Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलितलाई ढुङ्गा बोकाउने गाउँलेले माफि मागे

Published on 6:30:00 PM //

माधव अर्याल
मन्दिर पसेको निहुँमा दलित युवालाई ढुंगा बोक्ने सजाय तोकेका ठूलोलुम्पेक ९ का गाउँलेले पीडित युवासँग माफी मागेका छन् ।

इलाका प्रहरी रिडीमा बिहीबारको छलफलपछि मन्दिर व्यवस्थापन समिति अध्यक्ष रुक्मांगत भट्टराईसमेतले मन्दिर पसेको निहुँमा ढुंगा बोक्ने सजाय तोक्नु गलत भएको निष्कर्ष निस्केपछि माफी मागेका हुन् । स्थानीय बुद्धिजीवी, दलित नेता, सञ्चारकर्मी र प्रहरीको रोहबरमा भएको छलफलमा ५ बुँदे सहमतिसमेत भएको छ । गुल्मी, ठूलोलुम्पेक ९ का २४ वषर्ीय हरि विश्वकर्मालाई मन्दिर प्रवेश गरेको आरोपमा स्थानीयले कुटपिट गर्नुका साथै ढुंगा बोक्ने सजाय तोकेका थिए । विश्वकर्माले स्थानीय अनन्त भट्टराई, रुक्मांगत भट्टराई, रामप्रसाद पाण्डेय, निमेश पाण्डेय, यञ्जन पाण्डेय, मनोज पाण्डेय, निर्मल पाण्डेय, हेमन्त भट्टराई लगायतविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । बुधबार र बिहीबार भएको छलफलपछि माफी मागेर विवाद टुंगिएको प्रहरी नायब निरीक्षक जनकराज भुसालले बताए । उनका अनुसार आगामी दिनमा दलितलाई मन्दिर प्रवेशमा रोक लगाउन पाइने छैन । दलित भएकै कारण अवहेलना गर्न नपाइने, सार्वजनिक स्थलमा उनीहरूलाई भेदभाव गर्न नपाइने, ढुंगा बोक्ने सजाय फिर्ता गर्नेलगायत सहमति भएको सञ्चारकर्मी मिलन विश्वकर्माले बताए ।

हरि विश्वकर्मालाई स्थानीय धुसेनी पाहादी प्राथमिक विद्यालयका लागि चार दिन ढुंगा बोक्ने सजाय गाउँलेले तोकेको उनले बताए । ढुंगा बोक्न नसकेपछि पीडित युवक जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गुल्मीमा निवेदन दिएर पाल्पाको तानसेनस्थित आफन्तकहाँ आएका थिए ।

गाउँलेले पटकपटक धम्क्याएपछि न्याय खोज्दै हिँडेको उनले बताए । विश्वकर्मालाई मन्दिरमा लात्तीले हानेको आरोप लगाएका थिए । 'मैले प्रहरीमा निवेदन दिएपछि अनेक बहाना बनाएका हुन्,' विश्वकर्माले भने । गाउँलेको छलफलले परम्परागत रीति र चलन नाघेर मन्दिर प्रवेश गरेको भन्दै विश्वकर्मालाई सजाय तोकेका थिए । 'एक्लै ढुंगा बोक्नुपर्ने निर्णय गरे,' उनले भने, 'गाउँमा हामी कमजोर भएकाले केही बोल्न सक्ने अवस्था भएन ।' गाउँमा चार घर दलित परिवार बसोबास गर्छन् ।



यसै गरी आफुलाई उक्त घटनाको प्रत्यक्षदर्शी हुँ भन्दै एकजना स्थानियले कान्तिपुर दैनिकमा यस्तो पाठक प्रतिकृया लेखेका छन, कस्को कुरा पत्याउने...?


दलित मन्दिर पसेकोमा ढुङ्गा बोकाइएको समाचार अलि बंग्याएर लेखेको रहेछ । हाम्रो गाउँमा वर्षौदेखि नवदुर्गाको नौ दिनसम्म पूजा आराधना गरिन्छ । वर्षौदेखि मूल पुरोहित र नौ दिनसम्म बस्ने कर्तालाई मात्र प्रवेश दिने चलन छ । ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र भन्दैमा ती २ जनाबाहेक कसैलाई अनुमति छैन । जो आए पनि बाहिरबाट फूल प्रसाद र भेटी चढाउने परम्परा छ । दसैको नवौं दिन यज्ञ समापन गरिसकेपछि साँझ कीर्तनको आयोजना भएको थियो । सबैको आस्थाको केन्द्रमा मादकपदार्थ सेवन गरी लात हानी अपमान गरेकाले उनलाई ढुङ्गा बोकाइएको हो, समाचारमा उल्लेख भएजस्तो मन्दिर पसेकोमा होइन । स्मरण रहोस्, त्यस गाउँमा भएका स्कुल व्यवस्थापन, वन, कुलो र मोटरबाटो लगायतका समितिमा बालकृष्ण विक अध्यक्ष छन् र उनी मन्दिर सञ्चालक समितिका सदस्यसमेत हुन् । यसरी गाउँका सम्पूर्ण समितिहरूमा दलित व्यक्तिलाई अध्यक्षता गराइएको सायद बिरलै भेटिन्छ । तर दलित भन्दैमा मन्दिरमा लात हान्ने अधिकार कसैलाई छैन्ा र हुँदैन पनि । धार्मिक स्थलको सके सम्मान गरौं, नसके अपमान नगरौं ।

- गोपाल पाण्डे (प्रत्यक्षदर्शी)
ठूलो लुम्पेक ९, गुल्मी, हाल ः काठमाडौं

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग