Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाली गार्डका लागि मलेसिया फेरि खुल्यो

Published on 1:59:00 AM //


क्वालालम्पुर (मलेसिया) , असार १५ - निकै आकर्षक रोजगारीको क्षेत्र मानिने मलेसियाको सुरक्षाक्षेत्र नेपालीका लागि फेरि खुलेको छ । बढ्दो माग र रोजगारदाताको आग्रहमा मलेसियाली सरकारले क्षेत्र खुला गरेको हो ।

रोजगारदाताको मागअनुसार योग्य गार्डको अभाव झेल्दै आएपछि सरकारले रोजगारदाता एवं संस्थाहरुको आग्रहलाई ख्याल गरी यही जुन महिनाको दोस्रो सातादेखि सुरक्षाक्षेत्रमा नेपालबाटै कामदार ल्याउन अनुमति दिएको हो ।

'सरकारले यही जुन महिना दोस्रो सातादेखि नेपाली गार्ड ल्याउन अनुमति दिएको छ' सुरक्षा गार्डसम्बन्धी काम गर्ने संस्थाहरुको छाता सगठन सुरक्षा सेवा संघ मलेसियाका एक सदस्यले भने, 'अब योग्य कामदारको बढ्दो माग विस्तारै आपूर्ति हुने विश्वास छ ।'

मलेसियाली सरकारले मागअनुसार कामदार आपूर्ति गर्न गतबर्ष आममाफी कार्यक्रम अन्तर्गत ल्याएको सिक्स–पी (बैधता कार्यक्रम) मा अवैध रुपमा रहेका १० हजार नेपालीलाई यस क्षेत्रमा रोजगारीको अनुमति दिएको थियो । त्यसरी अनुमति दिइए पनि अझै योग्य कामदार अभाव भएको भन्दै संघ र रोजगारदाताले नेपाली गार्ड ल्याउन अनुमति दिन सरकारसमक्ष पटक–पटक आग्रह गर्दै आएका थिए ।

स्रोतकाअनुसार बैधता कार्यक्रम अन्तर्गत सरकारले अनुमति दिएको १० हजार कोटामध्ये करिब ७ हजारमात्रै पूर्तिभएको छ । अझै ३ हजार कामदार अभाव छ । 'पुरानो माग कोटा अझै पूरा हुन सकेको छैन । नयाँ माग त्यत्ति कै बढ्दोछ । माग बढेकाले योग्य कामदार पाउनै गाह्रो भएको थियो' ती सदस्यले भने । नयाँ आवास गृहहरु, सुपरमार्केट एवं नयाँ भवनहरु बढ्दै गएकाले कामदार अभाव भएको हो ।

सुरक्षा क्षेत्रमा माग अनुसार कामदार आपूर्ति गर्न गाह्रो भएकाले रोजगार व्यवसायीले पुनःनेपालदेखि नै कामदार ल्याउन थालेका छन् । सरकारले जुनमा अनुमति दिएपछि रोजगार व्यवसायीले नेपालदेखि नै कामदार ल्याउन प्रक्रिया थालेका हुन् । नेपालीका लागि सबैभन्दा आकर्षक मानिने यस क्षेत्रमा मलेसिया सरकारले विदेशीमध्ये नेपालीलाई मात्र रोजगारी दिँदै आएको छ । नेपालीलाई मात्र अनुमति भएपनि कतिपय स्थानहरुमा भारत, इण्डोनेसीयालगायत देशका नागरिकले पनि गार्डको काम गरिरहेको भन्दै संघले एक महिना अघि आपत्ति समेत जनाएको थियो ।

नेपाली सुरक्षागार्ड सैनिक पृष्ठभुमीबाट आउने ‘गुर्खा’ पृष्ठभूमिका र इमान्दार हुने भएकाले पहिलो रोजाइमा पर्दै आएका छन् । यस क्षेत्रमा कार्यरत नेपालीले मासिक ५० हजार रुपैंयासम्म कमाउँछन् । यहाँका उच्च घराहनीयदेखि सामान्य गृहवासीले समेत नेपाली गार्ड राख्न रुचाउँछन् । केही महिनाअघि सार्वजनिक एक तथ्यांकअनुसार मलेसियामा हाल कानुनी रुपमा करिब ५ हजार नेपाली यस क्षेत्रमा कार्यरत छन् ।
कान्तिपुर दैनिकबाट

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग