Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भैँसीदेखि भेडा बिक्रीका लागि रेडियोबाट विज्ञापन

Published on 5:55:00 PM //


फलेवास (पर्वत), २८ चैत । ‘तपाइलाई लैनो भैँसी चाहिएको छ ? कालो वर्णको, पहिलो वेत ब्याएको, तीन माना दूध अनि छोटो कदको, सिँङ कान मिलेको यदि यस्तो भैँसी चाहिएको छ भने यति नम्बरमा सम्पर्क गर्नुहोला ।’
यो कुनै पत्रिकाको विज्ञापन होइन, गाउँमा खोलिएको सामुदायिक एफएममा भैँसी बिक्रीका लागि तयार पारिएको विज्ञापन हो ।
पर्वतको फलेवास खानिगाउँमा सञ्चालन गरिएको सामुदायिक एफएम ‘रेडियो पर्वत’ले गाउँमा रहेका साना–तिना सूचनाका साथै दैनिकरूपमा भैँसी बिक्रीको सूचना होस् वा गाउँमा कुनै व्यक्तिको घरमा पूजा–पाठको सूचनालाई पहिलो प्राथमिकता दिएर विज्ञापन बजाउने गर्दछ ।
गाउँमा रेडियो भएका कारण मनोरञ्जनात्मक भन्दापनि समुदायले गरेका विकास र प्रगतिका समाचारका साथै गाउँलेले गरेका कृषि उत्पादनको प्रचार–प्रसार गर्ने कार्यमा रेडियोले पहिलो प्राथमिकता दिएको रेडियोका स्टेशन म्यानेजर तारानाथ आचार्यले बताउनुहुन्छ ।
खासगरेर समुदायमा रहेका र ओझेलमा परेका सफलताका कथा हुन् वा विकृती विसङ्गतीका साथै आर्थिक अनियमितताका समाचारहरू प्रशारण गर्दै रेडियोले जनताका आवाज साथै सशक्तीकरण गरेको श्री आचार्यको भनाई छ ।
विसं २०६५ मा स्थापित यस रेडियोले विगत तीन वर्षदेखि गाउँका विकास निर्माणका साथै वृद्ध, महिला, दलित तथा बालबालिकाका कार्यक्रमलाई पहिलो प्राथमिकता र दोस्रो प्राथमिकतामा युवा सशक्तीकरणका साथै मनोरञ्जनात्मक कार्यक्रमलाई प्राथामिकता दिने गरेको आचार्यको भनाई छ ।
पर्वत जिल्लाका साथै बाग्लुङ, म्याग्दी, गुल्मी, स्याङजालगायतका एक दर्जन गाविसमा आफ्नो प्रसारण सुन्न सकिने यो रेडियोले सामुदायिक वन, विद्यालय, गाविसले गरेका राम्रा कार्यका साथै स्थानीय महिला समूह र युवा क्लवले गरेका कार्यक्रमको बारेमा प्रचार–प्रसार गरेर समुदायको मन जित्न सफल रहेको स्टेशन मेनेजर आचार्यले बताउनुभयो ।
‘सामुदायिक रेडियो भएकाले हामी समुदायका सफलताका कथाहरूका साथै गाउँलेले उत्पादन गरेका उत्पादनको प्रचार–प्रसार गरिरहेका छौँ’ शर्माले भन्नुभयो– ‘सबैका समस्या तथा सफलतालाई प्रसारण गर्ने भएकाले हामी समुदायको मन जित्न सफल भएका छौं ।’
गाउँको रेडियो भएको र थोरै स्रोतमा काम गर्नुपर्ने भएकाले रेडियोमा काम गर्ने सञ्चारकर्मी समय–समयमा बदलिने भएकाले केही समस्या भएको भएपनि नयाँ पुस्तालाई अवसर दिएको अचार्यको भनाई छ । रेडियो सञ्चालनका लागि बजारका ठूला घर खोजेर सुविधा सम्पन्न हुने भएपनि यो रेडियोको स्टुडियो भने काठले बारेर बनाइएको छ ।
थोरै रकममा रेडियो सञ्चालन गरिएको भएका कारण तामझामका साथ सञ्चालन गर्न नसकिएपनि कार्यक्रमको हिसाबले उत्कृष्ठ र समुदायको आवाज उठाउन सकेकोमा जनताको बीचमा स्थापित हुन सक्षम भएको रेडियोका अध्यक्ष भोलानाथ शर्माले बताउनुभयो ।
गाउँमा रेडियो चलाउन गाह्रो भएको भएपनि सबै प्रकारका कार्यक्रमलाई प्राथमिकता दिएर प्रसारण गरेकाले समुदायमा स्थापित रेडियो बन्न सफल भएको अध्यक्ष शर्माले भन्नुभयो ।
गाउँमा रहेको रेडियोले समुदायको आवाजलाई उठाउन सफल भएको र समुदायको मन जित्नसमेत सफल र सक्षम भएको अध्यक्ष शर्माको भनाई छ । रासस

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग