Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अमेरिका लैजाने भन्दै चार करोड ठगी

Published on 1:10:00 PM //


होम कार्की
काठमाडौं, असार २५ - अमेरिका उडाइदिन्छु भन्दै झन्डै दुई सय जनासँग करिब ४ करोड रुपैयाँ उठाएर ३ जना दलालहरू फरार भएका छन् ।

नुवाकोट तलाकु गाविसका हस्तबहादुर गुरुङ, काठमाडौं महाराजगन्जका बिमलसिंह ठकुरी र शिवराम श्रेष्ठले रकम लिएर फरार भएको वैदेशिक रोजगार विभागमा उजुरी परेको छ । उनीहरूले झन्डै दुई सय जनालाई प्रतिव्यक्ति १० लाखसम्म उठाएर सम्पर्कविहीन भएको पीडितले बताए । 'यो समूहबाट ठूलो ठगी भएको भन्दै उजुरी हाल्न पीडितहरू आइरहेका छन्,' विभागका कानुन अधिकृत हरिसिंह धामीले कान्तिपुरलाई भने, 'आइतबारमात्रै २० जनाले उजुरी दर्ता गराएका छन् ।'

उनीहरूले पीडितलाई डेढ वर्षअघिदेखि नै रकम उठाउन थालेका थिए । तीन महिनादेखि पीडितको सम्पर्क छैन । 'विश्वास गर्नु नै ठूलो भुल भयो,' उजुरी दिन आएका पीडित (नाम नलेख्न अनुरोध) ले भने, 'नजिकबाट चिनजानका थिए । नसके रकम फिर्ता गर्छु भन्थे । सबैलाई झुक्याएर फरार भए ।' ठगिनेमा अधिकांश २०/३० वर्षका अध्ययनरत विद्यार्थी छन् । 'हामीले यो कुरा परिवारलाई पनि बताएका छैनौं,' उनले भने, 'कति ठूलो सपना देखेका थियौं । सबै चकानचुर भयो ।'

आफ्नो छोरीलाई पढ्न र काम गर्न अमेरिका पठाउन भनेर डेढ लाख रुपैयाँ तिरेकी रामेछापकी आशा गिरी निकै तनावमा छिन् । 'कलंकीमा पसल चलाएर बसेकी थिइन् । पसलमा आउनेजानेहरूबाट छोरीले अमेरिका जाने कुरा थाहा पाएपछि जाने इच्छा देखाइन्,' पीडित गिरीले भनिन्, 'धेरै जना जान तयारी देखेपछि छोरीको भविष्य राम्रो हुन्छ ठानेर ऋण खोजेर पैसा बुझाएँ ।' अहिले उनी ऋण लिएको फाइनान्स र साहूलाई किस्ता र ब्याज बुझाउन नसकेर निकै समस्या परेको बताइन् ।

कानुनी अधिकृत धामीले सबै उजुरी आएपछि कारबाही प्रक्रिया अगाडि बढाउने बताए । 'यो व्यक्तिगत ठगी हो,' उनले भने, 'उनीहरूको सम्पत्ति पहिचान गरी तुरुन्तै रोक्का गर्छौं ।'

मानव अधिकारकर्मी थापा पक्राउ अमेरिका लैजान भन्दै २२ लाख रुपैयाँ असुल गरी ठगी गरेको अभियोगमा वैदेशिक रोजगार विभागले मानव अधिकार परिषद् नेपालका अध्यक्ष तुलसी थापालाई आइतबार पक्राउ गरेको छ ।

परिषद्का कोषाध्यक्ष सुनिलकुमार देउजाले अध्यक्ष थापाको निर्देशनमा रकम असुल गर्न भनेपछि उठाएको बयान दिएपछि विभागले थापालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो । देउजाले नकुलप्रसाद दाहालसँग २२ लाख उठाएका थिए । नकुल अमेरिका जाने भनेर बैंकक र दुबई पुगेपछि फर्केर आएका थिए । 'संस्थाको पदाधिकारी बनाएर सेमिनार मिटिङमा सहभागी गराउने भनी अमेरिकालगायत मुलुकमा लैजाने भनी योजना बनाएर मलाई थापाले रकम उठाउन लगाएको हो,' देउजाले बयानमा भनेका छन् ।  देउजाले आफूलाई पनि फागुनमा अमेरिका पठाउने भनेको बताए ।

अध्यक्ष थापाले आफू निर्दोष रहेको बताए । 'म १९ वर्षदेखि मानव अधिकारको क्षेत्रमा क्रियाशील व्यक्ति हुँ । यो मलाई फसाउने चालबाजी हो,' उनले भने, 'यस्तो कार्यमा मेरो संलग्नता छैन ।'
-कान्तिपुर दैनिक

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग