Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

द्वन्द्व सधैका लागि अन्त्य गर्न सर्वसाधरणको आग्रह

Published on 1:39:00 PM //


घनश्याम गौतम
अर्खाबाङ्ग (गुल्मी)– द्वन्द्वका बेला माओवादीको आधार इलाका मानिएको दुर्गम अर्खाबाङ्गका सर्वसाधरणले अब कहिल्यै पनि द्वन्द्व नहुने गरी समस्याको समाधान गर्न राजनीतिक दल समक्ष आग्रह गरेका छन् । सत्ता लिप्सा र व्यक्तिगत स्वार्थ छोडर आफुहरुका आग्रह सुन्न र पीडा बुझ्न समेत सर्वसाधरणको आग्रह छ । राज्यले द्वन्द्व पीडितको स्पष्ट आधार नबनाउँदा माओवादी र राज्य दुवैपक्षबाट समस्यामा परेका पीडितहरुले अहिलेसम्म पनि आफुहरु कुन पक्षका द्वन्द्व पीडित हौं भन्ने जानकारी नपाएको समेत गुनासो गरे । 
हिजोको द्वन्द्वमा जस्तो सुकै पीडा भोगेको भएपनि अब आफुहरुले कुनै खाले द्वन्द्व र अशान्तिको कल्पना गर्न समेत नसक्ने उनीहरुले बताए ।
स्थानीय शान्ति समितिले द्वन्द्वबाट सबै भन्दा बढी प्रभावित क्षेत्र अर्खाबाङ्गमा आयोजना गरेको द्वन्द्व पीडितहरुको पुर्नमिलन कार्यक्रममा आ–आफ्ना पीडा पोख्दै पीडितहरुले राजनीतिक दलले सबै खाले द्वन्द्व सदाका लागि अन्त्य गर्ने तर्फ अग्रसर हुन आग्रह गरे । त्यसका लागि दवाव दिन उनीहरुले नागरिक समाज र बुद्धिजीवीहरुलाई समेत गुहारेका छन् ।
राजनीतिक दलका प्रमुखहरु, शान्ति समितिका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, संचारकर्मी उपस्थित कार्यक्रममा द्वन्द्व शुरु भएदेखि सर्वसाधरणले यसरी खुलेर आफ्ना पीडा व्यक्त गरेको यो पहिलो कार्यक्रम भएको स्थानीयले बताए । कार्यक्रममा धेरैले अझै पनि द्वन्द्व हुने हो र बोलेकै कारण पछि पीडा पाईने हो कि भन्ने त्रासले नबोलेको र कतिपयले आफ्ना नाममा आएको राहत समेत नबुझेको पीडा पोखे । दर्लिङ्ग–७ की पूर्णकला वि.क.ले अब आफुले पहिलेको जस्तो द्वन्द्व कहिल्यै कल्पना गर्न नसक्ने भन्दै द्वन्द्व सदाका लागि अन्त्य गर्न आग्रह गरिन् । 
गाउँमै फेला परेको बेबारिसे बम खेलाउँदा एक वर्ष अगाडी उनको एक मात्र छोरा सहित दुई बालकले ज्यान गुमाएका थिए । उनले आफ्ना छोरा गुमेको पीडा सम्झदै द्वन्द्व अन्त्य होस भन्न आग्रह गर्दा धेरैका आँखा समेत उनीसंगै रसाएका थिए । ‘बमले छियाछिया परेको मेरो छोरा अब कहिल्यै फर्केर आउन्न, मलाई थाहा छ’, पुर्नमिलन कार्यक्रममा उनले भनिन्, ‘तर मेरो एउटा मात्र आग्रह हो, मैले कहिल्यै नर्फकने गरी जसरी छोरा गुमाए, त्यसै गरी हिजोको द्वन्द्व पनि कहिल्यै नफर्कने गरी समाप्त होस ।’
पुर्नमिलन कार्यक्रम भएकै कारण आफ्नो छोराको मृत्युमा माओवादी र सरकार कसैलाई दोष नदिने उनले बताईन । उनले अबका दिनमा आफु जस्तै अर्को नारी रुन नपरोस भन्दै कामना गरिन । ‘म माओवादी र सरकार कसैलाई दोष दिन्न’, उनले भनिन, ‘तर हामी सबै मिलेर बस्न सक्ने गरी अबको बातावरण बनाईदिनुस मेरो आग्रह छ ।’
कार्यक्रममा पूर्व जिविस सदस्य समेत रहेका रितबहादुर थापाले भोली के हुने हो भन्ने पीडाले यहाँका सर्वसाधरणहरु अझै त्रसित रहेको भन्दै त्यसबारे स्पष्ट पार्न राजनीतिक दलका नेताहरुसंग आग्रह गरे । ‘द्वन्द्वका समयमा अर्खाबाङ्गलाई माओवादीले दोस्रो रोल्पा भन्यो, राज्यले यहाँका  सबैलाई माओवादी देख्यो’, उनले भने, ‘त्यही त्रासले अहिलेसम्म कोही बोल्न खोज्दैनन्, कसैले राहत बुझेका छैनन् ।’ अब द्वन्द्व हुन्छ कि हुँदैन भन्नेमै सर्वसाधरण अन्योलमा रहेको उनले बताए । ‘सबैको आशंका द्वन्द्व सधैका लागि अन्त्य हुन्छ कि हुँदैन भन्ने हो ।’,
उनले भने ।
कार्यक्रममा राहत नपाएको भन्दा पनि द्वन्द्व अन्त्य होस भन्ने आग्रह धेरैले व्यक्त गरेका थिए । केहीले पहुच र शक्तिका भरमा राहत बुझ्ने गरेको भएपनि पीडित भएरपनि पहुँच नभएकै कारण राहत पाउन नसकेको गुनासो समेत पोखे । उपस्थित कतिपय सर्वसाधरणले आफुहरु दुवै पक्षबाट पीडित हुँदा समेत राहत पाउन नसकेको बताए ।
‘माओवादी आँउछन र विद्यालयको भित्तामा नारा लेख्छन, सेना आउछ र तँ पनि माओवादी भएकै कारणले लेख्न दिईस भन्दै तारिक दिन्छ’, पैंयापाटा प्राविका प्रधानाध्यापक समेत रहेका चन्द्रलाल अर्यालले भने, ‘तम्घास पुगेर तारिख बुझेर आयो, यहाँ आउँदा माओवादीले तम्घास जाने
हाम्रो कार्यक्रममा किन नजाने भन्दै झोला बोकाएर लैजान्छन यस्तो समस्यामा परेका हामी कुन पक्षका द्वन्द्व पीडित ?’
राज्यको निकाय भएकाले सेना प्रहरीले यातना दिने, र सरकारका सुराकी भन्दै माओवादीले अनेक दुःख दिने गरेको भएपनि अर्खाबाङ्गका कुनै शिक्षकहरुले अहिलेसम्म कुनै राहत नपाएको उनको गुनासो थियो । ‘राज्यको राहत दिने नीति नै ठिक छैन’, उनको गुनासो थियो, ‘हामी कुन पक्षका द्वन्द्व पीडित भयौं अहिलेसम्म जानकारी छैन् ।’ कस्ताले कस्तो खालको राहत पाउने भन्ने सम्बन्धमा स्पष्ट नहुँदा सिंगो गाविसका शिक्षकहरु राज्यको राहतबाट बञ्चित भएको अर्यालले बताए । 
कार्यक्रममा एमाले अध्यक्ष बोमबहादुर खड्का, माओवादी सह इन्चार्ज जितजंग, नेपाली कांग्रेसका क्षेत्रीय सभापति दामोदर भुसालले हिजोको सबै पीडा बिर्सेर अब नयाँ समाज र नयाँ नेपाल निर्माणमा लाग्नु पर्ने  बताए । ‘गणतन्त्र आईसकेको छ, त्यसैले हिजोका पीडा बिर्सेर नयाँ नेपालका परिकल्पना गरौं ।’, नेताहरुको आग्रह थियो । अब नेपालको अर्को द्वन्द्वको सम्भावना नरहेको उनीहरुले स्पष्ट पारे ।
प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल र शान्ति समिति संयोजक जिवन रानाले राज्यले बर्गिकरण नै गरेर राहत उपलब्ध गराउँदै आएको र त्यसलाई अझै निरन्तरता दिने भन्दै समाजमा द्वन्द्वको पीडा बिर्सेर मिलेर बस्न आग्रह गरेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग