Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुंगामा केबुलकार सञ्चालन गरिने

Published on 4:15:00 PM //


गगनशिला खड्का
जिल्लाको धार्मिक पर्यटकीय क्षेत्र रेसुंगामा केबुल कार सञ्चालन गर्न पर्यटन मन्त्रालयले पठाएको टोलीले सम्भाव्यता अध्ययन सुरु गरेको छ ।
डिजिकोन कन्सल्टेन्ट कम्पनी काठमाडौंबाट आएका इन्जिनियर गणेश पाठक, जीवनबहादुर प्रधान र चञ्चलकुमार झा सम्मिलित टोलीले दुई दिनसम्म केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको हो ।
समुद्री सतहदेखि २ हजार २ सय ४९ मिटर उचाइमा रहेको रेसुंगाको अध्ययन गरी फर्किएको टोलीले सदरमुकाम तम्घासबाट रेसुंगामा पुग्ने केबुलकारको प्रवेशद्वारका लागि चार स्थान छनोट गरिएको जानकारी दिएको छ । अध्ययनअनुसार पहिलो चरणमा दुई किलोमिटर दूरीको भगवती मन्दिर, दोस्रोमा देउराली, तेस्रोमा तीन किलोमिटर दूरीको भुजेलखर्क र चौथो स्थलका रूपमा धागिथुम क्षेत्रबाट केबुलकार सञ्चालन गर्न सकिने टोलीको निष्कर्ष छ ।
टोलीले जिल्ला विकास समितिको सभाहलमा आयोजना गरेको छलफलमा स्थानीय राजनीतिक दल, उद्योगी, व्यवसायी एवं पत्रकार तथा सरोकारवालासँग रेसुंगामा केबुलकार सञ्चालन गर्न सकिने अध्ययनको निष्कर्षबारे जानकारी गराएको थियो । छलफलमा अध्ययन टोलीले देश विदेशमा सञ्चालित विभिन्न प्रविधिका केबुलकारका दृश्य प्रस्तुत गर्दै प्रविधि सम्बन्धमा सरोकारवालासँग परामर्श गरेको थियो ।
कार्यक्रममा सहभागीले मनकामना केबुलकारको प्रविधि महँगो भएकाले युरोपमा सञ्चालित चियर लिफ्ट प्रविधिमार्फत रेसुंगामा केबुलकार सञ्चालन गर्न उपयुक्त हुने बताएका थिए । चियर लिफ्ट प्रविधिको केबुलकार सञ्चालन गर्न झन्डै ३५ करोड लागत लाग्ने अनुमान टोलीको अध्ययनबाट निस्किएको छ । केबुलकार सञ्चालनका लागि युरोपको प्रविधि प्रयोग गरिए २२ लाख ५० हजार युरो अर्थात् झन्डै २५ करोड लागत लाग्नेछ । मनकामना केबुलकार प्रविधि सञ्चालन गरिए करिब १ अर्ब लाग्ने अध्ययन टोलीको निष्कर्ष छ ।
सुरक्षाका दृष्टिले मनकामना केबुलकार प्रविधि उचित हुने बताइएको छ । रेसुंगामा केबुलकार सञ्चालनका लागि गरिएको अध्ययन प्रतिवेदन मन्त्रालयमा पेस गरिने टोली संयोजक इन्जिनियर गणेश पाठकले जानकारी दिए ।
यसअघि माओवादी नेता वामदेव क्षेत्रीले पनि प्राविधिज्ञको टोली ल्याई रेसुंगामा केबुलकार सञ्चालनका लागि अध्ययन गराएका थिए । केबुलकार सञ्चालन गरिए पौराणिककालमा महषिर्को तपोभूमि, सन्त शशिधर स्वामी महाप्रभु लक्ष्मीनारायण र यदुकानन्दको साधना भूमिका रूपमा प्रसिद्ध रेसुंगामा आन्तरिक एवं बाह्य पर्यटक बढ्नेछन् ।

1 comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग