Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रातोमाटो बेच्न नपाउँदा समस्या

Published on 9:24:00 PM //

घनश्याम गौतम 
छिमेकी जिल्लामा समेत प्रख्यात अमरपुरको राङदल चौरको रातोमाटोमा कर लिन थालेपछि माटो बिक्री गरेर दसैं खर्च जुटाउने स्थानीय कुमाल समुदायलाई चिन्ता परेको छ ।

सर्वदलीय संयन्त्रले स्थानीय विद्यालयको स्तरोन्नतिका लागि आर्थिक संकलन गर्न राङदलको रातोमाटोमा कर लगाउन थालेपछि दशकदेखि त्यही चौरको माटो बिक्री गरेर दसैं खर्च जुटाउने विपन्न समुदायका २ सय ५० कुमाल परिवारमा चिन्ता बढेको हो । गुल्मीसँगै छिमेकी जिल्ला अर्घाखाँची र बागलुङका धेरै गाविसमा अमरपुर राङदलको रातो माटो प्रख्यात छ । माओवादी, कांग्रेस, एमाले र जनमोर्चासहितका राजनीतिक दलका प्रतिनिधिले माटोमा कर लिने निर्णय गरेपछि कुमाल समुदायसँगै छिमेकी गाविसका बासिन्दासमेत आक्रोशित भएका छन् । ०१६ सालमा खुलेको स्थानीय विद्यालयको स्तरोन्नति हुन नसकेको भन्दै संयन्त्रले यस वर्षदेखि माटोमा कर लगाएको स्थानीय गाविस प्रतिनिधि होमा कुमालले बताए । आपmनो निजी घर पोत्नबाहेक बिक्री प्रयोजनका लागि माटो प्रति ३० किलोको बोरा १५ रुपैयाँमा किन्नुपर्ने नियम गाविस संयन्त्रले बनाएको छ । कुमाल समुदाय भने माटो किनेर र बोकेर सदरमुकाम तम्घास र आसपासका जिल्लामा पुर्‍याउँदा फाइदा नहुने भन्दै एक दशकदेखि बिक्री गर्दै आएको माटो खन्न गएका छैनन् । ६० देखि ९० रुपैयाँ प्रतिपाथी बिक्री हुने सार्वजनिक चौरको माटो किन्नुपरेपछि आफूहरू माटो बिक्री गर्न नहिँडेको कुमालहरूले बताए ।अमरपुर २ का कुमाल समुदायको वर्षभरि काम गरेर एक महिना खान पुग्ने जग्गा छैन । उनीहरूले दसैं आउनु दुई साता अगाडिदेखि रातोमाटो बिक्री गरेर दसैं खर्च जुटाउने गरेका थिए । 'मैले रातोमाटो बेचेर दसैं खर्च जुटाउने गरेको ८ वर्ष भयो', अमरपुर २, बुल्मकी लीला कुमालले भनिन्, 'तर यो वर्ष जस्तो चिन्ता कहिल्यै भएन ।' गत वर्ष माटो बिक्री गरेर ११ हजार ३ सय आम्दानी गरेकी उनले यस वर्ष गाविसले कर लगाएकै माटो किनेर बिक्रीका लागि लैजान नसकेको बताइन् । राङदल चौरको माटो दसैंमा घर पोत्ने गेरुभन्दा पनि रातो हुने भएकाले धेरै क्षेत्रमा प्रख्यात छ । रातोमाटोका लागि अर्जै, छापहिले, इस्मारजस्थल, धुर्कोट लगायत गाविसबाट समेत सयौं सर्वसाधरण आउने गर्छन् । व्यवस्थित ढंगले माटो खन्ने व्यवस्था नहुँदा झन्डै १५ रोपनी क्षेत्रफलमा फैलेको हरियाली आकर्षक चौरसमेत बिस्तारै कुरुप बन्दै गएको छ । चौरमा माटो खन्नका लागि दिनहुँ १ सय ५० देखि २ सय जनासम्मको भीड लाग्ने गरेको छ । घर पोत्नका लागि मात्र लैजाने उनीहरूले प्रतिबोरा १५ रुपैयाँ तिरेर माटो लैजाने गरेका छन् । तर अमरपुर २ बुल्मका २ सय ५० मध्ये कुनै परिवारले पनि माटो बिक्री नगरेको स्थानीय जुठे कुमालले बताए । गत वर्षहरूमा सबैभन्दा धेरै माटो बिक्री गर्नेमा गनिएका जुठेले अहिले १२ जनाको परिवारमा दसैंको समस्या थपिएको बताए । पहिला कर नतिरी माटो नपाइने र कर तिर्ने पैसा नहुँदा आफू यस वर्ष माटो खन्न नै नगएको स्थानीय रिमा कुमालको गुनासो थियो । 'बिक्री त हुन्थ्यो होला', उनले भनिन्, 'तर यहाँ माटो किन्न बुझाउने पैसै भएन ।' माटो बिक्री गरेर आपmना छोराछोरीलाई नयाँ लुगा किन्ने सोचमा बसेकी उनले नयाँ लुगाभन्दा पनि दसैंको बेला के खाने र खुवाउने भन्ने समस्या परेको बताइन् । माटोमा कर लगाएकामा छिमेकी गाविससमेत रुष्ट छन् । 'रमणीय र ठूलो राङदल चौर यस क्षेत्रकै रमणीय स्थल हो, माटो खन्न बन्द गर्ने कुरामा हामी सहमत छौं', अर्जै ४ का डिलाराम अर्यालले भने, 'तर हामीलाई अमरपुरले माटोमा कर लगाएपछि हामी पनि अमरपुर आउने खानेपानी बन्द गर्ने तयारीमा छौं ।' कर लगाउनुभन्दा चौरमा माटो खन्नै बन्द गर्नुपर्ने उनको सुझाव छ । अमरपुरको १ र २ वडामा ५ सय बढी कुमाल परिवार रहेको स्थानीय जीवलाल मुखियाले बताए । तीमध्ये २ सय ५० भन्दा बढीको दसैं खर्च जुटाउने माध्यम भनेको माटो बिक्री नै हो । गाविस प्रतिनिधिसमेत रहेका स्थानीय होमबहादुर कुमालले भने गाविसले निर्णय नै गरेर यस वर्षदेखि माटोमा कर लिन थालेपछि कुमाल समुदायले यस वर्ष माटो बिक्री नै नगरेको बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग