Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षा क्षेत्रमा सहयोग गर्नेहरूको सालिक

Published on 6:33:00 PM //


घनश्याम गौतम 
रेसुंगा बहुमुखी क्याम्पसले जग्गादाता र संस्थापक क्याम्पस प्रमुखको क्याम्पस प्राङ्गणमा शुक्रबार सालिक अनावरण गरेको छ । 

क्याम्पस स्थापनाका लागि २६ वर्ष अघि सदरमुकाम तम्घासमा लाखौं रुपैंया मुल्य पर्ने ५ रोपनी जग्गा उपलब्ध गराउने परमानन्द भण्डारी र संस्थापक क्याम्पस प्रमुख ज्ञानहरि आचार्यको सालिक स्थापना गरेको हो । 

क्याम्पसको २९ औं जन्मोत्सवको अवसर पारेर शिक्षामन्त्री दीनानाथ शर्माले सालिक अनावरण गरे । अनावरणमा मन्त्री शर्माले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने भण्डारी र आचार्य शिक्षा क्षेत्रका अतुलनीय व्यक्तित्व भएको बताउँदै त्यस्ता व्यक्तिलाई राज्यले पनि सम्मान गर्नुपर्ने बताए । समाजसेवी भण्डारीले जिल्लाका झन्डै दर्जन शिक्षण संस्थामा लाखौं रकम सहयोग गरेका छन् । गत वर्ष नै क्याम्पसको २८ औं जन्मोत्सवका क्रममा क्याम्पस सञ्चालक समितिले सालिक राख्न खोज्दा विवाद भएपछि सालिक नै तोडफोड भएको थियो । विवाद बढेपछि क्याम्पसले संस्थापक क्याम्पस प्रमुखसहित भण्डारीको सालिक स्थापना गरेको हो । 

शिक्षा क्षेत्रमा लगानी गर्नेहरूको सम्मानका लागि सालिक स्थापना गरिएको रेसुंगा क्याम्पस सञ्चालक समितिका अध्यक्ष नन्दराम भुसालले बताए । भुसालका अनुसार भण्डारीले क्याम्पसमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूको सहयोगका लागि ४ लाख रुपैयाँको जगुलाल भागिरथा स्मृति अक्षयकोषको समेत स्थापना गरिदिएका छन् । 

सालिक अनावरणपछि जन्मोत्सवको अवसर पारेर संस्थापक क्याम्पस प्रमुख आचार्यका छोरा भरत आचार्यले पनि पछि थप गर्ने गरी तत्कालका लागि ५० हजार रुपैयाँको अक्षयकोषको घोषणा गरेका छन् । त्यस्तै, क्याम्पसले पनि स्ववियु सभापति भएकै बेला राष्ट्रसेवाको क्रममा ज्यान गुमाएका पूर्वविद्यार्थी सागरसिंह ठकुरीका नाममा समेत पुरस्कारका लागि अक्षयकोषको स्थापना गरेको अध्यक्ष भुसालले बताए ।

जिल्लाका समाजसेवी एवं शिक्षा प्रेमी परमानन्द भण्डारीका नामबाट उनका परिवारले ग्रामीण क्षेत्रका अन्य क्याम्पस र विद्यालयहरूमा समेत लाखौं रुपैयाँ सहयोग गरेका छन् । भण्डारी पुत्र कृष्णप्रसाद भण्डारीका अनुसार धुर्कोटस्थित धुर्कोट बहुमुखी क्याम्पस सञ्चालनका लागि ६१ लाख रुपैयाँ नगद सहयोग गरेका छन् । त्यस्तै, जिल्लाकै हिमालय उच्च मावि, पाञ्चायन उच्च मावि, इन्दिरा मावि, धुर मावि लगायतका विद्यालयमा आर्थिक सहयोग एवं लाखौं रुपैंयाका अक्षयकोष स्थापना गरेर शिक्षामा योगदान पुर्‍याएका छन् ।

'क्षमता नभए पनि पैत्रिक सम्पत्ति र तीन भाइको आम्दानीबाट बुवाको स्मृतिमा सहयोग गरेका हौं ।' भण्डारीले भने । स्वर्गीय परमानन्दका तीन छोरामध्ये कृष्ण र दया व्यवसायी हुन् भने जेठा छोरा भुवनेश्वर रूपन्देहीमा राजनीतिमा सक्रिय छन् । ५१ लाख नगद सहयोग गरेपछि क्याम्पस व्यवस्थापन समितिले धुर्कोट क्याम्पसको नामकरण स्वर्गीय भण्डारीकै नामबाट 'धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पस' नामकरण गर्ने प्रक्रिया अगाडि बढेको व्यवस्थापन समिति सदस्य एवं पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग