Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्ला आयुर्बेदमा डाक्टरको मनपरी, कामै नगरी लाखौ अनियमितता

Published on 9:20:00 PM //

 गगनशिला खड्का
जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने जिल्ला आयूर्वेद कार्यालय गुल्मीमा कार्यालय प्रमुख र कर्मचारीको मिलेमतोमा व्यापक अनियमतिता भएको छ । कार्यालयमा औषधी खरीद, फर्निचर, तालिम, ढुवानी, गाउँमा सञ्चालन गर्ने शिवीर र प्रकाशनमा व्यापक अनियमितता भएको हो । प्रायः कार्यालय समयमा निजी औषधालयमा विरामी जाँच गरेर कमिसन लिने गरेको कार्यालय प्रमुख डा. सुबोध मिश्रले कार्यालयमा केही कर्मचारीलाई काखी च्यापेर व्यापक अनियमितता गरेको उनकै कार्यालयका कर्मचारीले गुनासो गरेका छन् ।
जिल्ला र गाउँ गाउँका आयुर्बेदिक औषधालयहरुमा औषधी नभएर विरामीलाई खालीहात फिर्ता गर्नुपरेको तर औषधी खरीद नगरेर नक्कली विलमात्र बनेका छन् । जिल्लामा आयुर्बेदिक औषधालयका लागी अत्याबस्यक औषधी खरीद शिर्षकमा १ लाख ९५ हजार, प्राथमिक उपचारका लागी औषधी खरीदमा ४० हजार, अत्याबस्यक आयुर्बेदिक औषधी खरीदमा १ लाख ५ हजार गरी तीनलाख ४० हजार रुपैयाको बजेट छ तर दोश्रो चौमासिकभित्र खरीद गरीसक्नुपर्ने औषधी कुनै पनि औषधालयहरुमा नपुगेको कर्मचारीहरु बताउँछन् । तर कार्यालय प्रमुखले भने धेरैजसो औषधी खरीद गरीसकेको विल भर्पाई बनाएर तैयार पारेका छन् । यो आर्थिक वर्ष शुरु भएपनि अहिलेसम्म १ पोका औषधी नआएकोले विरामीलाई समस्या भएको रीडि आयुर्बेदीक औषधालय प्रमुख कविराज विमला चौधरीको भनाई छ । “यो आर्थिक वर्ष शुरु भएपछि अहिलेसम्म औषधी आएको छैन, आर्थिकवर्ष सकिन लाग्यो, पुरानो औषधी थोरैमात्रामा दिने र विरामीलाई पठाउने बाध्यता छ । ”
सबै प्रकारका औषधी खरीद गर्नको लागी खरीद समिती गठन गरीएको र त्यसको निर्णय विना औषधी खरीद गर्न नमिल्ने भएपनि आफूलाई औषधी खरीदको विषयमा केही थाहा नभएको खरीद समिती संयोजक रहेका कमल आचार्यले बताए । “ औषधी खरीदको लागी मेरो संयोजकत्वमा खरीद समिती गठन गरीएको हो तर अहिलेसम्म के कति औषधी खरीद भयो, मलाई केही थाहा छैन ” – आचार्यले भने – “बैठकबिनै डाक्टर साबले नै एक्लै गर्नुभएको छ । ” औषधी खरीद गरेर पठाउनुको साटो विभागबाट आएको औषधी समेत थोरै मात्र पठाएर फारममा धेरै परीणाम र मात्रा उल्लेख गरीएकोले आफूले फिर्ता पठाईदिएको पिपलधारा आयुर्बेद औषधालय प्रमुख कविराज पशुपति पनथीले बताए ।
गाउँमा मात्रै होईन जिल्ला आयुर्बेद कार्यालयमै औषधी नभएर हरके विरामीलाई २० ग्राम सितोपलादी, रत्रिफलाचूर्ण मात्रै बाँड्नुपरेको कर्मचारीले बताउँछन् । “ अरु औषधी छैन, विरामी आएभने सितोपलादी र त्रिफलामात्रै दियो पठायो, ” – जिल्ला कर्यालयकै एकजना कर्मचारीले भने “बढी बाँड्यो भने त १ करोडले पनि पुग्दैन भन्नुहुन्छ डाक्टरसाब, त्यसैले २० ग्राम मात्रै ।” शिवीर सञ्चालनका लागी १ लाख र शिवीरका लागी औषधी खरीद गर्ने शिर्षमा ३१ हजार रुपैयाँ रकम विनीयोजन भएपनि अहिलेसम्म शिवीर सञ्चालन नगरी प्रशासन कार्यालयले गरेको एकीकृत घुम्ति शिवीरका नाममा नक्कली विल भर्पाई बनाएर रकम हिनामिना गरीएको छ ।
प्रशासन कार्यालयले गरेको शिवीरमा आफ्नो कार्यालयको एक रुपैयाँ पनि खर्च नभएको कविराज पशुपती पन्थीको भनाई छ । “शन्तिपुरको एकीकृत शिवीरमा यातायात खर्च पश्चिमाञ्चल यातायात व्याबसायी र खाना छिमेकी गाविसले व्याबस्था गरेका हुन – उनले भने –“ औषधी एक कार्टुन विभागबाट आएको निःशुल्क औषधी र ३ कार्टुन वान कम्पनिबाट आएको स्याम्पुलकोे औषधी बाँडीएको हो, त्यसैले हाम्रो कार्यालयको १ रुपैयाँ पनि खर्च भएको छैन । ” तर कार्यालय प्रमुख डा. मिश्रले भने शान्तिपुरको शिवीरमा नै सबै रकम खर्च भएकोले अर्को शिवीर गर्न नसकिने बताए । स्तनपायी आमाको ३० जनालाई ६ महिनासम्म निःशुल्क स्तनबर्धक औषधी वितरण गर्नुपर्नेमा कार्यालयले फर्जि विवरण भरेर अनियमितता गरेको छ । स्तनपायी आमाको लागी दुग्धवर्धक औषधी खरीद शिर्षमा ४५ हजार र ज्येष्ठ नागरीक निःशुल्क स्वास्थ्य संरक्षण र पञ्चकर्म रसायन योगसेवा भनेर ७५ हजार रुपैयाँको कार्यक्रम छ । ७५ जना ज्ेयष्ठ नागरीकलाई १ हजारका दरले सेवा दिनुपर्नेमा विभीन्न ठाउँमा सञ्चालन गरीएका शिवीरका बृद्धबृद्धाहरुको नाम लेखेर दोहोरो खर्च विवरण देखाईएको छ । “
स्तनपायी आमाका लागी जम्मा ४० फाईल औषधी आएको हो, तर दर्ता कितावमा ६१ जनालाई वितरण गरीएको भनेर नाम लेखिएको छ । ” – कार्यालयकै एकजना कर्मचारीले भने “ज्येष्ठ नागरीक पनि सबै शिवीरमा आएका बुढाबुढीका नाम लेखेर राखिएको छ, उनीहरु कसैले पनि १ हजार रुपैयाँ बराबरको सेवा र औषधी पाएका छैनन् । ” कार्यालय प्रमुख मिश्रले जिल्ला आयुर्बेद कार्यालयमा उपचारका लागी जाने विरामीहरुलाई निजी क्लिनीकमा पठाउने गरेको रहस्य पनि खुलेको छ । “यहाँभन्दा बजारको औषधीपसलमा राम्रा उपकरण छन् राम्ररी जाँचौला उहँीँ आउनुहोला भनेर पठाउनुभयो ” तम्घासकी यमकला खत्रीले भने – राम्रो उपचार हुने भएपछि हामीलाई त पैसा भन्दा पनि उपचारको कुरा हो जानै पर्‍यो ।”
सूचनामूलक सामाग्री प्रकाशन प्रसारण भनेर ९ हजार रुपैयाँ रहेपनि अहिलेसम्म कुनै प्रकाशन प्रशारणका काम नगरी विल बनाएका छन् भने जिल्ला विकाश समितीको २५ हजार सहयोगमा गतवर्ष सम्झौता भएको रेडियो कार्याक्रम समेत चलाउन नजाँदा अनियमिता भएको छ । “गतवर्ष रेडियो कार्यक्रम सम्झौता भएर रकम भुक्तानि पनि भयो तर प्रमुख ज्यू आफु पनि कार्यक्रम चलाउन जानुहुन्न, अरुलाई पनि पठाउनुहुन्न ” एक बैद्यले भने । उनी कार्यालय समयमै निजी औषधालयमा जाने भएकोले रेडियोका लागी समय दिन नसकेको कर्मचारीहरुको आरोप छ ।
८ हजार रुपैयाँमा २ जना कर्मचारीले कम्प्यूटर तालिम लिनुपर्ने भएपनि अहिलेसम्म कसैले तालिम लिएका छैनन भने ५ हजार रुपैयाँ बराबरको आयूर्बेद ऐन नियम सम्बन्धि पुस्तक खरीद गर्नुपर्ने भएपनि अहिलेसम्म कार्यालयमा कुनै पुस्तक खरीद नगरी विल बनाएको एकजना कर्मचारीले बताए । ३८ हजार रुपैयाँ बजेटमा विद्यालय आयुर्बेद शिक्षा कार्यक्रम गर्नुपर्नेमा सदरमुकाम तम्घासका २ र अर्जे गाविसका १ विद्यालयमा १÷१ दिन कार्यक्रम गर्नुबाहेक केही काम भएको भएको छैन । सेवाग्राहीहरुलाई निःशुल्क नाम दर्ता गरी सेवा दिनको लागी टिक शुल्क बापत निःशर्त अनुदान टिकट दर्ता शुल्क भनेर ७४ हजार रुपैयाँ रकम छुट्टिएको भएपनि गतवर्ष छापेका टिकटबाट मात्रै काम गरेर यसको नाममा ६३ हजार रुपैयाँको विल तयार गरी राखिएको छ ।
यसका लागी समिती नै गठन गर्नुपर्ने भएपनि अहिलेसम्म समिती गठन समेत गरीएको छैन । उता गाउँगाउँमा भने विरामीको विबरण पठाउने फारम सकिएको महिनौँ हुँदा समेत वेवास्ता गरेको पिपलधारा आयूर्वेदका पशुपति पन्थीले बताए । “ विरामीको विवरण पठाउने फारम सकिएको महिनौँ भयो, पटक पटक जानकारी गराएपनि नदिएपछि विवरण पठाउन रोकीएको छ ” पन्थीले भने । ४० हजार रुपैयाँ बजेटमा ४ ठाउँमा ४० जना महिला स्वयंसेविका छनोट गरी तालिम दिनुपर्ने कार्यक्रम रहेपनि १ ठाउँमा मात्र जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गतका महिला स्वयं सेविकाहरु जम्मा पारी २ दिने कार्यक्रम गरीएको कर्मचारीहरुको भनाई छ । पहिलो र दोश्रो चौमासिक मा ४५÷४५ हजार रुपैयाँको औषधी उत्पादन गर्ने गरी ९० हजार रुपैयाँ चूर्ण औषधी निर्माणको बजेट रहेको भएपनि अहिलेसम्म कत्तिपनि औषधी उत्पादन भएको छैन । “ औषधी निर्माणको जिम्मा मेरो हो, धेरै काम सकिएको छ, अव तुरुन्तै उत्पादन शुरु हुन्छ ” कार्यालयका बैद्य भुसालले भने ।
कार्यालय प्रमुख मिश्रले औषधी ढुवानी खर्च अरुलाई दिन नमान्ने र कार्यक्रम भ्रमण निरीक्षण र सुपरीवेक्षण भन्दै गाउँमा जाँदा औषधी लगेर ढुवानीको खर्चसमेत कुम्ल्याउने गरेको धेरै कर्मचारीको आरोप छ । दशैमा १० दिनसम्म कार्यालयको रेखदेख गरेबापत कार्यालय सहायक हरुले पाउनुपर्ने भत्ता समेत नदिएर अन्याय गरेको कार्यालय सहयोगीहरुको गुनासो छ । “ गाउँका साथीहरुले दँशैमा कार्यालय रेखदेख गरेको खर्च नपाएपछि हामीले कोलेनिकामा सम्पर्क गर्यौँ, कोलेनिकाले उपलब्ध गराउन निर्देशन दिएपनि अहिलेसम्म उपलब्ध भएन । ” –कार्यालय सहयोगी नारायण भण्डारीले भने ।
फर्निचर खरीद अन्तर्गको ३० हजार रुपैयाँबाट प्रमुख मिश्रले आफ्नो व्यक्तिगत कोठामा एउटा सामान्य पलङ्ग र एउटा कुर्सि मात्रै किनेर ३० हजार रुपैयाँको विल कार्यालयमा पेश गरेका छन् । वर्षिक कार्याक्रम विवरण अनुसार आयुर्वेद कार्यालयले गर्नुपर्ने २६ प्रकारका विभीन्न कार्यक्रम र सेवाहरु रहेको भएपनि अहिलेसम्म योजना तर्जुमा गोष्ठी, महामारी जनचेतना, कृषक जडीवुटी जनचेतना पूर्ण रुपमा र स्वयं सेविका छनौँट, विद्यालय शिक्षा र स्तनपायी आमाहरुका लागी आंशिक गरी ६ वटा कार्याक्रम मात्रै गरेको कार्यालयका कर्मचारीहरुले बताउँछन् । बाँकी सबै काम कार्यालयमा आफू निकटकका कर्मचारीले रातभर बसेर विल मिलाउने काम गरेको पनि कर्मचारीहरुको आरोप छ ।
जिल्ला आयुर्बेद कार्यालय भवनमा कार्यालय प्रमुख र सहयोग गरी २ जना परीवार बस्नुपर्ने भएपनि अहिले विरामी जाँच्ने ठाउँसमेतमा ४ जना कर्मचारी बस्दै आएका छन् । विरामी जाँच्ने कोठामा कर्मचारी बस्न थालेपछि औपाधी वितरण गर्ने ठाउँमा विरामी जाँच्ने र भर्‍याङ मुनि बारबेर गरेर औषधी वितरण गर्ने गरीएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग