Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी समाज यूकेद्वारा ७२ लाख रुपैयाँ बराबरको सहयोग, गत बर्ष मात्र ३४ लाखको सहयोग

Published on 8:56:00 AM //

शिव भण्डारी/केशव भण्डारी
गुल्मी जिल्ला समाज युकेको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत अप्रिल २२ तारिखका दिन केन्टको टनब्रीज स्कुलमा आयोजित साधारणसभाको उद्घाटन समाजका अध्यक्ष ओमप्रसाद थापा र वयोवृद्ध सदस्य धनबहादुर बुढाथोकीले पानसमा बत्ती बालेर संयुक्त रुपमा गरेका थिए ।

अध्यक्ष थापाले गुल्मी समाज, युकेले गुल्मी जिल्लामा विभिन्न सामाजिक काम गर्दै आइरहेको जनाउँदै गत वर्ष मात्र गुल्मीमा करिब ३४ लाख रुपैयाँ बराबरको सहयोग गरिएको जानकारी दिए । कार्यक्रममा गुल्मी समाज युकेले स्थापनाकालदेखि हालसम्म विभिन्न सामाजिक क्षेत्रमा ७२ लाख रुपैयाँ बराबरको सहयोग गरिसकेको जानकारी दिइएको थियो ।

समाजले गत वर्ष अपाङ्ग दिवसको अवसरमा च्यारिटी कार्यक्रम गरेर करिब १६ लाख रुपियाँ सङ्कलन गरी आशा अपाङ्ग केन्द्र, नेपाललाई प्रदान गरेको थियो । समाजको वाषिर्क गतिविधि प्रस्तुत गर्दै संघका अध्यक्ष थापाले अल्टरसोटमा बस्दै आएका गुल्मीबासी काशीराम थापाको आकस्मिक निधन भएपछि परिवारबाट सहयोगको अनुरोध आएकाले मृतकका परिवारलाई गुल्मी समाज युकेको नेतृत्वमा बेलायतबासी गुल्मेली र विभिन्न ११ वटा संघसंस्थाले सहयोग गरेको बताए । उनले मृतक थापाको परिवारलाई करिब ७ हजार पाउण्ड सहयोग प्रदान गरेको समेत बताए ।

यसैगरी, गुल्मी निवासी १७ वषर्ीया मैया खरेलको मुटुको शल्यक्रिया गर्न गुल्मी जिल्ला समाज युके र नटिङ्घम समाज युकेको सक्रियतामा संयुक्त रुपमा १ लाख रुपैयाँ प्रदान गरिएको जानकारी दिइएको थियो ।
साधारणसभामा आफ्नो जन्मथलो गुल्मीमा व्यक्तिगत रुपले विभिन्न क्षेत्रमा सहयोग गर्ने समाजसेवीहरुलाई सम्मान र धन्यवाद व्यक्त गरिएको थियो । सो अवसरमा गुल्मीको भार्सेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न मेघबहादुर गलामी र दुर्गा बुढाथोकीको अगुवाईमा दुई लाख रुपैयाँ सहयोग गर्ने भार्सेली बेलायतवासी प्रति पनि धन्यवाद व्यक्त गरियो । भार्सेकै गुम्बा मन्दिरमा खानेपानी व्यवस्थापनका लागि एक लाख पच्चीस हजार सहयोग गर्ने प्रेमसिंह राना र शिला रानालाई सम्मान गरिएको थियो ।

यसैगरी समाजका सल्लाहकार चक्रबहादुर रानाले गुल्मी लिम्घामा मोटरबाटो निर्माणका लागि एक लाख पच्चीस हजार र अर्का सल्लाहकार टेकबहादुर थापाको नेतृत्वमा हसराको पम्फुका स्थित विष्णुमती, विद्यालय सञ्चालनका लागि दुई लाख उनचालिस हजार रुपैया सहयोग गरेबापत थापा र रानालाई पनि सम्मान गरियो ।

सल्लाहकार फत्त थापा र आजीवन सदस्य खड्क रेस्मीले आफु जन्मेको गाउँ गुल्मीको हस्तिचौरको श्रीदेवीस्थान मावि तालतुङभवन निर्माणका लागि जग्गा खरिद गर्न जनही ५/५ लाख रुपैयाँ प्रदान गरे वापत पनि समाजले सम्मान गरेको थियो ।

सल्लाहकार दासुराम पाण्डेले गुल्मी अस्लेवाको श्रीराम स्कुललाई दुई लाख दश हजार र समाजका मिडिया सेक्रेटरी शिव भण्डारीले नेपाल रेडक्रस सोसाइटीको उपशाखा धुर्कोटको भवन निर्माणमा २५ हजार, गुल्मी धुर्कोटकै परमानन्द बहुमुखी क्याम्पसलाई ५० हजार र जन्मथलो र शिक्षा आर्जन गरेको विद्यालय पाञ्चायन उच्च मावि जैसीथोकलाई एकलाख ५० हजार रुपैंया प्रदान गरेकोमा समाजको तर्फबाट आभार प्रकट गरिएको थियो ।
समाजका अध्यक्ष ओमप्रसाद थापा, उपाध्यक्ष मोती भण्डारी र महासचिव अर्जुन गौतमले संयुक्त रुपमा शान्तिपुर रेमीका श्री भारती निमावि स्कुलको कोठा थप गर्न पचहत्तर हजार रुपिया प्रदान गरेकोमा धन्यवाद दिइएको थियो ।

अध्यक्ष थापाको सभापतित्वमा सम्पन्न छैटौँ साधारणसभामा समाजका उपाध्यक्ष मोती भण्डारीले स्वागत मन्तव्य राखेका थिए । महासचिव अर्जुन गौतमले समाजको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष वीन भुजेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए । गुल्मी जिल्ला समाजका महासचिव अर्जुन गौतम र सचिव विनोद ज्ञवालीले सञ्चालन गरेको साधारणसभामा सल्लाहकार बालजङ्ग अर्याल, पशुपति भण्डारी, दासुराम पाण्डे, वसन्त भुजेल, फत्त थापाले आफ्ना सुझावहरु राखेका थिए ।

नौमती बाजाको गतिविधिबारे टोपबहादुर पल्लीले जानकारी दिएका थिए । आगामी वर्ष पनि समाजिक कार्यलाई निरन्तरता दिन च्यारिटी कार्यक्रम गर्ने, आजीवन सदस्यहरुबाट जम्मा भएको रकममा प्रशासनिक खर्च चलाउने, गुल्मी जिल्ला समाज युकेलाई च्यारिटी संस्थाका रुपमा दर्ता गर्नेजस्ता विषयमा समेत साधारणसभामा व्यापक छलफल भएको थियो ।

१४६ जना आजीवन सदस्य रहेको समाजलाई थप बलियो बनाएर अगाडि बढाउने निर्णय पनि साधारण सभाले गरेको छ । साथै आगामी वर्ष सम्पूर्ण गुल्मी जिल्ला समाजका गतिविधि एवं आजीवन सदस्यहरुको परिचय समेट्ने गरी एक पुस्तक प्रकाशन गर्ने निर्णय पनि सभाले गरेको छ । यसैगरी समाजको वाषिर्क भेटघाट आगामी अगष्ट ४ तारिखका दिन फार्नबोरो ओकफार्म स्कुलमा गर्ने निर्णयसमेत सभाले गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग