढ लाख रुपैयाँ कमाउनु भयो । त्यसको आम्दानीबाट दुई छोराछोरीलाई वोर्डिङ्ग स्कुल पढाउनु भएकी विष्णु उहाँ जस्तै आम एकल महिलालाई आफ्ना खुट्टामा उभिनका लागि प्रेरणाकी श्रोत हुनुहुन्छ । सुनौं गुल्मीन्युज सहयोगी माया पुनको यो रेडियो रिपोर्ट:
मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला ।

गाउँमै दुध बेचेर मासिक ३० हजार रुपैँया आम्दानी (अडियो रिपोर्ट)

१० वर्ष सम्म शहरमा पसल गरेर टाट पल्टेका छिमेकी जिल्ला अर्घाखाँचीको भगवती ९ काउले निवासी राजेन्द्र पाण्डेले यतिबेला दुध बेचेर महिनामा ३० हजार रुपैयाँ कमाउनु हुन्छ । दुई वर्ष अघि देखि ३ वटा जर्सी गाई र दुई वटा भैंसी पालेर तम्घासमा दुध बेच्न थालेका पाण्डे अहिले आफुलाई सफल कृषक ठान्छन्् ।  
 कृषकहरुले यसरी उत्साह पुर्वक काम गरे पनि कृषि विकास कार्यालयले आश्वासन मात्रै दिने गरेको प्रोत्साहन भने गर्न नसकेको गुनासो गर्ने उहाँको विहान चार वजे उठ्नु, घाँसपात , गोवरसोत्तर सक्नु र मोटर साईकलमा दुध राखेर तम्घासमा विहान ६ वजे आई पुग्नु दैनिकी बनेको छ ।
 यस्तै मेहनत गर्न सके विदेशमा हुने कमाई यसै पेशाबाट गाउँमै बसेर लिन सकिन्छ भन्दै पाण्डेले आफु जस्तै युवाहरुलाई विदेश नजान प्रेरित गर्दछन् । सुनौ सहकर्मी प्रेम सुनारले उनै सफल कृषक राजेन्द्र पाण्डेको गोठमा पुगेर तयार गरेको स्थलगत रिर्पोट: 

गुल्मीमा १५ करोडको तरकारी

गगनशिला खड्का
गुल्मी, ८ माघ । गुल्मी जिल्लामा एक वर्षको अवधिमा रु. १५ करोड २३ लाख ६५ हजारको तरकारी उत्पादन भएको छ ।
गुल्मीको ७०६ हेक्टर क्षेत्रफलमा ६ हजार ९४ मेट्रिक टन तरकारी उत्पादन भएको हो । एक वर्षमा उत्पादित तरकारीमध्ये ४ हजार ९१० मेट्रिक टन मौसमी र १ हजार १८४ मेट्रिक टन बेमौसमी तरकारी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
गुल्मीका १३ गाविस तरकारीमा आत्मनिर्भर समेत भएको कार्यालयले जनाएको छ । तरकारीमा आत्मनिर्भर हुने गाविसमा अर्खले, सिमिचौर, हर्दिनेटा, जैसिथोक, गौँडाकोट, पल्लीकोट, हुँगा, बलेटक्सार, ग्वादी, अस्लेवा, ठूलोलुम्पेक, अमरपुर र पूर्कोटदह छन् ।
गुल्मीमा अहिले गोलभेडा, काउली, बन्दा, खुर्सानी, काँक्रो, करेला र भण्डा लगायतका तरकारी उत्पादन हुने गरेको कृषि विकास कार्यालयका प्राविधिक सनबहादुर रानाले बताए । गुल्मीमा उप्पादित तरकारी बुटवल, पोखरा र भारतका विभिन्न ठाउँमा बिक्री हुने गरेको छ ।

स्वीकृत कृषी योजनाका विषयमा छलफल

पि.एम.मगर
गुल्मी, पौष २४। जिल्ला कृषि विकास कार्यालय, गुल्मीले आर्थिक वर्ष २०७०÷७१ म स्वीकृत कार्यक्रम तथा क्षेत्र बाँडफाँडका विषयमा बुधबार सदरमुकाम तमघासमा एक कार्यक्रमको आयोजना गरी जानकारी गराएको छ ।

कार्यालयले जिल्ला स्थित विभिन्न राजनीतिक दल, पत्रकार तथा सरोकारवाला संघ संस्थाहरुलाई आमन्त्रण गरी जानकारी गराएको हो । बरिष्ट कृषी विकास अधिकृत चेतनाथ अधिकारीले अबको योजनामा निक्षेपित योजना अन्तर्गत व्यवसायिक सुन्तला फलफुल विकास आयोजना, व्यवसायिक तरकारी विकास आयोजना, व्यवसायीक मौरी विकास आयोजना, अदुवा विकास आयोजना, व्यवसायीक उखु उत्पादन आयोजना, कृषीमा यान्त्रीकरण बिकास आयोजनाहरु रहेको बताउनुभयो ।
 
त्यस्तै सहकारी खेती साना सिँचाई तथा मल विउ ढुवानी कार्यक्रम, आलु तरकारी तथा मसला विकास कार्यक्रम, कागती मिसन कार्यक्रम, कफी विकास कार्यक्रम, मत्स्य विकास कार्यक्रम, माटो सुधार कार्यक्रम, कोदो मिसन कार्यक्रम, बृहत्तर मकै बाली कार्यक्रम, एकीकृत बाली तथा जल व्यवस्थापन जस्ता कार्यक्रमहरु स्वीकृत भएको उहाँले बताउनुभयो । त्यस्तै उहाँले जिल्लाको दश वर्षे कृषी योजना कार्यक्रम अन्तर्गत व्यवसायीक तरकारी विकास आयोजना, व्यवसायिक उखु उत्पादन आयोजना, व्यवसायिक मौरी विकास आयोजनाहरु सञ्चालनमा आउने बताउनुभयो ।
व्यवसायीक तरकारी विकास आयोजनातर्फ रुरु तमघास कोरीडोर, रुद्रबेणी वामीटक्सार कोरीडोर, तमघास–चौरासी–सिमलटारी कोरीडोर, तमघास–जैसीथोक–पुर्कोट कोरीडोर निर्धारण गरी योजना सञ्चालन गर्न लागेको छ भने व्यवसायिक उखु उत्पादन आयोजनातर्फ थानापति, दिगाम, बलेटक्सार, विरबास गाविसमा सञ्चालन गर्न लागिएको छ । त्यस्तै व्यवसायक मौरी विकास आयोजनातर्फ नयाँगाउँ, पिपलधारा, हाडहाडे, बलिथुम, जुभुङ्ग, अर्लाङ्गकोट, अमरअर्बाथोक, मुसीकोट, खडगकोट, ग्वादी, जयखानी, जुनियाँ, दरबार देविस्थान, दौँघा, पराल्मी, फोक्सिङ्ग, विश्सुखर्क, वामी, शान्तिपुर, मलागिरी, हँसरा र हस्तीचौरमा कार्यक्रम सञ्चालन हुन लागेको कार्यालयले जनाएको छ ।

कार्यक्रममा सहभागीहरुले स्वीकृत योजनाहरुलाई सफल बनाएरै लैजानुपर्नेमा जोड दिएका थिए । नेपाली काँग्रेसका उपसभापति भुवनप्रसाद श्रेष्ठले कोरीडोर निर्माण केबल देखाउनका लागि मात्र नभई यसको लाभ तथा सफलता बास्तविक कृषकहरुले प्राप्त गर्ने गरी लैजानुपर्ने साथै त्यसका लागि बास्तविक कृषकको पहिचान गर्नुपर्नेमा जोड दिनुभयो ।

 उहाँले जहाँ जे उत्पादन हुन्छ त्यसैलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव सोमनाथ सापकोटा, एकीकृत नेकपा माओवादी, राज्य समिति सदस्य अशोक थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष जिवन राना, राप्रपाका अध्यक्ष भरतबहादुर चन्द, अखण्ड नेपाल पार्टीका सचिव खड्ग जिसी, गैर सरकारी संस्था महासंघका अध्यक्ष बिष्णुप्रसाद भण्डारी, गुल्मी उद्योग बाणिज्य संघका महासचिव कृष्णप्रसाद पोखरेल, नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम लगायतको विशेष सहभागिता रहेको थियो ।

किसानको घरमा पुग्दैनन् कृषि र पशु प्राविधीक, बारीमा प्राविधिक नगएपछि किसान समस्यामा

भरत पाण्डेय
गुल्मी । गतवर्षदेखि व्याबसायीक रुपमा टमाटर खेती गरेका सदरमुकाम तमघासको नेटा गाउँका किसान ज्ञानीश्वर पन्थी अहिले निकै निराश छन् । आफ्नै सिपले जानी नजानी टमाटर खेती गर्दा तत्कालका लागि उत्पादन राम्रै भएपनि यसलाई अझ राम्रो बनाउने, रोक किरा नियन्त्रण गर्ने, थप विस्तार गर्ने लगायतका विषयमा उनलाई कुनै ज्ञान छैन । पटक पटक गुहार गर्दा पनि  गर्दापनि उहाँको बारीसम्म कृषि प्राविधीक नपुगेपछि उनी अहिले आफ्नो व्याबसायकि खेतीलाई थप विस्तार गर्ने वा नगर्ने भन्ने विषयमा अलमल छन् । ‘हामीहरुले धेरैपटक भन्यौँ अहिलेसम्म तालिम पनि छैन, अहिले तरकारी गरेको भनेको नजानी नजानी आफ्नै अनुभवमा गरीयो’– उनले भने – ‘सिँचाई कसरी गर्ने, रोग किरा कसरी नियन्त्रण गर्ने केही जानकारी अहिलेसम्म पाएका छैनौँ ।’

उनी साधारण किसानजस्तै बाध्यताले कृषि पेशा शुरु गरेका हैनन् । नेपालमा गतवर्षदेखि शुरु भएको कृषि विकासका लागि अन्तराष्ट्रि«य कोष क्ष्ँब्म् को  किसानका लागि उन्नत विउविजन कार्यक्रम अन्तर्गत पहिलोपटक नमुना कार्यक्रमको शुरु भएको नेटा गाउँमा सरोकारवाला कार्यालयहरुले कुनै चाँसो नदेखाएपछि गाउँका सबै किसान अहिले निराश छन् । गतवर्षको फागनुदेखि ठूलो महत्वको योजना भन्दै नमुना कार्यक्रम गर्ने भनेर सबैले अह्राएपछि  त्यहाँका किसानले तरकारी तथा पशुपालन शुरु गरे । पहिलो पटक उत्पादन राम्रै पनि भयो । तर कार्यक्र शुरु गर्न गाउँ पुगेका जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु त्यसपछि अहिलेसम्म फर्केर नेटा गाउँ गएका छैनन् ।

‘सदरमुकामबाट जम्मा ६ किलोमिटर टाढा छ, तर अहिलेसम्म कोही फर्केर आएको छैन ’– गाउँका अर्का किसान तथा पूर्व शिक्षक ठाकुर पन्थी भन्छन् – ‘नमुना कार्यक्रम भनेपछि त नमुनाकै रुपमा लैजानको लागि नियमति रेखदेख, किसानलाई तालिम, प्रेरणा, उत्साह, रोगकिराको समाधान, भकारो सुधार जस्ता कार्यक्रम गर्नुपर्ने हो नि, खै केही छैन ।’

आउँदो १० बर्षमा गुल्मीलाई सम्मुन्नत जिल्ला बनाउने उद्धेश्यका साथ गुल्मीका राजनैतिक दलहरुले कृषि र पशुसेवा कर्यालय संगको समन्वयमा १० वर्षे कृषि रणनिती तयार पारी जिल्ला विकाश समिती संगको समन्वयमा गतवर्ष देखि शुरु गरेका थिए । सोही कार्यक्रमलाई सहयोग पुग्ने गरी कार्यक्रम आएको भन्दै सरोकारवालाले ठूलो तामझामका साथ गतवर्ष आईफ्याडको सो कार्यक्रम शुरु गरेका हुन् ।

गुल्मीमा १० वर्षे कृषि रणनिती अन्तर्गत ६८ करोड ६५ लाख ९२ हजार लाग्ने अनुमान गरीएको उक्त रणनिती अन्तर्गत अन्तर्गत कृषिका लागी  ४७ करोड ७७ लाख ४३ हजार  र पशुपालनका लागी २१ करोड ८८ लाख ४९ हजार रुपैयाँ खर्च गर्ने योजना रहेको कार्यक्रमका अगुवा भरत बहादुर चन्दले बताए ।

यो योजना अन्तर्गत १० वर्षमा जिल्लाका २४ हजार घरधुरीका डेढ लाख व्यक्तिलाई रोजगारी दिने र अन्तिम वर्ष अर्थात २०८९ सालमा हरेक घर परीवारको वार्षिक आम्दानी ३३ लाख ६१ हजार ५ सय ३४ रुपैयाँ हुने लक्ष्य लिईएको हो । यो वर्ष रणनिती कार्यान्वयनको पहिलो वर्ष हो ।

नेपालका हिमाली र पहाडी क्षेत्रमा रहेको उच्च गरीवि स्तर र उच्च जनघनत्व रहेको क्षेत्रमा कृषि विउ र पशुजन्य उत्पादनको लागि निजी क्षेत्रको साझेदारीमा ‘किसानका लागि उन्नत विउविजन कार्यक्रम’ शुरु गरीएको क्ष्ँब्म् ले जनाएको छ । सन २०१३ देखि २०१८ सम्म चल्ने कार्यक्रमले यस अवधिमा आर्थिक विकासमा टेवा पुर्याउने, लक्षित क्षेत्रमा प्रतिस्पर्धि, दिगो र समावेशी कृषि विकास प्रवद्र्धन गर्ने जनाईएको छ ।

१० वर्षे रणनीति शुरुवात गर्ने क्रममा आएका कृषि सम्बन्धी परीयोजनाहरुलाई प्रभावकारी ढंगले अगाडी बढाउने भन्दै सदरमुकाम गाविसकै वार्ड नं ९ नेटाका उक्त कार्यक्रम लागु गरीएको थियो भने त्यसलाई सफल पार्न जिल्ला विकास समतिले किसानलाई २० थान प्लाष्टिक टनेल उपलब्ध गराएको हो ।

तर दलहरुको यो महत्वकाँक्षी योजनाको शुरुमै सरोकारवाला कार्यालय कृषि विकास र पशुसेवा कार्यालयको बेवास्ताका कारण नमुना कार्यक्रम नै चौपट हुने अवस्थामा पुगेको छ । गाउँमा देशकै नमुना कार्यक्रम शुरु हुने भयो भनेपछि उत्साहका साथ ७० परीवार किसानले  गाईपालन र तरकारी खेती गर्ने योजना बनाए । तर योजना बनाउनको भोलिपल्टदेखि नै कृषि तथा पशुसेवा कार्यालयबाट कुनै सहयोग नभएपछि निराश बनेकाले उनीहरु मध्ये जम्मा १० जनाले गाईपालन र २६ जनाले टमाटर खेती गरेको गाउँका अगुवा तथा नमुना दुग्ध उत्पादन कृषक समूहका अध्यक्ष माधवराज पन्थीले बताए ।

किसानहरुले टमाटर खेती गर्नको लागि टनेल बनाउन १० खेखि १५ हजार सम्म र गाई पालनको लागि ६० देखि ८० हजारसम्म खर्च गरीसकेको उनले बताउनुभयो । ‘टमाटरका लागि प्लाष्टिक किन्न, टनेल बनाउन र औषधी, मल लगायतका काममा एक किसानको १० देखि १५ हजार सम्म र गाई किन्न, ढुवानी, भकारो सुधार गरेर गाईपाल्ने किसानले ६० देखि ८० हजारसम्म खर्च गरेका छौँ ।’– पन्थीले भने ।

सदरमुकाम तम्घास बजारबाट जम्मा ६ किलोमिटर टाढाको यस ठाउँमा अहिलेसम्म कृषि र पसुसेवा कार्यालयका प्राविधीकहरु पुग्न सकेका छैनन् । सरकारी निकायले नै चाँसो नदेखाएपछि उत्साहित भएर लागेका किसानहरु पनि निराश बन्न थालेका छन् । आफूले ३ वटा गाई र भैँसी आफ्नै घरेलु तरीकाले पालीरहँदा राम्रै आम्दानी भएको तर यसलाई आधुनिकीकरण गर्नको लागि कसैले सहयोग नगरेको बताउनुहुन्छ पशुपालक किसान राजेन्द्र पाण्डे । ‘तीनवटा गाई र २ भैँसी पालेर दैनिक ३० माना दुध बेच्दा मासिक ४० हजार कमाउँछु तर कसैले सहयोग गरेको छैन, खाली आफ्नै गाउँघरे पाराले ’– पाण्डे भन्छन् – ‘ ५०÷६० हजार हालेर गाई ल्याईएको छ, विरामी हुँदा, बाँझै रहँदा के गर्ने पत्तो छैन, त्यो डरले गर्दा अरु छिमेकीहरुले गाई पाल्न आँट्नै सकेका छैनन् ।’

कार्यक्रम शुरु हुने बेला सबै किसानलाई यो क्षेत्रमा जुनसुकै सहयोग पनि गरीन्छ भनेर उत्साह पनि दिईएको थियो । त्यसपछि किसानहरु आ आफ्नो ईच्छा अनुसार तरकारी खेती र पशुपालन शुरु गर्न थाले । गाई खरीद गर्न, भकारो सुधार गर्न, अरु सल्लाह सुझाव सबै उपलब्ध गराउँछौँ भनेका कृषि कार्यालय र पसुसेवा कार्यालयले अहिले पूरै वेवास्ता गरेको किसान बताउँछन् ।

‘कृषिबाट प्राविधकिहरु आएर विरुवा कतिबेला कसरी लगाउने, औषधी कतिबेला कसरी छर्ने, कस्तो रोग लागेका कस्तो औषधी छर्ने भन्ने प्राविधीक ज्ञान हामीलाई नहुँदा लगाएको बन्दा र फूलगोपी बारीमै हरायो ’– पन्थीले भने – ‘गाईबस्तु राम्ररी पाल्न भकारो सुधार गर्ने, घाँस लगाउने काम आफै पैसा खर्च गरेर गरेका छाँै, तर कसैले ज्ञान नदिएपछि कस्तो भयो कस्तो थाहा छैन ।’ भकारो सुधारका लागि कृषि कार्यालयबाट किसानलाई सहयोग गर्ने भनेर किसानहरुले ६ देखि १० हजार सम्म खर्च गरेको तर अहिलेसम्म कहिँ कतैबाट सोधखोज नभएकोले पनि आफूहरु निराश भएको उनले बताए ।

यसबारेमा सरोकारवाला निकायको भने फरक फरक प्रतिकृया छ । प्राविधीकहरुले आफूखुसी रकम असुल्न नपाएकोले नगएको किसानहरुको आरोप छ । आफू जनताको् घरसम्म पुग्दा मोटरसाईकलमा तेल पनि नहालीदिने भएकालेले समस्या भएको जिल्ला कृषि र पशुसेवा कार्यालयका प्राविधीकहरुले बताउँछन् । तर जिल्ला कृषि विकास कार्यालयका बरीष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारी भने एउटा प्राविधीकले धेरै गाविस हेर्नुपर्ने भएकोले त्यहाँका किसानलाई धेरै समय दिन नसकेको भन्दै उनीहरुको ढाकछोप गरे । उनले अव जनताको घर घरसम्म पुग्न नसक्नेलाई कार्वाही गर्ने बताए  ।

नवलपरासीमा यसबर्ष अदुवाको उत्पादनमा बृद्धि हुने भएपछी किसानहरु खुसी

कृष्ण बिसी
नवलपरासी, पौष २१ । वर्षौदेखि अदुवा खेति गर्दै आएका नवलपरासीका किसानहरुले यस बर्ष गत बर्षको तुलनामा अदुवा उत्पादनमा बृद्धि हुने भएपछि किसान खुसी भएका छन । गत बर्षको तुलनामा यस बर्ष नवलपरासीमा २० प्रतिशतले अदुवा उत्पादनमा बृद्धि हुने देखिएको छ,। जिल्लाको  १७ गाविसमा व्यवसायिक रुपमा अदुवा उत्पादन गरेका नवलपरासीका अदुवा कृषकले झण्डै ४० करोड अदुवा विक्रीबाट आम्दानी गर्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाको पहाडी गाविसहरु रतनपुर, कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौवारी, भारतीपुर, मिथुकरम, रुचाङ, रकुवा, नरम, डेढगाउँ, धौवादी, मैनाघाट, हुप्सेकोट, राकाचुली, धुर्कोट, वेणिमणिपुर, देउराली लगायतका गाविसहरुमा व्यवसायिक रुपमा अदुवा खेती हुदै आएको छ ।गत बर्ष करीब दश हजार मेटिक टन उत्पादन भएको अदुवा यस बर्ष १२ हजार मेटिक टन भन्दा बढि उत्पादन हुने र यसबाट झण्डै ४० करोड बराबरको अदुवा नवलपरासीबाट निकासी हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

गुल्मीमा यस वर्ष सुन्तलाबाट १३ करोड

प्रेम सुनार
गुल्मी, १९ पुस । गत वर्षको तुलनामा यस वर्ष गुल्मीमा सुन्तलाको उत्पादन ७ प्रतिशतले बृद्धि भई अहिले सम्म कै बढि मुल्य बराबरको उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सो कार्यालयले दिएको विवरण अनुसार वर्तमान बजार भाउ प्रतिकिलो न्युतम ५० का दरले हिसाव गर्दा पनि १३ करोड रुपैयाँ भन्दा बढिको सुन्तला गुल्मीमा यस वर्ष उत्पादन भएको छ ।
सो कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत चेतनारायण अधिकारीका अनुसार यस वर्ष सुन्तलाको बृद्धि १० प्रतिशत लक्ष्य राखिएको थियो तर सुन्तलाले फुल हाल्ने बेलामा असिना पानीले क्षति पुराउँदा ७ प्रतिशत मैं चित्त बुझाउनु परेको छ । ‘गत वर्षदेखि सुन्तला पकेट क्षेत्र घोषणा गरेर कृषकहरुलाई ३० हजार बेर्ना अनुदानमा बाँडेका हौं’– अधिकारीले भने–‘यस वर्ष ६० हजार भन्दा बढि बेर्ना बाँड्ने भएका छौं, सुन्तलाको प्रशस्त सम्भावना देखेरै हामी लागि परेका छौं, अहिलेको उत्पादन पुरानै बगैंचाहरुलाई ब्यबस्थीत र ब्यबसायीक बनाएर भएको हो ।’ उनले थपे–‘ कम्तीमा पनि ३० वटा बेर्ना लैजानेलाईँ हामीले अनुदानमा दिने गर्दछौं, प्याकिङ्ग चार्ज सहित ९ रुपैयाँ प्रति बेर्नामा ६ रुपैयाँ कृषकले तिनु पर्छ तपाई पत्रकारहरु पनि आउनु प¥यो र अरु कृषकहरुलाई पनि हाम्रो यो मिशनप्रति आकर्षित गर्नु प¥यो । ’ उनका अनुसार सो कार्यालयले सुरु गरेको ब्यबसायिक सुन्तला नर्सरीले उत्पादन दिन थालेपछि अहिलेको आम्दानी भविस्यमा दोब्बर हुने देखिएको छ । पछिल्ला तिन वर्षमा वार्षिक सरदर ११ करोड मुल्य बराबरको सुन्तला उत्पादन हुँदै आएको थियो ।
सो कार्यालयका वागवानी प्रविधिक सहायक दोमलाल भुसालले तयार पारेको विवरण अनुसार जिल्लाको कुल ५ सय २० हेक्टर मध्ये उत्पादनशिल २ सय ७६ हेक्टरमा यस वर्ष २ हजार ६ सय ५६. ८८ टन सुन्तला उत्पादन भएको छ । जुन २६ लाख ५७ हजार ८ सय ८० किलो हुन आउछ । जसलाई हालको बजार भाउ प्रति किलो ६० का दरले नभई न्युतम ५० का दरले हिसाव गर्दा १३ करोड २८ लाख ९४ हजार रुपैयाँको सुन्तला गुल्मीमा यस वर्ष उत्पादन भएको छ । त्यसका अलवा जुनार ३ हेक्टरमा, कागती ९ हेक्टरमा , अमिलो ( निवुवा ), भोेगटे, चाक्सी आदी सुन्तला जन्य फलफुल २ हेक्टरमा उत्पादन भएको छ । यसको भने प्रय: व्यवसायीक नभई घरयासी उपभोग हुने भएकोले माथी उल्लेखित हिसावमा जोडिएको छैन् । यो सहित जोड्ने हो भने गुल्मीमा वार्षिक १५ करोढ भन्दा बढि रकम सुन्तला जन्य फलफुलबाट मात्रै आम्दनी हुन्छ । प्राविधिक सहायक दोमलालका अनुसार कागती गुल्मीमा वार्षिक ६२. ६ टन र अन्य सुन्तला जन्य उत्पादन १५. ५२ टन हुँदै आएको छ , ‘यसलाई पनि ब्यबसायीकरणको आवस्यकता छ’– उनि भन्छन्–‘ सिमीचौर, अर्खले लगायतका कृषकहरुले भने कागतीलाई सदरमुकाममा ल्याएर ब्यबसायीकरण गरी रहेका छन् ।’
कृषि विकास कार्यालयले जिल्लामा तिन वटा सुन्तला पकेट क्षेत्र घोषणा गरेको छ । पकेट क्षेत्र नम्वर १ अन्तगरत दिगाम, बिरवास, हर्दिनेट र गौडाकोटमा कुल ५४ हेक्ट सुन्तला
उत्पादन जमिन मध्ये हाल उत्पादनशिल २२ हेक्टरमा २ सय ११.८६ टन उत्पादन हुने गरेको छ । जुन २ लाख ११ हजार ८ सय ६० किलो हुन आउछ । जसबाट प्रति किलो ५० का दरले वार्षिक १ करोड ५ लाख ९३ हजार रुपैयाँको सुन्तला त्यस क्षेत्रमा उत्पादन हुन्छ । त्यस्तै गुल्मी जिल्ला एकिकराण हुनु अघि देखि नै स्वादिलो सुन्तलाको गाउँ भनेर चिनिने नयाँगाउँ, पिपलधारा, हाडहाडे, भनभने र यता अर्खले गविस सम्मलाई कृषि विकास कार्यालयले सुन्तला पकेट क्षेत्र नम्वर २ बनाएको छ । त्यस क्षेत्रको कुल १ सय ७४ हेक्टर मध्ये ५९ हेक्टर उत्पादनशिल रहेको र त्यहाँबाट यस वर्ष ५ सय ६८. १७ टन उत्पादन भएको छ । त्यसबाट २ करोड ८४ लाख ३५ हजार रुपैया सो क्षेत्रले यस वर्ष आम्दानी लिएको छ । सो क्षेत्रको नयाँगाउ गाविसमा पहिलेदेखि नै बढि सुन्तला फलाईन्छ । जहाँ गत केहि वर्ष यता न्युनतम वार्षिक १ करोड आम्दानी हुन्छ । त्यस क्षेत्रका कृषकहरुले अहिले मकै फल्ने पाटामा सुन्तलाको नर्सरी बनाउन थालेका छन् । जुन नर्सरीले फल दिन थालेपछि नयाँगाउ, पिपलधारा , हाडहाडे , भनभने र अर्खलेबाट मात्रै यस वर्ष सिंगो जिल्लाबाट आम्दानी भएको रकम बराबरको सुन्तला उत्पादन हुने देखिएको छ ।
पकेट क्षेत्र नम्वर ३ अन्तरगत अर्वेनी, हर्मीचौर, जयखानी र अर्लाङ्गकोट गाविसमा कुल ५० हेक्टर मध्ये २० हेक्टरमा उत्पादन भएको छ । जसमा १ सय ९२. ६ टन सुन्तला यस वर्ष उत्पादन भएको छ । जसबाट कुल यस वर्ष ९६ लाख ३० आम्दानी भएको छ । यि पकेट क्षेत्र बाहेक जुभुङ्ग, पराल्मी, सिर्सेनी , पुर्कोटदह। मर्भुङ्ग, अग्लुङ्ग लगायतका गाविसमा उत्पादन हुने सुन्तलाबाट यस वर्ष कुल त्यो रकम जिल्लालाई आम्दानी भएको हो । प्राविधिक सहायक दोमलालका अनुसार अर्लाङ्गकोटका स्वर्गिय आत्माराम भण्डारील जिवित छँदा बनाएको सुन्तला नर्सरीबाट मात्रै उनका परिवारले वार्षिक सरदर २ लाख आम्दानी लिन्छन् अहिले ।
सोही गाउँका सुशिल भण्डारीले वार्षिक १ लाख आम्दानी लिन्छन् । उनकै छिमेकी कृष्ण भण्डारीले त सोलर स्टोर अर्थात सुन्तला भण्डार स्थापना गरेका छन् । उनले १३ महिना सम्म सुन्तला नबिग्रीने त्यो स्टोरमा राखेर सुन्तलाको चिज हुने महिना चैत्र बैशाखमा बेच्छन र यो सिजनको दोगुना २ लाख करिव आम्दानी लिन्छन् । त्यस्तै दिगामको श्रृंगा निवासी भिमलाल कंडेलले पनि त्यस्तै स्टोर सञ्चालन गरेका छन् । उनले पनि यो सिजनमा नबेचेर अन्यत्र सुन्ताले फुल खेल्ने महिनमा बेच्ने गर्दछन् ।  उनको वार्षिक एक लाख र सोही गाविसको रुक्से गाउँका लालबहादुर ककंडेलले पनि वार्षिक एक लाख सुन्तलाबाट कमाउने गर्दछन् । उता सुन्तला पकेट क्षेत्र नम्वर २ अन्तरगत नयाँगाउँ ४ का नाराण थापा, वडा नम्वर १ का रामबहादुर घर्ति, वडा नम्र ८ का चेतनारयण आर्चाय लगायतका सयौं नयाँगाउँवासीले वार्षिक सरदर १ लाखका दरले आम्दानी लिने गरेका छन् । पिपलधार ५ का ७९ वािर्षया भेषबहादुर जिसीले समेत आटो खाने पाटोलाई सुन्तला नर्सरी बनाएका छन् ।
‘कि त भने कृष्णनगर सम्म पुगेर सुन्तलाले नुन साटेर ल्याउँथ्यौं ’–‘जिसीले भने–‘ अहिले त घरै अगाडीबाट गाडी चल्छ, छोराहरु सवै विदेश हामी बुढाबुढीले खेती गर्न सक्दैनौं, त्यसैले पाटामा सुन्तलाका बेर्ना रोपेका छौं ।’ १३ दिन सम्म हिडेर नुन बोकी खाएको अनुभव संगालेका जिसी भन्छन–‘अहिले त सुन्तला लगायत सवै कुराबाट गाउँमा साह्रै विकास भयो, पैसाको कमी हुन छाड्यो, अहिले त त्यही नजिकैको पसलबाट जान नानी नुन लिएर आईज भन्दा पनि केटाकेटीले धौं मान्छन् । ’ पिपलधारा ७ का विष्णु खनाल, ९का केशव खनाल, लगायतका सयौं घरधुरीले वार्षिक ५० देखि १ लाख सम्म आम्दानी लिने गरेको पिपलधार कृषि सम्पर्क केन्द्र प्रमुख नारायणप्रसाद भुषाल बताउछन् । उनका अनुसार हाडहाडे १ का एमबहादुर कुँवर, वडा नम्वर ३ का नन्दबहादुर रोका, २ का थानबहादुर नगरकोटी लगायतले वार्षिक सरदर १ लाख आम्दानी सुन्तलाबाट लिने गरेका छन् । सेवा केन्द्र प्रमुख भुसाल भन्छन् यस क्षेत्रका बगैचाहरु पुराना भई सके नया ब्यवस्थापनको जरुरी भैसकेको छ ।
उता पुर्कोटदह कृषि सम्पर्क केन्द्रमा सम्पर्क राख्दा त्यस अन्तरगतका पाँच वटा गाविसमा पनि सुन्तलाको नयाँ बगैंचा आवस्यकता भएको सेवा सम्पर्क केन्द्र प्रमुख हुमबहादुर थापा बताउछन् । भन्छन्–‘ यस अन्तर्गतका गाविस पुर्कोटदह, भनभने, म्यालपोखरी, मलागिरी र वाग्लामा सुन्तला बगैंचाहरु पुरानो हुँदै गएपछि कम फल्न थाले यसर्थ नया बगैंचा र ब्यबसायीकरणका लागि कृषहरुलाई चेतना अभिबृद्धिको खाँचो छ ।’ उनका अनुसार पुर्कोटदह १ बाट केहि दिन अघि मात्र छिमेकी वजार प्युठान तर्फ २ ट्याक्टर सुन्तला पठाईयो । त्यस गाविस वडा नम्वर ९ का मनिराम थापा, देवबहादुर थापा लगायतले वार्षिक ५० हजार सम्म सुन्तलाबाट आम्दानी लिन्छन् । त्यस्तै भनभनेमा एकिकृत नेकपा मआवादीका केन्द्रय सदस्य दिनेश पन्थीको परिवार पहिले देखि सुन्तला फलाएर आम्दनी लिने परिवार हो । सेवा केन्द्र प्रमुख थापा भन्छन्–‘ अँस्ती मात्र दिनेश सरले लौन नयाँ वगैचा सुरु गर्नका लागि के के गर्न पर्छ भनेर राय माग्नु भएको थियो ।’
भनभनेका मुरलीधर पन्थी, कुलप्रसाद घर्ति लगायतले वाािर्षक २० देखि ५० हजार आम्दानी लिने गरेको उनले बताए । यता जिज्यु बाजेको पाला देखि अर्खलेको भाँडगाउँ नाम लिन बित्तिकै सुन्तलाको सम्झनाले मुख रसाउने ठाउँ भाडगाउँमा अहिले युवा पुस्ता सुन्तला खेतीलाई ब्यबासीयकरण गरेर आम्दानीको प्रमुख माध्यम बनाउन लगि परेका छन् । भाडगाउँ माध्यामिक विद्यालयका शिक्षक थम्मन केसीले ३० रोपनीमा २ सय ५० वोट सुन्तालाबाट यस वर्ष १ लाखको सुन्तला बेची सकेका छन् भने करिव ४० हजार बराबरको सुन्तला बेच्न बाँकी रहेके बताउ छन् । उनले फल्न बाँकी रहेका ३ सय बेर्नाबट भविस्यमा वार्षिक ५ लाख आम्दानी लिने लक्ष्य लिएको बताए ।
उनका छिमेकी पुर्व गाविस सचिव शेरजंग बस्नेत, पुराना समाज सेवी पदमलाल पाण्डे, मानबहादुर घर्ति लगायतले उर्नैैको हाराहारीमा सुन्तला उत्पादन गर्ने गरेका छन् । अझ २९ वर्षिय त्यस गाउँका युवा निरज मरासीनी र ३२ वर्षिय परमोद मरासीनी नयाँ सोच र जोसका साथ ब्यबसायिक कृषिमा लागेका छन् । निरजले ३६ वर्ष पुरानो सुन्तला बगैंचालाई ब्यबस्थीत गरेर सुन्तलाको बेर्ना बेच्ने नर्सरीमा रुपान्तरण गरेका छन् । फल दिने सय वोट सुन्तलाबाट यस वर्ष १ लाख आम्दानी लिएको र १५ हजार वेर्नाबाट सरदर ३ लाख आम्दानी लिएको बताउ छन् । उनले टनेल निर्माण गरी टमाटर खेती समेत सुरु गरेको बताए ् । उनले आगामी वर्ष देखि वार्षिक ५ लाख सम्म आम्दानी लिने लक्ष्य लिएको बताए ।
त्यस्तै परमोद पनि त्यही लक्ष्यका साथ उनि भन्दा केही कम सुन्तलाबाट आम्दानी लिने युवामा पर्दछन् । यि बाहेक सुन्तलाको बगैंचा नहुने भाडगाउका कुनै घरधुरी छैनन् । पछिल्लो चरण युवाहरुमा आएको यस्तो जागरुकताका कारणले पनि जिल्लाको तरकारी खेती, सुन्तला र कफी खेतीको विकासमा फड्को मार्ने क्रम बढेको वरिष्ठ कृषि विकास अधिकृत चेतनाराण अधिकारी बताउछन् । उता स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवाली कृषि उत्पादनले नै जिल्लाको मुहार फेर्ने देखेरै दश वर्षे कषि योजनाको अवधारण ल्याई अगाडी बढिएको बताउ छन् ।
गुल्मीको सुन्तला पकेट क्षेत्र १ वाट रिडी पाल्पा र वुटवाल सम्म विक्री हुने गरेको २ बाट अर्घाखाँची , कपिलवस्तु र प्युठान सम्म , तिनबाट छिमेकी स्याङ्गजाको मिर्मी, सेतीवेनी र पोखरा सम्म, यता अर्लाङ्गकोटको सुन्तला बाग्लुङ्गको खर्वाङ्ग हुँदै ढोरपाटन सम्म पुग्ने गरेको प्राविधिक सहायक दोमलालले बताए । गुल्मीको अधिकांस भुभाग चिसो र मलिलो रहेको छ । कफी उत्पादनले अन्तराष्ट्रिय स्तर सम्म आफ्नो पहिचान बनाउन सफल गुल्मी छिमेकी जिल्लाहरुका लागि सुन्तला उत्पादनको जिल्लाका रुपमा पनि परिचीत हुँदै आएको छ । नेपाल एकिकरण पुर्व पाल्पाली राज परिवार र राजधानीका राणा खानदान सम्म गुल्मीको सुन्तला कोशेली लगि दिने चलन थियो भन्छन् बुढापाकाहरु । यसरी परम्पारा देखि सुन्तला उत्पादन र बिक्रि वितराण भए पनि सिधै कृषकहरुले मुनाफा लिने गरी बजार ब्यबस्थापन भने हुन सकेको छैन् । ठेक्का लिने मान्छेहरुले शहरमा बसेर पैसा कमाउने उता सुन्तला कृषक भने मर्कामा पर्ने गरेको गुनासो सुनिएको छ ।

गाउँमै सुन्तला खेती गरेर वार्षिक तिन लाख आम्दानीः एक रिर्पोट

गुल्मी, १९ पुस । नेपाली युवाहरु स्वदेशमै स्वरोजगारको माध्यमा खोज्नु पर्दा पनि वार्षिक डेढ दुई लाख कमाउनका लागि डेढ दुई लाख ऋण खोजेर खाडी मुलक हानिन्छन तर ति मध्येका कतिपय युवाहरुले घरमै बसी बसी कृषि र फलफुल ब्यवसाय गरेर विदेश जानेहरुले भन्दा बढि कमाउने गरेका छन् ।
त्यसको ज्वालन्त उदाहरणका पात्र हुन गुल्मीको अर्खले ९ भाडागाउँका ३२ वर्षिय निरज मरासीनी । जसले दाना सुन्तला र त्यसको बेर्ना बेचेर यस वर्ष मात्रै तिन लाख भन्दा बढि आम्दानी लिनु भएको छ । २५ वर्ष अघि आफ्नो पिता कुश्माखर मरासीनीले सुरु गरेको ब्यबसायीक सुन्तला खेतीलाई अझ मलजल गर्दै मरासीनीले बाबुको मृत्यु पश्चात गत तिन वर्ष यता सुन्ताला नर्सरी सुरु थप आम्दानीको भरपर्दो माध्यम स्थापित गर्नु भएको छ ।
राजनिती संगै कृषिलाई आधुनिकीकरण गर्न कम्मर कस्नु भएका उहाँ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थीसंघको जिल्ला उपाध्यक्ष हुनुहुन्छ । सुन्तला खेतीका अलवा पलाष्टिक टेनेलमा टमाटर र अन्य तरकारी खेती समेत गरेर गाउँका युवाहरुलाई गाउँ मै केहि गरेर देखाउनु पर्छ भन्ने कुरामा उत्प्रेरण दिनु भएका उहाँको प्रगती कस्तो छ त ? सुनौ सहकर्मी प्रेम सुनारले तयार पार्नु भएको यो स्थलगत रेडियो रिर्पोट:


मोबाईलबाट सुन्न यहाँ क्लिक गर्नुहोला ।

ब्यवसायीक केरा खेतीबाट लाखौ आम्दानी गर्दै कुश्मीसेराबासी

कबिता घर्तिमगर 
बुर्तिबाङ, पौष ०४ । जिल्लाका कुश्मीसेराका स्थानियबासीहरु परम्परागत खेती प्रणालीबाट नियमित आम्दानी हुन छोडेपछि धान फल्ने खेतमा केराको व्यवसायिक खेती गरेर बार्षिक लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । कुश्मीशेरा–२ का कृषक डिल्लीप्रसाद शर्माले धान लगाउँदै आएको ८ रोपनी जमिनमा केरा खेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । केराको नियमित बिक्रीबाट मात्रै शर्माले बार्षिक साढे दुई लाख देखी ३ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।

बार्षिक ७ मुरी धान फल्ने ६ रोपनी खेत र बार्षिक ४ मुरी कोदो फल्ने २ रोपनी बारीमा केराको व्यवसायिक खेती गर्दै आएको शर्माले बताउनुभयो ।  धान, मकै, गहुँ र कोदो लगायतका उपभोग्य बस्तुको उत्पादन गर्दा समय पनि धेरै लाग्ने र खर्च समेत उत्पादन भन्दा धेरै हुन थालेपछि केरा खेती गरेको उहाँको भनाई छ ।

गाउँघरमा पनि केराको माग उच्च रहेको र उत्पादन कम भएकाले आफुलाई बजारको समस्या नरहेको स्थानिय कृषकको भनाई छ  । उनिहरुले उत्पादन गरेको केरा स्थानिय बजारमा काँचो प्रतिकोसा ३ रुपैयाँ र पाकेको प्रतिकोसा ४ रुपैयाँमा बिक्री हुने गरेको छ ।

अरु खेतीबालीमा भन्दा कम समय र परिश्रम गरेर पनि मनग्य आम्दानी लिन केरा खेतीनै उचित बिकल्प भएको उनिहरुकोे बुझाई छ । ३ सय बिरुवाबाट दुई बर्षअघि सुरु गरिएको केरा खेती यतिबेला भने भरिभराउ अवस्थामा छ । गाउँलेसँग केही बिरुवा मागेर र केही बिरुवा किनेर खेतबारीमा रोपेका पौडेलले तिनै बिरुवाको गाँज लागेपछि फुटाएर खेतबारी भरेका हुन् ।  


पन्ध्र किलोको एउटै लौका

चारपाँच किलोग्राम सम्म तौल भएको एउटै लौका कहिलेकाँही तरकारी बजारमा भेटाउनु सामान्य होला तर धनगढी नगरपालिका वडा नं–३ चटकपुरकी कृषक सुनितादेवी चौधरीको बारीमा १५ किलो ग्रामसम्म तौल भएको एक वटा लौका फलेको छ।
चौधरीको घरबारीमा फलेका १५/१५ किलो तौल भएका दुई वटा लौका यहाँ जारी सुदूरपश्चिम महोत्सवमा, प्रतियोगितात्मक कृषि प्रदर्शनीका लागि राखिएको छ।
घरकै गोबर मल (कम्पोष्ट मल)को प्रयोगबाट यति ठूलो लौका फलेको कृषक सुनितालाई उद्धृत गर्दै प्रदर्शनीका सञ्चालक धनबहादुर चौधरीले बताउनुभयो।
स्थानीय जातको गोलो र डल्लो आकारका यी लौकाको तरकारी उन्नत जातको लौकाभन्दा स्वादिलो हुने अगुवा कृषक राजकुमार जवराले बताउनुभयो। कृषि प्रदर्शनीको बिक्रीमा झन्डै चार फिट लामो र छ/सात किलो तौलको अर्को एक लौका र उन्नत जातको खुर्सानीको बोटमा लटरम्म फलेको खुर्सानी पनि आकर्षक रहेको छ।

कृषि वालीमा विषादिको प्रयोग बढेको भन्दै सरोकावाला चिन्तित

राम सुबेदी  
बागलुङ । बागलुङ जिल्लामा कृषि बालिमा विषदिको प्रयोग बढेको भन्दै सरोकारवाला चिन्तित बनेकाछन् ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा गत वर्षको तुलनामा यस वर्ष विषदिको प्रयोग उल्लेख्य मात्रामा बृद्धि भएको जनाइएको छ ।
बागलुङमा गत आर्थिक वर्षको तुलनामा यस वर्ष झोल विषदी ८ दशमलव ९ प्रतिशत र धुलो विषदीको प्रयोग ५२ दशमलव ९४ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा १ सय ८० लिटर प्रयोग भएको झोल विषदी यस वर्ष १ सय ९५ लिटर प्रयोग भएको छ भने गत वर्षमा १ दशमलव ७ मेट्रिक टन प्रयोग भएको धुलो विषादी यस वर्ष २ दशमलव ६ मेट्रिक टन प्रयोग भएको बरिष्ट बालि संरक्षण अधिकृत प्रदिप कुमार भण्डारीले जानकारी दिनुभयो ।
बागलुङमा फलफुलमा दहिक, मेटासिड, रोगर, व्लाईटक्स सिकि, तरकारीमा हाइट फ्लाई, खाध्यबालिमा डिसिस, फोलोरो पारिफस नामक विषदी बढिमात्रामा प्रयोग हुदै आएका छन् । बागलुङमा हाल २२ विषदीको खुद्रा पसलहरु रहेकाहेका छन् ।
जिल्लामा यस वर्ष बालिमा बढि रोगको प्रकोप देखिएका कारण विषदीको प्रयोग बढेको भण्डारीले जानकारी दिनुभयो । मकैमा फौजि किराको आक्रमण र धानमा गवारो रोगको प्रकोपका कारण यस वर्ष जिल्लामा विषदीको प्रयोग बढेको उहाँको भनाई रहेको छ ।

बागलुङमा यसपटक सुन्तला उत्पादनमा वृद्धि हुने

कविता घर्ती मगर
बाग्लुङ जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा पाँच प्रतिशतले वृद्धि हुने भएको छ । अनुकुल मौसम र रोगको आक्रमण नभएकाले सुन्तला उत्पादन बढ््ने देखिएको जिल्ला कृषि विकास कार्यालयको भनाई छ ।
जिल्लामा कारीब ५ सय ७४ हेक्टर क्षेत्रफल जमिनमा सुन्तला रोपिएको र त्यसमध्ये ३ सय ३२ हेक्टर क्षेत्रफलमा खेतीबाट सुन्तला उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय बाग्लुङका कृषि प्रसार अधिकृत भरत बहादुर खड््काले बताए । सुन्तलाका लागि मौसम अनुकुल हुनुका साथै यस वर्ष बगैंचा व्यवस्थापन गरिएका कारण जिल्लामा सुन्तला उत्पादनमा दसदेखि पन्ध्र प्रतिशतले बृद्धि हुने खड््काले बताए । कृषिले यसवर्ष २ हजार ५ सय ४२ मेक्ट्रिक टन सुन्तला उत्पादन गर्ने लक्ष्य लिएको छ ।
गतवर्ष २ हजार २ सय मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यो वर्ष ५–१० प्रतिश बढी सुन्तला उत्पादन हुने उनले जानकारी दिए । बागलुङको बिँहु, भकुण्डे, रेश, तित्याङ, दमेक, पैँयुथाप, धम्जा, सिसाखानी, नरेठाँटी, हटिया, मालिका रिघा, लेखानी लगायतका गाविसलाई सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा लिने गरिन्छ । यो समय सुन्तला टिप्ने, बिक्री गर्ने र भण्डारणको समय भएकाले फल टिप्दा विशेष ध्यान दिन समेत जिल्ला कृषि बिकास कार्यालयले आग्रह गरेको छ । पाकेको फल टिप्दा कैँची प्रयोग गर्न र हाँगा नभाँचिने गरी भ¥याङको प्रयोग गरेर टिप्न कार्यालयले किसानलाई आग्रह गरेको छ । सुन्तला पाक्ने समय भएपनि जिल्लामा यसवर्ष कति संख्यामा सुन्तला फल्यो भन्ने पुषको पहिलो साताभित्र एकिन तथ्याङ्क उपलब्ध हुने जनाइएको छ ।

सहकारी संघवाट कफी किसानलाई सहयोग प्रदान

जनार्दन घिमिरे
गुल्मी, १६ मंसिर । जिल्ला सहकारी संघ गुल्मीले जिल्लाका कफी किसानहरुका लागि सामाजिक विकास कार्यक्रम शुरु गरेको छ । उक्त कार्यक्रम अन्र्तगत संघले आईतवार कफी पकेट क्षेत्र अन्तर्गत अश्लेवा गाविस दुई स्थित मलेमा सडक मर्मतका लागि रु ४० हजार नगद सहयोग उपलव्ध गराएको हो ।
उक्त क्षेत्रका कफी किसानहरुलाई आफुले उत्पादन गरेको कफीलाई यातायात मार्फत संकलन केन्द्रसम्म पुराउन सजिलो होस् भन्ने उद्देश्यले सडक मर्मतकालागि उक्त रकम किसानहरुलाई उपलब्ध गराएको जिल्ला सहकारी संघका व्यवस्थापक युवराज आचार्यले जानकारी दिनु भएको छ । उक्त रकम ग्रहण गर्दै स्थानीय कफी सहकारीका अध्यक्ष देवीप्रसाद पाण्डेले सहकारीले कफी किसानहरुको हौसला वढाएको भन्दै उक्त रकम र जनश्रमदान गरेर तीन किलोमिटर सडक मर्मत गरिने वताउनु भएको छ ।
जिल्ला सहकारी संघले विगत चारवर्षदेखि किसानहरुले उत्पादन गरेको कफी विक्रिवाट आएको रकम मध्य केही रकम कफी किसानहरुको हितका लागि सामाजिक विकासमा खर्चिदै आएको छ । संघको उक्त कामवाट कफी किसानहरु समेतलाई व्यवसाहिक रुपमा कफी खेतीमा लाग्ने प्रेरणा जगाउँदै आएको कफी कृषकहरुले वताएका छन् ।

धान पाकेर पँहेलपुर: किसानलाई दाँई लाउने, धान स्याहार्ने चटारो (फोटो फिचर)

कसैलाई चुनावको माँचो, कसैलाई धान पराल स्याहार्नको: यतिबेला देशभरका दलका नेता कार्यकर्ताहरुलाई चुनावको माहौलले भ्याई-नभ्याई छ भने कृषकहरुलाई खेतीबाली स्याहार्ने चटारोले उस्तै गाँजेको छ । गुल्मीको क्षेत्र नमवर ३ का नेता कार्यकर्ता र कृषहरुको हालत पनि ठ्याक्कै उस्तै छ । हेरौँ सिमिलटारी, अर्जे फाँट , चौरासी फाँट र छल्दी फाँट सम्मको फाँटमा पुगेर गुल्मीन्युज सहकर्मी प्रेम सुनारले खिच्नुभएका त्यहाँका केही पहेलपुर धान खेतीको मनमोहक दृश्यहरु:








रुद्रावेणीमा केरा खेती फस्टाउँदै, किसानहरु दंग

खेतभरी केरा खेती गरेका रुद्रावेणीका किसानहरु अहिले खुसीले दङ्ग परेका छन् । धान फलाउने खेतमा केराका विरुवा लगाएर स्याहा–सुसार गरेका किसानहरु दुईबर्ष सम्म खेतवारीले कुनै आम्दानी नभएपनि अहिले खेतभरी लगाएको केरा पसाएपछि खुसीले दङ्ग भएका हुन् । गुल्मी उद्योग वाणिज्य संघले यहाँको रुद्रावेणी र हस्तिचौरमा जिल्लालाई नै केरामय बनाउने उदेश्य सहित किसानहरुलाई आफ्नै लगानीमा केराखेतीमा आकर्षित गरेको छ ।

रुद्रावेणीको २० रोपनी खेतमा ३ हजार केराको विरुवा रोपेर केराखेतीमा लागेका किसानहरुले पहिलो बर्षनै धानको तुलनामा केराको उत्पादन चार गुणा बढी हुने अपेक्षा लिएका छन् । यहाँका किसान हिम कुँवरको नेतृत्वमा १४ जना किसानहरु ब्यवसायीक केरा खेतीमा लागेका छन् । ‘३ हजार विरुवा रोपेकोमा अहिले ५० प्रतिशत भन्दा वढी केरोको वोट पसाएको छ, एउटै केराको हातमा १८ देखि २२ वटा सम्म केरा फलेका छन्’ रुद्रावेणीका अगुवा किसान कुँवरले भने ‘कात्तिकमा सवै केरा पसाउँदा १५ टनको हाराहारीमा केरा उत्पादन हुन्छ, यसवाट हामीलाई धान खेतीमा भन्दा ४ गुणा वढी फाईदा हुन्छ ।’
किसानहरुले जिल्लामा उत्पादन भएको केरा जिल्लामै खपत हुने बताएका छन् । किसानहरुका अनुसार फागुन महिनाबाट फेरी दोस्रो सिजनको केरा पसाउन सुरु हुन्छ । साथै केराघारीमा अहिले उत्पादन भएको केराको विरुवा पनि सुपथ मुल्यमा उपलब्ध गराईने रुद्रावेणीका किसान विजेन्द्र श्रेष्ठले बताए । समूहमा आउने कृषकहरुलाई अझ वढी छुट गर्ने किसानहरुले जनाएका छन् ।

दुई वर्ष अगाडि गुल्मी उद्योग वाणिज्य संघले आफ्नै लगानीमा जापानीज केराको विरुवा उपलब्ध गराएर किसानहरुलाई केरा खेतीमा प्रेरित गरेको थियो । साथै जिल्ला कृषि विकास कार्यालय गुल्मीको प्राविधक सहयोगमाा केरा खेती सुरु भएको हो । आफूहरुको जिल्लालाई केरा खेतीको जिल्लाको रुपमा चिनाउने लक्ष्य अनुसार केराखेती अभियान सुरु गरिएको बाणिज्यसंघका महासचिव कृष्ण पोख्रेलले बताए ।
‘हामी अहिले निकै खुसी भएका छौँ हस्तिचौरको तुलनामा रुद्रावेणीको केराखेती धेरै गुणा राम्रो भएको छ’ उनले भने ‘५ हजार जापानीज केराका वोट मध्ये ३ हजार रुद्रावेणीमा रोपेका हौँ, अहिले थुप्रै विरुवा पनि उत्पादन भएको छ ।’ साथै उनले केरा खेतीको लागी वाणीज्यसंघले सहयोग गरेको भएपनि त्यसवाट आउने फाईदा किसानहरुलेनै लिने बताए । जिल्ला कृषि विकास कार्यालयले पनि रुद्रावेणीको केरा खेती अत्यन्तै राम्रो भएको जनाएको छ ।

रुद्रावेणि संगै हस्तिचौरमा लगाईएको केरा खेती भने खासै फस्टाउन सकेको छैन् । तर अर्को बर्ष देखि हस्तिचौरको केराले पनि जिल्लाको वजार आगट्ने यहाँका अगुवा टिका रेश्मीले बताए । ‘सुरुमा केराका वोटहरु मरे, अहिले विस्तारै पसाउन थालेका छन् कृषि विकास कार्यालयमा पनि केरामा लागेको रोग नियन्त्रणको लागी अनुरोध गरेका छौँ’, रेश्मीले भने । हस्तिचौरको छल्दि टारमा पनि झण्डै ३५ रोपनी जग्गामा १४ जना कृषकहरुले केरा खेती गरेका छन् । -नेपाल समाचार पत्रबाट

नेता-कार्यकर्ता चुनावमा, किसान बाली भित्राउनमा खेत बारीमा

कविता घर्ती मगर
बागलुङ, १७ कार्तिक । यतिवेला गाउँघरमा तिन थरिको चटारो छ । संविधानसभाको चुनाव, खेती र चार्डपर्वको लहर एकैपटक छाउँदा गाउँका सर्वसाधारणलाई भ्याईनभ्याई छ । बारिमा रातै कोदो पाकेर झर्न थालेको छ । छेउमा लगाएको सिल्टुङ् र बोडीका कोसा पाकेर पढ्किन थालेका छन् भने खेतको धानलाई भकारीमा भित्राउने पनि चटारो छ । चुनावको प्रचार प्रसारमा रहेका राजनीतिक दल गाउँका मतदाताको दैलोमा दुई हात जोड्दै पुगेका छन् भने हिन्दुहरुको महान चार्ड तिहारले पनि गाउँघरका बस्ती झिलीमिली हुन थालेका छन् ।
संबिधानसभाको चुनावका लागि गाउँगाउँमा चुनावी अभियानलाई केन्द्रित गरेका दलका उम्मेदवारहरु चुनाव प्रचार प्रसारमा जुटिरहेका कृषकलाई भने बारीको कोदो र खेतको धान भित्राउने चटारोले छोएको छ । ‘बारीमा कोदो पाकेको छ, खेतमा धान’ जिल्लाको कुश्मीसेराका कृषक मोतीप्रसाद शर्माले भने, ‘हामीलाई त चुनावको भन्दा कामको चटारो बढि छ ।’ यसपटक कार्तिकको पहिलो सातासम्म पानी परेकाले कृषकलाई बाली भित्राउने चटारो परेको उनी बताउँछन् । ‘खेतबारीमा पाकेको बाली छ आकाशको भर छैन’ शर्माले भने, ‘मौका छोपेर पाकेको बाली नभित्राउने हो भने पानीले सत्यानाश पार्छ ।’
कार्तिक महिनाको पहिलो सातादेखीनै जिल्लाको तल्लो भागका फाँटहरुमा धान कोदो पाकेकाले कृषकहरु बाली भित्राउनमा ब्यस्त रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । चुनावको प्रचारमा गाउँ गाउँमा पुगेका उम्मेदवार र राजनीतिक दलहरुलाई पनि चुनावी दबाव बढ्दै गएको छ । मंसिर ४ मा हुने चुनावका लागि भोट माग्न उम्मेदवारहरु दलबलसहित जनताको घरदैलोमा पुगेका छन् ।
अर्का तर्फ शुक्रबार देखि तिहार सुरु भएपछि स्थिानियलाई त झन चटारो परेको छ । ‘खेतबारीमा बाली पाकेको छ घरदैलोमा तिहारको रौनक’ जैमिनी ताजा तरकारी उत्पादक समुहका अध्यक्ष टुकनाथ शर्माले भने, ‘हामी कृषकलाई चुनावले भन्दा खेतबारी र चार्डले तताएको छ ।’ देशको राजनीति भन्दा बिहान बेलुका छाक टार्न खेत बारीको काम महत्वपुर्ण हुने उनी बताउँछन् । शर्माका अनुसार, खेतको धान केही क्षेत्रमा पाकेको भएपनि बारीको कोदो सबै ठाउँमा पाकेकाले किसानहरु यतिवेला खेतवारीको काममै व्यस्त रहेका छन् । त्यस्तै एसपालीको सिजनमा बागलुङ पश्चिमका गाउँ विकास समितीहरुमा पनि धान उत्पादनमा बृढि भएको छ यसरी परिश्रमको फल प्राप्त गर्न पाउदा कृषकहरु झन खेतबारीमा ब्यस्त देखिएका छन् ।

अल्लो र सिस्नोको बजारीकरणमा समस्या देखिएको गुनासो

रामकृष्ण बोहरा
बागलुङ । स्थानीय स्तरमा रहेका अल्लो र सिस्नोको बजारिकरण नभएको बागलुङ पश्चिमका स्थानीयहरुले गुनासो गरेकाछन् ।
स्थानिय बजार सानो र बाह्य बजारमा निर्यात गर्नुपर्दा रुपमा सनो बजार व्यवस्था र वाह्य बजारमा उत्पादीत बस्तुलाई निर्यात गर्दा उत्पादन मुल्य समेत नउठ्ने भएपछि अल्लोको धागो र सिस्नोको पाउडर उत्पादन गर्ने उद्यमी समस्यामा परेका छन् । अल्लोको धागो र सिस्नोको पाउडरबारे उपभोक्तालाई जानकारी गराउन नसक्दा बजारीकरणमा समस्या भएको उनीहरुको भनाई छ ।
अल्लो धागो र सिस्नोको पाउडर उत्पादन गरेपनि बिक्री नहुने र बाहिरको बजारमा पठाउँदा उत्पादन मुल्य समेत उठ्न छोडेपछि बजारीकरणमा समस्या भएको जिल्लाको बुङ्गादोभानका सिस्नो पाउडर उद्यमी टकबहादुर घर्तिले गुनासो गर्नुभएको छ ।  । जिल्ला लघुउद्यमी समुह संघको सहयोगमा स्थापित सौगात बागलुङले उत्पादन गरेको केही मात्रामा सिस्नो पाउडर बिक्री भएपनि पर्याप्त बिक्री हुन नसकेको घर्तिले गुल्मीन्युजलाई बताउनुभएको छ ।
 जंगलमा पाइने सिस्नो र चाल्ने सिस्नोबाट उत्पादन हुने पाउडर र अल्लो धागो आफुहरुले उत्पादन गरेको सबै बजारमा पठाउन गाह्रो भएको उद्यमीहरु बताउँछन् । ‘राम्रो बजार पाए हामीले धेरै उत्पादन गर्ने ताराखोलाका अल्लो उद्यमी बिष्णु कुमारी रोकाको भनाई छ ।
धेरै समय खर्चेर उत्पादन हुने बस्तुले समयमा बजार नपाउँदा उद्यमीहरु थप समस्यामा परेका छन् । समय धेरै खर्चेर कच्चा पदार्थको संकलन र प्रशोधन गरी उत्पादन गरेको बस्तुले बजार नपाउँदा समस्या परेको दमेकका उद्यमी उमा विकको भनाई छ ।
 जिल्लाका उद्यमीहरुले उत्पादन गरेको अल्लो धागो मसिनोको प्रतिकेजी ७ सय रुपैयाँ र सिस्नोको पाउडर प्रतिकेजी ५ सय रुपैंयामा बिक्री गर्दै आएका छन् । उनीहरुले उत्पादन गरेको बस्तुको उत्पादन लागतका आधारमा बजार मुल्य नभएकोमा निराश देखिन्छन् ।   जिल्लामा कति अल्लो र कति सिस्नो पाउडरको उत्पादन हुन्छ भन्ने तथ्याङ आँफुसँग नभए पनि १ सय ११ उद्यमीले अल्लो र ९६ उद्यमीले सिस्नो पाउडरको उत्पादन गर्ने गरेको लघुउद्यमी समुह संघका कार्यक्रम संयोजक डिलकुमारी थापाले बताउनुभएको छ ।
भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग