Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नमुना बन्यो पुर्कोटदह गाउँ

Published on 5:38:00 PM //


स्थानीयकै सक्रियतामा पुर्कोटदह गाविस सरसफाइमा जिल्लाकै नमुना गाविस बनेको छ ।

बजार, गाउँ, टोल सफा राखेर उदाहरणीय बन्ने उद्देश्यका साथ पुर्कोटदहका बजारबासीले दसैंको अवसर पारेर गत असोजदेखि अभियान सुरु गरेका थिए । बजारका केही व्यक्तिले सुरु गरेको अभियान अहिले बजारबाट गाउँमा समेत विस्तार भएको छ । सुरुमा १३ घर मिलेर बजार सफा राख्ने चेतना विस्तार गर्दै हिंडेपछि सबैले सहयोग गरेको बजार व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर थापाले बताए । 

थोरैबाट सुरु गरिएको अभियान अहिले पुर्कोटदह बजारका ८५ घर र गाउँमा समेत पुगेको छ । बजार स्वच्छ, सफा र हराभरा बनेको छ । कसैले बजारमा सामान किनेर खायो भने पनि सडक वा घर अगाडि फाल्दैनन् । नजिकै राखिएको डोको वा बाल्टीमा राख्ने बानी सबैलाई परिसकेको बजार सरसफाई समितिका सदस्य ताराप्रसाद श्रेष्ठले बताए । बजारबासीको सक्रियताले बजार र गाउँ क्षेत्रको समेत गरी झण्डै २ किलोमिटर क्षेत्रमा कुनै फोहोर नहुने गाविस सचिव विष्णु घर्तीले बताए ।

पुर्कोटदह बजार र चोक-चोकमा समेत गरी १ सय २५ थान डोको र बाल्टी वितरण गरिएको छ । स्थानीयकै पहलमा सरसफाइ कोषसमेत स्थापना भएको छ । कोषमा स्वस्फूर्त २० हजारभन्दा बढी रकम जम्मा भएको अध्यक्ष थापाले बताए । कोषको ब्याजबाट सरसफाइमै काम गर्ने गरी मासिक पारिश्रमिक दिएर एक जना सहयोगी कर्मचारीसमेत व्यवस्था गरिएको छ ।

'केटाकेटीले समेत चक्लेट किनेर खाए पनि कागज गोजीमा राखेर हिंड्ने गरेका छन्', उनले भने, 'अहिले त कसैका घर अगाडि पनि कुनै कागज, प्लास्टिक, खानेकुराका बोक्रा केही देखिंदैनन् ।' सुरुमा बाहिर फाल्नेलाई कारबाही गर्ने भने पनि सबैमा एकैसाथ चेतना फैलिएपछि अहिलेसम्म कसैलाई कारबाही नै गर्नु नपरेको उनले बताए । बजारको बीच भागमै बोर्डिङ स्कुल भए पनि बालबालिकामा समेत फोहोर गर्नुहुन्न भन्ने बानी परिसकेकाले उनीहरूले पनि फोहोर भएमा नजिकै झुन्डाइएको बाल्टी वा डोकोमा राख्ने गरेको श्रेष्ठले बताए । पुर्कोटदह बजारका सिमित घरबाट सुरु भएको सरसफाइ अभियान अहिले बजारका सबै टोल हुँदै नुहार, थापाचौर, छिर्ने, घिउपानी लगायतका गाउँहरूमा समेत पुगेको पुर्कोटदहकै जीवलाल ओलीले बताए । बाहिरबाट आउनेहरूले समेत निकै उदाहरणीय भन्दै प्रशंसा गर्ने गरेको उनले बताए । डोको र बाल्टीमा जम्मा भएको फोहोर फाल्ने स्थान अभाव हुँदा भने कहाँ फाल्ने भन्ने समस्या थपिएको अध्यक्ष थापाले बताए ।

स्थानीयकै पहलमा फोहोर संकलन हुने गरे पनि त्यसलाई व्यवस्थित गरी फाल्ने डम्पिङ क्षेत्रको अभाव भएकाले गाविसले त्यसका लागि पहल गरिरहेको सचिव घर्तीले बताए ।

Tags:

1 comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग