Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा सहकारी संस्थाले बनायो देशकै ठूलो लघुजलविद्युत्

Published on 2:54:00 AM //


 जम्मा १५ प्रतिशत खपत, ८५ प्रतिशत त्यसै खेर गइरहेको छ

३१ वैशाख, गुल्मी । गाउँको एउटा सहकारी संस्थाले १३५ किलोवाटको लघुजलविद्युत् आयोजना सम्पन्न गरी बिजुली उत्पादन गरेको छ ।  गुल्मीको वामीटक्सारमा परोपकार सहकारी संस्थाले बागलुङ र गुल्मीको सिमानामा पर्ने दरमखोलाबाट उत्पादन गरिएको उक्त योजनाबाट १३५ किलोवाट विद्युत् उत्पादन गरेको हो ।
आयोजनाको रीपोर्टीङ्गको क्रममा पत्रकारहरु र जानकारी गराउँदै
पारीयोजनाका कर्मचारीहरु । फोटो: भरत पाण्डे 

एक हजार ६०० मिटर लामो नहरबाट ल्याएको पानी २१ मिटर माथिबाट सिधा दूरीमा खसाली एक हजार ३०० लिटर प्रतिसेकेन्ड प्रवाहमार्फत उक्त विद्युत् उत्पादन भएको हो ।     ऊर्जा क्षेत्र सहयोग कार्यक्रम -इएसएपी) को रु एक करोड ४५ लाख अनुदान र परोपकार बहुउद्देस्यीय सहकारी संस्था वामीको रु दुई करोड गरी रु तीन करोड ४५ लाखको लागतमा सम्पन्न उक्त आयोजनाबाट १३५ किलोवाट विद्युत् उत्पादन भएको छ ।

आयोजनाका लागि ग्रामीण आर्थिक विकास सङ्घ रेडा पाल्पाको क्षेत्रीय नवीकरणिय ऊर्जा सेवा केन्द्र कार्यक्रम प्राविधिक सहयोग र समन्वय रहेको थियो । यो आयोजना देशकै सबैभन्दा ठूलो आयोजना भएको क्षेत्रीय नवीकरणीय सेवा केन्द्र रेडा पाल्पाका अधिकृत जीवन कुँवरले बताउनुभयो । यसपछिको दोस्रो योजना स्याँजामा निर्माण हुन लागेको समेत उहाँले बताउनुभयो ।

सहकारी संस्थाका सदस्यहरुले रु पाँच हजारदेखि रु एक लाखसम्मको सेयर खरिद गरी उत्पादन भएको सो विद्युत्बाट जिल्लाको मुसिकोट गाविसमा ७०० र पौँदी अमराईमा ९०० घरधुरीले बिजुली बालेका छन् । ती गाविसमा जम्मा १५ प्रतिशत बिजुली खपत भएपनि ८५ प्रतिशत बिजुली त्यसै खेर गइरहेको आयोजनाका अध्यक्ष धर्मेन्द्र मल्लले बताउनुभयो । देशमा चर्को लोडसेडिङ र गुल्मी जिल्लाभरि बिजुली नपुगेर जनता अँध्यारोमा बस्नु परिरहेको अवस्थामा यस आयोजनाबाट उत्पादिन बिजुली सदुपयोग गर्न सके धेरै जनताका घरमा बिजुली पुर्‍याउन सकिने जिल्ला इन्जिनियर लालु गिरीले बताउनुभयो ।     रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग