Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरोले घर बगाउँदा एकै परिवारका ६ जनाको मृत्यु

Published on 8:17:00 PM //

सन्तोष पोखरेल, पोखरा, असार २०- अविरल वर्षापछि आएको पहिरोले सोमबार घर बगाउँदा कास्कीको थुम्कीमा एकै परिवारका ६ जनाको ज्यान गएको छ। पहिरोले थुम्की–७ का ६८ वर्षीय चन्द्रबहादुर परियारको घर बगाएको हो। मृत्यु हुनेमा चन्द्रबहादुरका दुई श्रीमती, बुहारी, दुई नातिनी र एक नाति छन्।


श्रीमतीहरु ६५ वर्षिया धनमाया परियार र ६० वर्षिया नरमाया परियार, बुहारी ३५ वर्षिया धनीमाया परियार, नातिनीहरु १३ वर्षिया ममता परियार र ८ वर्षिया शान्ति परियार र नाति ६ वर्षीय साजन परियार रहेको सिसुवा चौकीका प्रहरी निरीक्षक महेन्द्र खड्काले बताए।

पहिरोमा परी घरमूली चन्द्रबहादुर सामान्य घाइते भएका छन्। बेसीमा रहेकाले चन्द्रबहादुरका छोरा मनबहादुर र जेठो नाति मदनबहादुर बाँच्न सफल भएका छन्। खेत रोप्नका लागि बेसीमा रहेकी धनीमाया खाद्यान्न सकिएको भन्दै आइतबार बेलुकीमात्र खाद्यान्न लिन गाउँ पुगेकी थिइन।

रातभरको अविरल वर्षापछि सोमबार बिहान करिब ५ बजे घरभन्दा करिब १ सय ५० मिटरमाथिबाट पहिरो खसेको थियो। पहिरोले बगाएको घर ढुङ्गामाटोले बनाएर खरले छाइएको थियो। पहिरोले परियारको गोठ बगाउँदा एउटा गोरु र एउटा भैंसीसहित करिब १ दर्जन कुखुरासमेत मरेका छन्।

पहिरोले परियारका छिमेकी हस्तबहादुर विकको खाली घरसमेत बगाएको छ। पहिरोमा परी बिहानैदेखि बेपत्ता भएकाको शव दिनभरको खोजतलासपछि भेटिएको हो। गाउँले, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सेना उद्दारमा खटिएका थिए।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग