Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ब्यवसायीक सूर्यमुखी फूलको खेती गर्दै शिक्षक

Published on 9:33:00 PM //


प्रेम सुनार
गुल्मीका एक शिक्षक ग्रामीण भेगमा व्यावसायिक सूर्यमुखी फूलको खेतीबाट तेल उत्पादन गर्ने जिल्लाकै पहिलो कृषक बनेका छन् । सदरमुकाम तम्घासदेखि करिब ३६ किमी पश्चिम अमरपुर- ३ का कृष्णप्रसाद घिमिरेले जिल्लामै सूर्यमुखीबाट पहिलोपटक तेल उत्पादन गरेका हुन् । उनी देवीस्थान प्रावि, वाग्लाका शिक्षक हुन् ।
शिक्षक कृष्णप्रसाद घिमिरेले लगाएको सूर्यमुखी फूलको खेती
निरीक्षण गर्दै  जिल्ला कृषि विकास कार्यालयका
प्राविधिक  सहायक हरिप्रसाद आचार्य । 
शिक्षक घिमिरेले दुई वर्षअघि भैरहवाबाट बीउ ल्याई सूर्यमुखी फूल लगाएका थिए । जिल्ला कृषी विकास कार्यालयले पनि सूर्यमुखी फूलबाट तेल उत्पादन गर्ने जिल्लाकै पहिलो कृषक उनै भएको स्पष्ट पारेको छ । “व्यावसायिक रूपमा सूर्यमुखी फुलको खेती गरेर तेल उत्पादन गर्ने जिल्लाको पहिलो कृषक उनै हुन्,” निमित्त वरिष्ठ कृषि विकास अधिकृत धनबहादुर थापाले भने ।
शिक्षक घिमिरेले अमरपुरको चौरासी फाँटमा व्यावसायिक सूर्यमुखी फूलको खेती गर्दै आएका छन् । उनले गत दुई वर्षदेखि वार्षिक ३५–४० लिटर तेल उत्पादन गर्नुका साथै बीउ, बेर्ना बिक्री गरेर समेत आम्दानी लिने गरेका छन् ।
तोरीको तेलभन्दा स्वादिलो र मुटुका रोगीलाई समेत उपयोगी हुने सूर्यमुखीको तेल बजारमा प्रतिलिटर १ सय २० देखि ३० सम्म पर्छ । “मैले भने त्योभन्दा निक्कै कम मूल्यमा बेच्ने गरेको छु,” घिमिरेले भने । चिल्लो पदार्थ कम खानुपर्ने व्यक्तिलाई सूर्यमुखी तेल लाभदायक हुने भएकाले जति उत्पादन गरे पनि नपुग्ने उनले बताए । “स्थानीय स्तरमा प्रशोधन केन्द्र नभएकाले सूर्यमुखीखेती थप विस्तार गर्न सकिएको छैन,” उनले भने ।
हालसम्म उनले हाडहाडे गाविसको नादी भन्ने स्थानमा रहेको पानी मिलमा लगेर सूर्यमुखी फूलको दानाबाट तेल उत्पादन गर्दै आएका छन् । उनले मकै बालीसँगै सूर्यमुखी फूलको खेती गरेर दोहोरो आम्दानी लिइरहेको बताए । “चैतको पहिलो साता मकैबालीसँगै सूर्यमुखी छरिन्छ,” उनले भने, “स्याहार्न सजिलो र रोग तथा कीराको बढी प्रकोप नहुने भएकाले कुनै समस्या छैन ।”
जिल्ला कृषि विकास कार्यालयका अनुसार सुख्खा बारीमा पनि मकै खेतीसँगै सूर्यमुखी खेती गर्न सकिन्छ । सुरुमा घिमिरेले भैरहवाबाट बीउ ल्याए पनि त्यसपछिका वर्षहरूमा कार्यालयले नै बीउ उपलब्ध गराइरहेको अधिकृत थापाले बताए  । “जिल्लामा सूर्यमुखीखेतीको प्रचुर सम्भावना छ,” उनले भने, “अभैm पनि कृषकहरू परम्परागतखेतीमै आस्था राख्ने भएकाले यसको विस्तार हुन सकिरहेको छैन ।”
शिक्षक घिमिरेले सूर्यमुखीबाट तेल उत्पादन गर्न थालेपछि यतिबेला चौरासी फाँटका थुप्रै कृषकले व्यावसायिक सूर्यमुखी फूलको खेती गर्न थालेका छन् । शिक्षक घिमिरेले सात रोपनी क्षेत्रफलमा सूर्यमुखी फूलसँगै व्यावसायिक तरकारी खेतीबाट वार्षिक डेढदेखि २ लाखसम्म आम्दानी लिने गरेका छन् ।
“आफ्नो जग्गा नहुनेहरूले पनि भाडामै लिएर भए पनि तरकारीखेती गर्ने हो भने पैसा कमाउन विदेश जानुपर्दैन,” कृषक घिमिरेले भने । उनी विद्यालय समयबाट बचेको सबै समय खेतीपाती हेरचाहमै लगाउँछन् । अन्य कतिपय शिक्षकले विभिन्न दलका झोला बोकेर, राजनीतिक कार्यकर्ता बनेर हिँड्ने र घरको खेतीपातीमा बास्ता नगरिरहेका बेला शिक्षक घिमिरे भने उदाहरणका पात्र बनेको स्थानीय बुद्धिजीवी बताउँछन् । 

2 comments

  1. good job ghimire sir ani hari acharya sir lai pani.HIRA KARKI USA ko traf bat congratulation.

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग