Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हिन्दु राज्यको माग प्रतिकृयावादीको चलखेल: पुर्व संसद श्रेष्ठ

Published on 3:12:00 AM //


पि.एम.मगर
नेकपा एमालेका नेता एवं गुल्मी क्षेत्र नं. २ का पुर्व संसद कमलराज श्रेष्ठले हिन्दु राज्यको माग गर्नु आदिवासी जनजाति एवं दलितहरुको अधिकार कुण्ठित गरिरहने प्रतिकृयावादीहरुको चलखेल भएको वताउनुभएको छ ।
आज मंगलवार १७ औँ विश्व आदिवासी दिवसको अवसरमा सदरमुकाम तमघासमा वोल्दै श्रेष्ठले यस्तो वताएका हुन् । यतिवेला प्रतिकृयावादी तत्वहरुले हिन्दु राज्यको माग गरिरहेकोतर्फ इंकित गर्दै श्रेष्ठले त्यस विरुद्ध देशका हरेक स्थानवाट आदिवासी जनजाति तथा दलित समुदायहरु एकजुट भएर उठ्न जरुरी रहेको वताउनुभयो । कतिपयले देशमा संघिय राज्य हुँदा देश टुक्रिन्छ भन्नु जनजाति तथा दलितहरुको अधिकारमाथि धावा वोलिरहेको भन्दै उहाँले आदिवासी जनजातिहरुको मौलिक संस्कृति र परम्परा पुनस्थाति गर्न यस क्षेत्र मगरात राज्य हुनुपर्नेमा जोड् दिनुभयो ।
राज्य पुनसंरचना हुनै पर्छ, हिजो जिम्माल र मुखियाको पालामा वनाईएको संरचनाले जनताले सास्ती खेप्नुपरेको छ श्रेष्ठले भने आज जनजाति तथा दलितहरु इन्टरनेटको जमानामा वस्ने वास नपाएर ओडारमा वसिरहेका छन् भन्दै श्रेष्ठले अझै पनि यो जातिलाई तलै पार्न हिन्दु राज्यको माग गर्ने किन भनी प्रतिप्रश्न गर्नुभएको थियो ।
त्यस्तै आदिवासी जनजातिहरुले विभिन्न कार्यक्रमहरुमार्फत अव वन्ने संविधानमा जनजातिहरुको संपुर्ण अधिकार सुनिश्चितताका लागि माग गरिरहेका वखत राजनीतिक दलहरुले यो या त्यो ढङ्गले जनजातिहरुलाई पछाडी पार्न खोजिरहेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद गुल्मीका अध्यक्ष वालसिँह काउछा मगरले यो कार्यक्रम पनि दवावमुलक कार्यक्रम रहेको र आफुहरुको मागप्रति राज्य र राजनीतिक दल गम्भिर नरहे शसस्त्र युद्ध गर्न पनि तैयार हुने चेतावनी समेत दिए । सोही अवसरमा नेपाल आदिवासी जनजाति महिला महासंघ, गुल्मीकी अध्यक्ष कमला पुन मगरले नेपाल सरकारले धर्म निरपेक्ष घोषणा गरेपनि पुर्ण अधिकार भने दिन नसकेको भन्दै आजको दिनलाई आन्दोलन र दवावको रुपमा लिएको वताए ।
प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कवीन्द्र नेपाल, एकीकृत नेकपा माओवादीका निमवहादुर पाण्डे, नेपाली काँग्रेसका श्रीप्रसाद भलामी, नेकपा एमालेका सोमनाथ सापकोटा, राष्ट्रिय जनमोर्चाका योगेन्द्र काउछा, राप्रपाका भरतवहादुुर चन्द, जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतम, गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गाप्रसाद पाण्डेले मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै नेपाल आदिवासी जनजाति महिला महासंघ गुल्मीकी अध्यक्ष कमला पुन, नेपाल मगर संघका लालवहादुर राना मगर, तमु छोँज् धीका राजेन्द्र गुरुङ्ग, नेवा दवुका भुवनप्रसाद श्रेष्ठ, नेपाल छन्त्याल संघका लोकप्रसाद घरव्जा छन्त्याल, भुजेल सेवा समाजका विष्णु घर्ति लगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद गुल्मीका अध्यक्ष वालसिँह काउछाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हिरासिँह सराङ्गकोटीको स्वागत मन्तव्य तथा सचिव रमेश काउछाको सञ्चालन रहेको थियो । कायक्रममा एकल जातीय संगठनहरु नेपाल मगर संघ, नेवा दवु, भुजेल सेवा समाज, तमु छोँज धी, नेपाल छन्त्याल संघ, नेपाल कुमाल संघ, नेपाल माझी संघले पनि आ–आफ्नै पहिचान झल्किने झाँकीहरु प्रस्तुत गरेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग