Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रञ्जनकी प्रेमिकालाई थुनामा राख्ने आदेश

Published on 1:19:00 AM //


नवराज मैनाली
श्रीमती हत्याको अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका सशस्त्र प्रहरी बलका निलम्बित डिआइजी रञ्जन कोइरालाकी प्रेमिका तारा रेग्मीलाई पनि अदालतले थुनामा राख्ने आदेश दिएको छ । गीताको हत्यामा रेग्मीले पनि सघाएकाले उनलाई पुनरावेदन अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । तर, आदेशलगत्तै तारा फरार भएकी छिन् ।
यसअघि हत्यामा संलग्नताको बलियो प्रमाण नभेटिएको भन्दै काठमाडौं जिल्ला अदालतले तारालाई गत १४ फागुनमा एक लाख धरौटीमा रिहा गरेको थियो । काठमाडौं जिल्ला अदालतको सो आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पुनरावेदन अदालत पाटनमा पुनरावदेन निवेदन दर्ता गरेको थियो । सो निवेदनमा पाटन अदालतका न्यायाधीशद्वय टीकाबहादुर हमाल र प्रकाशचन्द्र्र गजुरेलको संयुक्त इजलासले तारा 'पूर्णरूपमा निर्दाेष नरहेको' भन्दै अन्तिम फैसला नभएसम्म उनलाई थुनामै राख्न आदेश दिएको हो । गत ७ असारमा पुनरावेदन अदालत पाटनले सो आदेश दिएको हो । सो आदेश कार्यान्वयन गर्ने काम जिल्ला अदालत काठमाडौंको हो । तर, तारा फरार भइसकेकी छिन्् ।
हाल पुर्पक्षका लागि डिल्लीबजार जेलमा रहेका रञ्जनले गत २७ पुसमा श्रीमती गीता ढकाल कोइरालाको बूढानीलकण्ठस्थित घरमा हत्या गरी बेलुका मकवानपुरको टिस्टुङमा लगि शव जलाएका थिए । छोरीलाई ज्वाइँ रञ्जनले बेपत्ता बनाएको भन्दै त्यसको भोलिपल्ट गीताका बुबाले प्रहरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान सुरु भएको थियो । पछि रञ्जन ८ माघमा पक्राउ परेका थिए । पक्राउ परेपछि उनले आफूले श्रीमतीको हत्या गरेको स्वीकारेका थिए ।
गीताका बुबाले ताराविरुद्ध समेत जाहेरी दिएका थिए । हत्याको समयमा रञ्जन र ताराबीच पटक-पटक फोन सम्पर्क भएको देखिएको र पक्राउ पर्नु केही समयअघिसम्म तारा रञ्जनकै साथमा रहेकाले घटनामा ताराको पनि संलग्नता रहेको प्रहरीको दाबी छ । त्यहीअनुसार प्रहरीले तारालाई सहअभियुक्त बनाएर मुद्दा चलाएको थियो ।
तर, ताराले रञ्जन आफ्नो साथीमात्र भएको र हत्याबारे आफूलाई केही थाहा नभएको बताउँदै आएकी थिइन् । प्रहरीले पनि हत्यामा संलग्नताको पर्याप्त प्रमाण पेस गर्न सकेको थिएन ।
ताराले गत जेठमा रञ्जनका चालक सशस्त्र प्रहरीका जवान शंकर पौडेललाई रञ्जनविरुद्ध बयान नदिन धम्की दिएपछि घटनामा उनको संलग्नताको आशंका बलियो भएको थियो । गत १० जेठमा अदालतमा बयान दिएकै दिन ताराले एसएमएस पठाएर रञ्जनको विपक्षमा बयान नदिन धम्की दिएकी थिइन् । त्यसरी धम्की दिएको प्रमाण पनि प्रहरीले पुनरावेदन र जिल्ला अदालतमा पेस गरेको छ । पछिल्लो सो प्रमाणका कारण पनि तारालाई पनि थुनामा पठाउने आदेश भएको प्रहरी अधिकारीहरू बताउँछन् ।
स्रोतका अनुसार जेल बाहिर रञ्जनको सबैभन्दा प्रमुख सहयोगी उनै तारा छिन् । डिल्लीबजार जेल स्रोतका अनुसार रञ्जन थुनामा परेपछि नियमितजस्तो उनी खाना लिएर जाने गरेकी थिइन् । पूर्वराष्ट्रिय भलिबल खेलाडी तारा मेनपावर व्यवसायीसमेत हुन् ।
रञ्जनले पक्राउ परेदेखि नै घटनालाई भवितव्य बनाउने प्रयास गर्दै आएका छन् । प्रहरीले भने पूर्वयोजनाअनुरूप नै उनले हत्या गरेको भन्दै सर्वस्वसहित जन्मकैदको माग गर्दै अदालतमा मुद्दा चलाएको थियो । हत्याको बिहानै रञ्जनले सशस्त्र मुख्यालयस्थित पेट्रोलपम्पबाट एक सय २४ लिटर पेट्रोलको व्यवस्था गरेका थिए । डिजेलले चल्ने गाडी उनले प्रयोग गरे पनि त्यसरी ठूलो परिणाममा पेट्रोलको जोहो गर्नुले उनले हत्याको योजनाअन्तर्गत नै सो पेट्रोल खरिद गरेको प्रहरीको दाबी छ ।
गीता बेपत्ता भएको हल्ला फैलिएपछि शवलाई पूर्णरूपमा जलाउन एक सातापछि पुनः टिस्टुङ पुगेका उनलाई स्थानीय बासिन्दाले पक्राउ गरेका थिए । पछि आफू सशस्त्रको डिआइजी भएको र घुम्न आएको भन्दै प्रहरीलाई प्रभावमा पारेर उनी छुटेकोमा त्यसको खबर काठमाडौं प्रहरीले पाएपछि भोलिपल्ट काठमाडौं र्फकने क्रममा उनलाई नागढुंगाबाट पक्राउ गरिएको थियो । पक्राउपछि उनले आफूले हत्या गरेको स्विकारेका थिए । तर, अदालतमा उनले इन्कारी बयान दिएका छन् । जसकारण मुद्दा बलियो हुन नसकेको स्रोत बताउँछ । रञ्जनविरुद्ध प्रहरीले कर्तव्यज्यानका साथसाथै हातहतियार मुद्दा चलाएको छ ।

नयाँ पत्रीका दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग