Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हरियो झण्डा राखेपछि गर्भवती महिलाहरुमा परिवर्तन

Published on 1:18:00 AM //

गर्भवती महिला भएको घरमा हरियो झण्डा राख्न थालेपछि कहिल्यै स्वास्थ्य संस्था नजाने बम्घा-५ आँटीपाटाका माझी महिलाहरुमा परिवर्तन आएको छ ।
गर्भवती महिलालाई स्वास्थ्य सचेतना र सुत्केरी अवस्थामा ख्याल गर्नुपर्ने कुराहरुका बारेमा जानकारी पुर्‍याउन एकिकृत ग्रामिण समाजले स्वास्थ्य कार्यालयको सहयोगमा गर्भवती महिलाको घरमा हरियो झण्डा अभियान शुरु गरेको हो । अभियानसंगै माझी र अन्य महिलाहरु समेत नियमित स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य संस्था जान थालेका छन् । अभियान अर्न्तगत बम्घाका घरमा हरियो झण्डा राखिएको समाजका अध्यक्ष गणेश श्रीपालीले बताए । ‘बम्घा गाविस भरमा ४६ गर्भवती महिला भेटिए’, श्रीपालीले भने, ‘स्वास्थ्य संस्था नियमित जानुपर्छ भन्ने चेतना जगाउन गर्भवती महिला भएका सबै घरमा हरियो झण्डा राखिएको छ ।’ हरियो झण्डाले गर्भवती महिलालाई सचेत राख्ने र नियमित स्वास्थ्य संस्थामा गई गर्भ परिक्षण गर्न प्रेरित गर्ने गरेको उनले बताए ।सचेतना अभियानसंगै गर्भवती भएका बेला पर्ने आर्थिक संकट, तत्काल के गर्ने, नियमित रुपमा आईरन चक्कीको सेवन लगायतका विषयमा समेत महिलाहरु जागरुक भएका छन् । महिलाहरुले गर्भवती महिलाहरुको सहयोगका लागि हरेक वार्डमा घुम्तिकोष स्थापना गरेका छन् । घुम्तिकोषमा जम्मा भएको रकमले गर्भवती महिलालाई सुत्केरी हुने बेला स्वास्थ्य संस्थासम्म पुर्‍याउन एम्बुलेन्सको प्रयोग गर्नु परेमा वा आर्थिक सहयोग आवश्यक परेमा बिना ब्याज श्रृण उपलब्ध गराउने, गर्भवती महिलाहरुको निगरानी गर्ने लगायतका कामहरु महिलाहरुले आफै गर्न थालेका छन् । ‘यस अघि महिलाहरु गर्भवती भएको भन्नासाथ लजाउने गर्थे’, बम्घा उपस्वास्थ्य चौकीकी अहेव दिपा भलामीले भनिन् ‘अहिले भने आफु गर्भवती भएको भन्दै सल्लाह लिन स्वास्थ्य संस्था जान थालेका छन् ।’ प्रत्येक वार्डमा गठन भएको सुरक्षित मातृत्व समुहले गर्भवती महिलाहरुलाई निगरानीमा राखेर स्वास्थ्य सचेतनाका कामहरु गरेकोले पनि महिलाहरुमा चेतना बढेको भलामीले बताईन । गर्भवती भलामी आफैले पनि घरमा हरियो झण्डा राखेकी छन् ।कार्यक्रमले चेतना अभावकै कारण प्रायः स्वास्थ्य संस्था नजाने आँटीपाटाका माझी महिलाहरुमा समेत परिवर्तन ल्याएको छ । ‘अस्पताल नगै ४ छोराछोरी जन्माएकी थिंए’, आँटीपाटाकी ४० वषिर्या चनमती माझीले भनिन्, ‘घरमा हरियो झण्डा राखेर स्वास्थ्य संस्था जानुपर्छ भनेपछि अहिले हरेक महिना जाने गरेकी छु ।’ महिला स्वयंसेवीहरु घरमै आएर जानुपर्छ भनेपछि अहिले आफुलाई पनि हलुङ्गो हुने गरेको उनले बताईन । यस अघि स्वास्थ्य संस्था नगएकै कारण गर्भको बच्चा मृत्यु भएको थियो ।स्वास्थ्य कार्यालयको सहयोगमा गैरसरकारी संस्था मार्फत संचालन गरिएको सुरक्षित मातृत्व कार्यक्रमले ग्रामिण क्षेत्रका गर्भवती महिलाहरुमा सकारात्मक परिवर्तन ल्याएको कार्यालयका प्रमुख डाक्टर हरीबहादुर के.सी.ले बताए । कार्यक्रमले १० गाविसका सबै वार्डका गर्भवती महिलाहरुलाई समयमै अस्पताल वा स्वास्थ्य संस्था पुर्‍याउन सहयोग हुने गरी सबै वार्डमा स्टेचर उपलब्ध गराएको छ । स्वास्थ्य कार्यालयले समता र पहुँच कार्यक्रम अर्न्तगत समाजले बम्घा, दिगाम र जैसीथोक, राष्ट्रिय ग्रामिण तथा सामाजिक विकास केन्द्र -नार्डेले ग्वाघा, फोक्सिङ्ग, खड्गकोट, भुतुङ्ग र सामाजिक जागरण तथा विकास अभियानले भनभने, धुर्कोटरजस्थल र वाग्लामा सुरक्षित मातृत्व कार्यक्रम संचालन गरेको जनाएको छ । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग